डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्स बाहिरियाे



नेपाल समाचारपत्र, काठमाडौं
जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार काठमाडौं किंग्स इलेभेन प्लेअफमा पुगेको छ ।

यो नतिजासँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ । काठमाडौं किंग्ससहित ललितपुर पेट्रियट्स, भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स प्लेअफमा पुग्दा डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्स बाहिरियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको गर या मर खेलमा काठमाडौंसँग ५ विकेटले पराजित भएपछि पारस खड्काको टोली विराटनगर बाहिरिएको हो । विराटनगर चितवन समान ४ अंक जोडेपनि नेटरनरेटमा पछाडि प¥यो र चितवनको भाग्य खुल्यो ।

काठमाडौंले बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शन गरेपछि विराटनगरले आत्मसमर्पण गर्ने बाहेक अन्य विकल्प रहेन । पहिलो ब्याटिङ गर्दै विराटनगरले मात्र १ सय रनको योगफल बनाउनु नै टोलीका लागि बाहिरिने संभावना बन्यो । १ सय १ रनको लक्ष्य काठमाडौंले १३ बल बाँकी राखेर १ सय ६ रन जोडेर प्राप्त गरेको थियो ।

त्यसो त विराटनगरका बलरले पहिलो १० ओभरमा घातक बलिङ गरेका थिए । उनीहरुले १०.१ ओभरमा ४८ रनसम्ममा काठमाडौंका ५ ब्याटसम्यानलाई आउट गरेर खेल रोमाञ्चक मोडमा पु¥याए । तर केभिन ओब्रायन र प्रदीप साहुले छैटो विकेटका लागि नटआउट रहँदै ५८ रनको साझेदारी गरेपछि काठमाडौसँग विराटनगरको केही लागेन । केभिनले २ चौका र ३ छक्कासहित ४५ रन र साहुले २१ रनको योगदान दिएका थिए ।

विराटनगरका बलरमा कप्तान पारस खड्काले दुई विकेट लिएका थिए । रोलोफ पारसको पहिलो स्पेल २ विकेट लिएर ११ रन खर्चेको सानदार बनेको थियो । १८औं ओभरमा दोस्रो स्पेलमा बलिङ गर्न आउँदा केभिनले पारसको एकै ओभरमा ३ छक्का प्रहार गरेर काठमाडौंको जित पक्का गरेका थिए ।

यसअघि विराटनगरको ब्याटिङ १७.५ ओभरमा १ सय रनमा समेट्न पनि केभिनले उत्कृष्ट बलिङ प्रस्तुत गरे । उनले ३ विकेट हासिल गरेका थिए । साहुले पनि २ विकेट लिएर विराटनगरको ब्याटिङ ध्वस्त पार्न सहयोगी बने । अर्को अघिल्ला खेलमा राम्रो ब्याटिङ गरेका बाबर हयात ११ रनमा आउट हुनु र आसिफ शेख ४ रनमा पवेलियन फर्कनु नै विराटनगरका लागि घातक बनेको थियो । बाबरलाई जितेन्द्र मुखियाले आउट गरेका थिए । त्यस्तै कप्तान पारस पनि जम्न सकेनन् । उनी २१ रनमा आउट भएका थिए ।

आज हुने क्वालिफायर खेलमा काठमाडौंले ललितपुरसँग खेल्नेछ । त्यस्तै बुधबार हुने इलीमीनेटर खेलमा भैरहवाको सामना चितवनविरुद्ध हुनेछ । लिग चरणमा ललितपुरले काठमाडौंलाई हराएको थियो । त्यस्तै लिगमै भैरहवाले चितवनलाई पराजित गरेको थियो ।

पहिलोलाई २५ लाख
कीर्तिपुरमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) को पुरस्कार रकम सोमबार सार्वजनिक गरिएको छ । ईपीएलका स्टेकहोल्डर र नेपाल क्रिकेटको छलफलपछि सो पुरस्कार रकम तय गरियो । जसमा पहिलो हुने टोलीले २५ लाख पाउनेछ भने दोस्रो हुने टोलीले १० लाख प्राप्त गर्नेछ । त्यस्तै सिजनका सर्वश्रेष्ठ खेलाडीलाई टीभीएस अपाचे आरटीआर १६० फोरभी दिइनेछ ।

यस पटकको विजेतालाई गत संस्करणको विजेताले भन्दा ४ लाख बढी हासिल गर्नेछ ।

ईपीएल निकै लोकप्रिय भएको आयोजकले जनाएको छ । आयोजकको अनुसार शनिबारसम्म तेस्रो संस्करणका खेल हेर्नेमा ६० हजार भन्दा बढी संख्याको दर्शक पुगेको छ । साथै विश्वभरि यो प्रतियोगिता हेर्नेको संख्या ३० लाख पुगेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्