पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ ।

९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

कलेजोमा क्यान्सर रोग लागेका कारण उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निधन भएको हो ।

राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि पञ्चका रुपमा चिनिन्थे । महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।

०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिए । राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए । वरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि अविचलितरुपमा राजतन्त्रका पक्षधर रहेका थिए ।

पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ ।

प्रतिक्रिया दिनुहोस्