भारु नोटमा लगाएको रोकले पर्यटन क्षेत्र प्रभावित



दीपेन्द्र थापा, काठमाडौं
सरकारले भारतीय मुद्रा सयभन्दा माथिका नोटमा प्रतिबन्ध लगाएसँगै पर्यटन क्षेत्रमा असर पर्ने सरोकारवालाले जनाएका छन् ।

केही समय यसको असर बढी देखिए पनि विस्तारै सहज बन्दै जानेमा पर्यटन व्यवसायी आशावादी छन् ।

होटल संघ नेपाल (हान) महासचिव विनायक शाहले नेपालको तीर्थयात्रामा आउने भारतीय पर्यटकलाई उक्त निर्णयले समस्या हुन सक्ने बताउनुभयो ।
नेपालमा पशुपति, मुस्ताङ, जनकपुर तथा मानसरोवर जाने भारतीय तीर्थयात्रीलाई समस्या हुने शाहको भनाइ छ । त्यस्तै पुराना शैलीका भारतीय नागरिकलाई पनि समस्या हुने उहाँको विश्लेषण छ ।

ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष नवराज दाहाल पनि भारु नोटमा लगाइएको रोकले समग्र पर्यटन उद्योग र ट्रेकिङ एजेन्सीलाई पनि असर गर्न बताउनुहुन्छ । नेपाल–भारतबीचमा स्वतन्त्ररूपमा नोट सटही आफँहरुको माग रहँदै आएको उहाँको भनाइ छ । भारु नोटमा लगाएको रोकका कारण सरकारले लिएको सन् २०२० को नेपाल भ्रमण वर्षलाई नै असर गर्ने दाहालको दाबी छ ।

सरकारले अघिल्लो साता भारु २ सय, ५ सय र २ हजार दरका नोटमाथि प्रतिबन्ध लगाएको थियो । सरकारको यो निर्णयसँगै पर्यटन क्षेत्रमा व्यापक आलोचना शुरु भएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पनि सरकारको उक्त निर्णयले सिमा क्षेत्रमा समस्यापर्ने बताउनुहुन्छ। उहाका अनुसार शुरुको अवस्था भएकाले केही असहज भएको देखिएको मात्र हो । विस्तारै जनजीवन सहज बन्ने, सबैले कार्ड प्रयोग गर्दै जाने प्रवृत्तिको विकास हुँदै गएकाले धेरै ठँलो समस्या नआउने उहाँको विश्लेषण छ ।

सिमा क्षेत्रमा सरकारले सहज सटहीको वातावरण मिलाउनुपर्ने सुझाव दिँदै क्षेत्रीले भन्नुभयो–‘मुद्राको क्रयशतिm बढी भएको विश्वका अरु देशमा सानो रकमको नीतिले असर नगर्ने भए पनि हाम्रो जस्तो देशमा भने केही असहज स्थिति हुन सक्छ,’ यसका लागि सरकारले सहज बैंकिङ सिस्टम मिलाउनुपर्ने क्षेत्रीको भनाइ छ । उहाँका अनुसार सिमा क्षेत्रमा हुने व्यापारिक सम्बन्धले गर्दा सिमा क्षेत्रको दोहोरो व्यापारलाई भने असर गर्ने छ ।

भारतले पुराना ५ सय हजार दरका नोटलाई प्रतिबन्ध लगाउँदै नयाँ नोर्ट प्रचलनमा ल्याएको २ वर्षसम्म पनि नेपालमा रहेको भारु सटहीको समस्याले समाधानको उपाय भेटिएको छैन । सो विषयमा नेपाल र भारतका अधिकारीहरुले पटक– पटक वार्ता गरे पनि निश्कर्ष नस्किदा नेपालको बैंकिङ प्रणालीमा भएको प्रतिबन्धित भारु नोटको अन्योलता कायमै छ ।

नेपालको बैंकिङ प्रणालीमा भारु ५ सय हजार दरका करिब ८ करोड रुपियाँ सटही गर्न बाँकी रहेको छ भने बैकिङ प्रणालीभन्दा पनि ठँलो परिमाणमा भारतीय रुपियाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । भुटानको भने सबै प्रतिबन्धित नोट सटही गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्