एउटा स्टेसनको मौसमी विवरण कति व्यावहारिक ?



टीका बन्धन, काठमाडौं
‘हैट ! के सारो चिसो, चिसो त अचाक्ली पो बढ्यो त, तापक्रम माइनसमै पुग्यो कि क्या हो’ –सोमबार दिनभरजसो काठमाडौंका अधिकांश भेगमा यस्तै चर्चा सुनियो ।

आम सर्वधारणले चासो लिएझैं सोमबार काठमाडौंमा यस वर्षकै सबैभन्दा चिसो दिन हो । सोमबार बिहान उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको स्टेसनलाई आधार मानेर तापक्रमको खबर सार्वजनिक गरेको हो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ र बेलुका ६ बजे विमानस्थलको विवरणलाई आधार मानेर मौसमी विवरण सार्वजनिक गर्दै आएको छ । सोही विवरण सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा धेरैका लागि पत्यार लाग्दैन, अनि फेरि स्वाभाविक प्रश्न दोहोरिन्छ–‘हैन होला, कहाँ साढे दुई मात्रै हुनु, चिसो यति धेरै बढ्या छ तुसारो र शीतले छपक्कै छोप्न थाल्या छ ।’

विमानस्थलको स्टेसनले काठमाडौं उपत्यकाभरको मौसमी विवरण अद्यावधिक गर्दैन, त्यसैले तापक्रमको खबरमा शंका गर्ने ठाउँ पर्याप्त रहन्छ ।काठमाडौंको मध्य भेग, खुला चौर, गल्छी, पहाड आसपासका वस्ती र अन्यत्रको तापक्रम फरक हुने मौसमविद्हरु स्वीर्काछन् । एउटा स्टेसनको मौसमी विवरण समग्र उपत्यकाका लागि व्यावहारिक हुन्छ र भन्ने प्रश्नमा महाशाखा प्रमुख सरजुकुमार वैद्य भन्नुहुन्छ– ‘पक्कै पनि व्यावहारिक होइन, हामीले अन्तर्राष्ट्रिय प्रचलनलाई अभ्यास गर्दै औसत विवरण सार्वजनिक गर्दै आएका छौं ।’

विश्व मौसम संगठन (डब्ल्यूएमओ) ले कुनै भूगोल र क्षेत्र विशेषलाई आधार मानेर मौसमी विवरण सार्वजनिक गर्दै आएको अभ्यासलाई नेपालमा पनि अनुशरण गर्दा समग्र क्षेत्र समेट्न नसकिएको उहाँको भनाइ छ । वैद्यले बताएझैं महाशाखालाई मौसमी स्टेसनको अभाव भने छैन । जल तथा मौसम विज्ञान विभाग मातहत देशभर ५ सयभन्दा बढी वर्षा मापन स्टेसन छन् भने १ सय ४० का हाराहारीमा तापक्रम अद्यावधिक गर्ने केन्द्र छन् ।

काठमाडौंमा विमानस्थलसहित पानीपोखरी, थानकोट, ललितपुरको खुमलटार र गोदावरी, भक्तपुरको नगरकोट र भक्तपुरमा तापक्रम अद्यावधिक गर्ने स्टेसन छन् । उपत्यकाका सबै स्टेसन स्वचालित (अटोमेटिक वेदर स्टेसन) प्रणालीमा आधारित नभएकाले सूचना एकीकृत गर्न व्यावहारिक नहुने मौसमविद्हरुको तर्क छ । ‘थानकोट र खुमलटारको अटोमेटिक वेदर स्टेसन भए पनि कहिलेकाहीं समस्या आइरहन्छ, अयन्त्रका स्टेसनको विवरण अद्यावधिक गर्न प्रत्यक्ष सोही ठाउँमै पुग्नुपर्ने भएकाले व्यावहारिक कठिनाइ छ’ –महाशाखाका एक मौसमविद्ले भने ।

मौसम विभागका अनुसार त्रिभुवन विमानस्थलको स्टेसन १ हजार ३ सय २६ मिटरको उचाइमा छ । उपत्यकाको भौगोलिक अवस्थिति फरक भएकाले स्वभाविक रुपमा तापक्रमको विवरण फरक हुने विज्ञहरु बताउँछन् । हरेक एक सय मिटर उचाइको अन्तरमा तापक्रम शून्य दशमलव ६५ डिग्रीले घट्ने भएकाले विमानस्थलको स्टेसनले दिने सूचनासँग मिल्दो नहुने उनीहरुको तर्क छ ।

‘काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री रहँदै गर्दा स्वाभाविक रुपमा नगरकोट, फूलचोकी, चन्द्रागिरीजस्ता पहाड र आसपासको तापक्रम शून्य वा सोभन्दा कम हुन्छ’ –एक मौसमविद्ले नेपाल समाचारपत्रसँग भने ।
पश्चिमी वायुको प्रभावले धेरै ठाउँको तापक्रम घटेको छ । महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ पुगेको छ भने दिपायलको २ दशमलव ४, वीरेन्द्रनगरको ४, डडेलधुराको ४ दशमलव २ पुगेको छ ।

यसैबीच बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेकाले त्यसको मौसमी प्रभाव नेपालमा प्रत्यक्ष पर्ने देखिएको छ । सो प्रभाव सोमबार नेपालमा भित्रिँदा देशको पूर्वी र मध्यभेगको मौसम बदलिएर हिमपातसहित वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तो प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात गराउने, पश्चिमी क्षेत्रमा हल्का र क्षणिक वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्