सातवटै प्रदेशका उपसभामुखको एकै स्वर ‘महिला भनेर हेपियो’



गंगा बराल, काठमाडाैं ।
सातवटै प्रदेशका उपसभामुखहरूले पद दिइए पनि अधिकार नदिएर आपूmहरूलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् ।
सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरूले यस्तो गुनासो गर्दै लामो सङ्घर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोप समेत लगाए । प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताउनुभयो ।

उपसभामुखहरूले सभामुखको अनुपस्थितिमा मात्र बैठक चलाउनुपरेको, सभामुख बिरामी हुँदा, बाहिर जाँदा वा बिदा बस्दासमेत मागेरै बैठक चलाउन परेको, कर्मचारी नभएको, मर्यादाक्रम नमिल्दा कार्यक्रममा सहभागी हुन नपाएको जस्ता गुनासा गरेका थिए ।

महिलाहरु कमजोर हुन्छन् भन्ने चिन्तन चिर्न आवश्यक रहेको बताउँदै प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले भन्नुभयो– ‘कहिलेकाँही राती फोन गर्दा र सँगै फोटो खिच्दा पनि शंका गरिन्छ, हामी नै न्याय माग्न कहाँ जाने ?’
पूर्व राज्यमन्त्री समेत रहनुभएकी तामाङले प्रदेशका सांसदको जस्तो पनि भनाइ समाचार बन्ने तर आफ्नो कडा भनाइ कतै नआउनु दुःखद् भएको टिप्पणी गर्नुभयो । उहाँले जनताका धेरै गुनासालाई सम्बवोधन गर्न आफू संसदमा बोल्न नपाएको खुलासा गर्दै थप्नुभयो– ‘मुर्तिजस्तो बस्नुपरेको छ ।

प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेलले कर्मचारीको अभाव ठूलो समस्या भएको बताउनुभयो । ३ तहबीच समन्वय नहुँदाको अलमल फुकाउन संघीय सरकारले पहल गर्नुपर्ने उहाँको सुझाव थियो । निजामती सेवाका कर्मचारीभन्दा संसद सेवाका कर्मचारीलाई संसद सचिवालयमा पठाउनुपर्ने पोखरेलको सुझाव थियो ।

 राती फोन गर्दा र सँगै फोटो खिच्दा पनि शंका गरिन्छ ।
जिम्मेवारी खोज्दा अधिकार खोजेजस्तो भा’छ ।
मुख्य सचिव भन्दा हाम्रो मर्यादाक्रम तल छ ।

उहाँले थप्नुभयो–उपसभामुख हुँदा खुम्चिएको अनुभव भइरहेको छ, जिम्मेवारी खोज्दा अधिकार खोजेजस्तो हुन्छ त्यसैले अप्ठेरो परेको छ तर सभामुखलाई सहयोग गरेर थप जिम्मेवारी लिँदै अघि बढ्नुको बिकल्प छैन ।’

उपसभामुख पोखरेलले प्रदेशको मुख्य सचिवभन्दा आफ्नो मर्यादाक्रम तल रहेकोमा आपत्ति गनाउनुभयो । भीआइपी भनेर झण्डा हल्लाउँदै हिँडे पनि भइरहेको अपमानले दैनिक कामकाजमा समस्या परेको उहाँको भनाइ थियो ।
कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीले संविधानमा नै व्यवस्था भएकाले मात्र आफूहरूले उपसभामुख पाएको बताउनुभयो । ‘हामी कमजोर छैनौँ तर कमजोर भनेर भ्रममा पारिन्छ’, घर्तीले भन्नुभयो–‘नयाँ संविधान बनेको छ भनेर कर्णालीका जनतालाई थाहा नै छैन ।’

उहाँले पनि सभामुखको अनुपस्थितिमा बैठक चलाउने मौका नपाएको गुनासो गर्नुभयो । कर्णाली प्रदेश हरेक कुराले पिछडिए पनि केन्द्रले वेवास्ता गरेको आरोप लगाउँदै घर्तीले थप्नुभयो– कर्णालीमा बहुपत्नी र बहुपति प्रथा । पुरुषप्रधान समाजमा जहाँ पनि सभापति भनेर सम्बोधन गनुपर्ने भएकाले विषयगत समितिका सभापतिलाई अध्यक्ष भनेर सम्बोधन गर्ने गरिएको छ ।
गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिलाले बोलेको समाचार भित्री पृष्ठमा पढ्नै नसकिने गरी आउने गरेको प्रसङ्ग कोट्याउँदै किन यस्तो हुन् छ भनी पत्रकारलाई प्रश्न गर्नुभयो ।

‘हामीलाई कतिपय कार्यक्रममा सम्बोधन नै गरिँदैन, बोलाए पनि कुर्सी हुँदैन’ शर्माले भन्नुभयो ‘बैठक चलाउन सभामुख कि त बिरामी नै हुनुपर्छ कि अरु विशेष अवस्था नै आउनुपर्छ ।’

५ नम्बर प्रदेशकी उपसभामुख कृष्णी थारुको पनि अरुकै जस्तो गुनासो छ । ‘पुरुषले सानो काम गरे पनि हाइलाइट भएर समाचार आउँछ, हामीले जतिसकै कडा बोले पनि आउँदैन’ थारुले भन्नुभयो ‘महिला पत्रकारको संख्या थोरै भएर पनि हाम्रो आवाज कम आएको हो कि ?’

प्रदेश नम्बर २ की उपसभामुख उपमादेवी देवले महिलालाई सशक्तिकरण गर्न प्रदेशले अभियान चाल्ने बताउनुभयो । उहाँले आफ्नो प्रदेशमा हुने राम्रा कामको समर्थन र सहयोग गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।
सुदुरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीले महिलाले पाएको पद चानचुने नभएको बताउनुभयो । ‘बाध्य भएर मात्र महिलालाई उपसभामुखसम्म बनाइएको छ, अब यसैलाई आधार बनाएर हामीले फड्को मार्नुपर्छ’ जोशीले भन्नुभयो ।

सबै प्रदेशका उपसभामुख बोलिसकेपछि प्रतिनिधिसभाकी उपसभामुख तुम्बाहाङ्फेले महिलालाई सञ्चारमाध्यमले विभेद गरेकै गुनासो गर्नुभयो ।
‘विभेद भएकै हो, कमसेकम महिलाले बोलेका र गरेका राम्रा कामलाई पनि सञ्चारमाध्यममा उच्च प्राथमिकता दिनुहोला’ तुम्बाहाङ्फेले भन्नुभयो ‘आज हामी तपाइहरुको पनि सुझाव माग्दैछौं, कि त हामीले बोलेका विषयबस्तु समाचार नै बन्न सक्दैनन् भने के भन्दा हुन्छ त्यो पनि भनिदिनुप¥यो ।’

प्रदेश सभा गठन भएको ९ महिनापछि सबै प्रदेशका उपसभामुख एकै ठाउँमा भेला भएर अनुभव र गुनासो साटासाट गरेको यो पलिोपटक हो । उनीहरुले यस्तो कार्यक्रम समय समयमा गरिरहनुपर्ने सुझाव दिनुभयो ।

शनिबार चितवनमा सम्पन्न प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, ७ वटै प्रदेशका सभामुख, उपसभामुख, संघीय संसद् सचिवालयका पदाधिकारी, प्रदेशसभाका सचिवहरूको भेलापछि उपसभामुखको भेला गर्ने तयारी भएको उपसभामुख तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

पत्रकारसमेतको अन्तत्र्रिmयामा उपसभामुखहरुले के बोल्दा समाचार हुन्छ त्यसबारे सुझाव दिन आग्रह गरेका थिए । विषयबस्तुका आधारमा समाचार सम्प्रेषण हुने भएकाले समाचार बन्न सक्ने विषयबस्तु उठाउन पत्रकारले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्