प्रदेश ३ मा ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम शुरु



School building in flat style

हेटौंडा ।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम शुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भएको व्यवस्था अनुसार मन्त्रालयले ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयले कार्यक्रमका लागि आवद्ध भएका १९ जना नर्सलाई ललितपुरस्थित पाटन अस्पतालमा तीन दिनको सेवाप्रवेश तालिम प्रदान गरी उनीहरुलाई कार्यक्षेत्र अर्थात् विद्यालयमा पठाइएको हो । नीति तथा कार्यक्रममा २० जना नर्सलाई कार्यक्रममा आवद्ध गराइएको छ ।

मन्त्रालयकी कार्यक्रम संयोजक तथा पब्लिक हेल्थनर्स मिलन घिमिरेका अनुसार नर्सहरुलाई ३ नम्बर प्रदेशअन्तर्गत् १३ जिल्लामा खटाइएको छ । काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नुवाकोट र धादिङका विभिन्न विद्यालयमा दुई÷दुई जना, सिन्धुली, दोलखा, रसुवा, रामेछाप, काभ्रे तथा भक्तपुरमा एक÷एक जना नर्स पठाइएको छ ।

चालु आर्थिक वर्षमा छनौट भएका विद्यालयमा सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुलीस्थित जनज्योति मावि फोस्रेटार, रसुवास्थित कालिका हिमालयन मावि कालिकास्थान, रामेछापस्थित मन्थली मावि मन्थली, नुवाकोटस्थित विन्दुकेशर मावि, तुक्सार (मेघान) र त्रिभुवन मावि त्रिशुली छन् ।

मकवानपुरको महेन्द्र मावि बकैया, आधुनिक मावि हेटांैडा, ललितपुरको आदर्शसोल मावि, त्रिपद्म विद्याश्रम मावि, पार्वती मावि ढुंगखर्क काभ्रेपलाञ्चोक, काठमाडौंस्थित जनसेवा मावि, पद्मकन्या मावि, दोलखास्थित हनुमन्तेश्वर मावि, चितवनस्थित नारायणी मावि भरतपुर, दुर्गाशेषकान्त अधिकारी मावि भरतपुर, धादिङस्थित निलकण्ठ मावि धादिङबेसी, मावि बेनिघाट र बागीश्वरी मावि भक्तपुर छनौट भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा एक हजार ३ सय ४१ सामुदायिक माध्यमिक विद्यालय छन् ।

कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा हेरिएको छ । कार्यक्रम प्रभावकारी देखिए आगामी वर्षको नीति तथा कार्यक्रममा मन्त्रालयले थप विद्यालयमा लागु गर्दै लैजाने योजना बनाइएको छ ।

मन्त्रालयले कार्यक्रमका लागि एक करोड विनियोजन गरे पनि बजेट अपुग हुने देखिएको बताइएको छ । ३ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको महत्वाकांक्षी स्वास्थ्य कार्यक्रमअन्तर्गत् यस कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्