विद्युत सुरक्षा गार्डको हत्या आरोपमा १४ जना विरुद्ध किटानी जाहेरी



मनोज भट्ट, महेन्द्रनगर ।
करेन्ट लागेर मृत्यु भएको भनिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटाका चन्द्रदेव भट्टको शव अझै पनि उठ्न सकेको छैन । बेदकोट नगरपालिकास्थित लालपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको सव–स्टेशनको सुरक्षार्थ खटिएका भट्ट, आइतवार बिहान सव–स्टेशनमा मृत अवस्थामा भेटिएका थिए ।

गार्ड भट्टको नियोजित तरिकाले हत्या गरिएको भन्दै स्थानीय र आफन्तले शव उठाउन दिएका छैनन । घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने उनिहरुको माग छ । भट्टको परिवारले प्राधिकरणका कर्मचारीहरुले मिलेर हत्या गरि फालेको भन्दै प्राधिकरणका १४ जना कर्मचारी विरुद्ध किटानी जाहेरी समेत गरेका छन् । घटनाको सत्य, तथ्य छानविन र पिडित पक्षले न्याय नपाए सम्म शव नउठाउने मृतकका भाइ रामदत्त भट्टले चेतावनी दिए ।

बिहानैदेखि घटनास्थलमा प्रदर्शन भइरहेको छ । घटनाको बिरोधमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लालपुरमा यातायातका साधन चलाउन दिइएको छैन । प्रदर्शनकारीहरुले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । लालपुर क्षेत्रमा यातायातका साधनलाई चल्न नदिदा यात्रुहरु सास्ती खेप्नु परेको छ । यसअघि आइतवार प्राधिकरणको सवस्टेशन कार्यालयमा तोडफोड भएको थियो भने प्राधिकरणका कर्मचारी कमल बडु माथि कुटपिट समेत भएको थियो ।

आफन्त र स्थानीयहरुले शव उठाउन नदिएपछि हिजोदेखि जिल्लाभरीको विद्युत सेवा समेत अवरुद्ध भएको छ । विद्युत सेवा बन्द हुदा यहाँका रेडियो, पत्रपत्रिका तथा अन्य क्षेत्र प्रभावित भएका छन् ।

ट्रान्सफर्मरमा करेन्ट लागेर मृत्यु भई जलेको अवस्थामा फेला परेका भट्टको करेन्ट लागेर मृत्यु भएको वा हत्या भएको भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए । शव पोष्टमाटमका लागि उठाउन नदिएकोले घटना बारे केहि भन्न सकिने अवस्था नरहेको उनले बताए । पोष्टमाटम भएमा केहि तथ्य खुल्न सक्ने उनको भनाइ छ । भीमदत्त नगरपालिका–१९, बागफाँटाका वासिन्दा भट्ट सुरक्षा गार्डका रुपमा ११ वर्षदेखि कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्