डाँडा भत्काउन मेसिन किन्ने होड बाजीमा डोटीका गाउपालिका



विमल बिष्ट, डोटी ।
डोटीको केआईसिंह गाउँपालिकाले ४० लाख ९९ हजार नौ सय ९९ रुपैयाँमा जेसिवी कम्पनीको नयाँ व्याकहोलल लोडर अर्थात चक्कावाला डोजर खरीद ग¥यो । गाउँगाउँमा, बस्तीबस्तीमा सडक पु¥याउने भन्दै उक्त गाउँपालिकाले व्याकहोल लोडर खरीद गरेको हो ।

त्यस्तै सायल गाउँपालिकाले करीव एक करोड २९ लाख रुपैयाँ खर्च गरेर लुसान कम्पनीको स्काईभेटर (चैनवाला डोजर) खरीद गरेको छ । जिल्लाको दुर्गम मानिने उक्त गाउँपालिका प्राकृतिक रुपमा धनी भएपनि सडक बनाउने नाममा मेसिनको प्रयोग गर्दै डाँडा भत्काउन उक्त मेसिन प्रयोग भएको स्थानियबासी बताउछन् । जिल्लाकै सवै भन्दा कम वडा भएको बडीकेदार गाउँपालिकाले पनि एक करोड २३ लाख खर्च गरी लुसान कम्पनीकै स्काईभेटर खरीद गरेको छ ।
पाँच वटा मात्रै वडा कार्यालय रहेको उक्त गाउँपालिकाले प्रत्येक बस्तीमा सडक पु¥याउने योजना वनाएको छ ।

त्यस्तै डोटीकै दिपायल सिलगढी नगर–पालिकासंग भने यस अघिनै व्याकहोल लोडर रहेकोछ । नगरपालिकाले नगर क्षेत्रको सडक काट्नुका साथै व्याकहोल लोडर भाडामा पनि दिने गरेको छ ।

स्थानीय तहहरुले मात्रै होईन् जिल्लामा सडक निर्माण गर्ने नाममा डाँडा भत्काउन निर्माण व्यवसायीहरुले नीजि र भाडामा समेत मेसिनहरु भित्राउने होड बाजी चलेको छ । स्काईभेटरको प्रतिघण्टा ६ हजार पाँच सय देखि नौ हजार रुपैयाँसम्म र व्याकोल लोडरको प्रतिघण्टा दुई हजार पाँच सय देखि चार हजार रुपैयाँ भाडा तिर्दै उपभोक्ता समितिले सडक काट्ने गरेका छन् ।

जिल्लामा कम्तिमापनि ४२ मेसिन सडक काट्नमा लागीरहेको बोगटान गाउपालिका सिमिचौरका स्थानिय तेजबहादुर बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘सडक काट्ने नाममा गाउ गाउमा स्काईभेटर र डोजर भित्रिएका छन्,डाँडा काडा सखाप हुने भए ।’

सवै स्थानीय तहहरुले सडक काटिरहेको भएपनि प्रक्रिया पुरा गरेर कुनै पनि सडक नकाटिएको स्थानियको आरोप छ । स्थानियका अनुसार डोटीमा काटिएका नयाँ अधिकांश सडकहरुको सर्वे पनि भएको पाईदैन ।

मेसिनको चालकले जता जता लग्यो उतै उतै सडक लैजाने गरी सडक काँटिदै गएको छ । एउटै सडकमा एक करोड रुपैयाँ खर्च भईरहेको र हजारौं रुखहरु कटान भईरहेको भएपनि बातावरणीय प्रभाव मुल्यांकन भएको पाईदैन ।
जथाभाबी डोजर अपरेटरको सनकका भरमा काटिएका सडकहरु प्रभाबकारी नहुँने डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘नाप नक्सा बिना काटिएका सडकले दुर्घटना निमत्याउछ,सडक काट्दा ईन्जिनियरको सल्लाह हुनु पर्छ ।’

प्राकृतिक सम्पदा नाश हुने गरि गरिने विकासमा बातावरणीय प्रभाव मुल्यांकन अनिवार्य गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी सुबेदीले बताउनु भयो । सेक्टर बन कार्यालय डोटीका सहायक बन अधिकृत शुरेसचन्द्र डिसीले खुटिया–बिपीनगर सडक वाहेक कुनै पनि सडक योजनाको वातावरणीय प्रभाव मुल्यांकन नभएको बताउनु भयो । उहाँले भन्नु भये ‘बातावरणीय प्रभाव मुल्यांकन गर्नु पर्ने त हो तर राजनीतिक दलका नेताहरु र जनप्रतिनिधिहरुले त्यो कुरा मान्नु हुन्न, हामीले मात्रै के गर्नु ।’

जन दवावका कारण र जानकारी अभावका कारण प्रक्रिया पुरा नगरेरै सडक काटिएको कुरा स्वीकार गर्नुहुदै केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रवहादुर शाही भन्नुुहुन्छ ‘केही प्रक्रिया पुगेको छैन होला तर हामी जनप्रतिनिधिलाई जनताको दवाव पनि खपि नसक्नु छ, त्यसैले सडक काटिरहेका छौं ।’

जिल्ला समन्वय समितिका प्रमुख रामवहादुर ऐर पनि अन्य विकासका लागि सडक निर्माण अनिवार्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘अरु पूर्वाधार निर्माण गर्नका लागि चाहिने सामग्रीहरु ढुवानी गर्न पनि सडक आवश्यक भएकाले सडक बन्नु पर्छ ।’

पछिल्लो समय डोटी जिल्लामा न त सडक निर्माण गर्नका लागि प्रक्रिया पुरा गरिएको छ, न कुनै निकायले डाँडा भत्काउन रोकेको छ, मेसिनहरु भित्रिदैछन्, डाँडाहरु भत्किदैछन् । सडक काट्ने मेसिनको दररेटमा पनि एकरुपता नभएको स्थानियको आरोप छ । ‘कमिसन दिनु परेकै कारण दररेटमा पनि एकरुपता नआएको आफनो नाम नछाप्ने सर्तमा एकजना डोजर धनीले बताउनु भयो । उहाँले भन्नु भयो ‘कमिसन नदिने हो भने हामीलाई कसले काम दिने,कमिसन दिन्छौ काम मिल्छ ।’

प्रतिक्रिया दिनुहोस्