खोटाङ आइडलको पहिलो गीत



खोटाङ, (नेस)। जिल्लाव्यापी गायन प्रतियोगिता खोटाङ आइडलको पहिलो उपाधि चुम्न सफल तेजकुमार राईको पहिलो गीत सार्वजानिक भएको छ। गत चैत ३ गते सम्पन्न प्रतियोगिताबाट प्रथम खोटाङ आइडलको उपाधि जित्न सफल राईद्वारा स्वरबद्ध सम्बोधन तिमीलाई कसरी गरूँ बोलको गीत युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो।

गायनमा अब्बल राईको स्वरमा सजिएको पहिलो गीतलाई गायक तथा संगीतकार पदम थुलुङ राईको सम्पूर्ण व्यवस्थापनमा पहिलोपटक रेकर्ड गरिएको थियो। रामधन वेदनाको शब्द, हेत्छाकुप्पाको संगीत तथा गायक एवं संगीतकार पदम थुलुङ राई एरेजमेन्ट रहेको गीत लिपसिङ भिडियोसहित ओपेरा डिजिटल इन्टरटेनमेन्ट युट्युबमार्फत सार्वजानिक गरिएको हो।

१७ वर्षीय गायक राईको गायन सम्भावना देखेर गीत रेकर्ड गराउन उत्साहित बनेको गायक तथा संगीतकार पदम थुलुङले बताए। हाल कक्षा १० मा अध्ययनरत खोटाङस्थित केपिलासगढी गाउँपालिका सप्तेश्वरका तेजको गायन प्रतिभाको कदर गर्दै दिक्तेल बजारस्थित माउन्ट एभरेस्ट इङ्लिस बोर्डिङ स्कुलले कक्षा ५ देखि १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाइदिएको छ। उक्त विद्यालयले आफ्नो गायन प्रतिभा प्रस्फुटन, निख्खारपन तथा प्रगतिका लागि अन्य सहयोगसमेत गर्दै आएको तेजले बताए।

२०५८ सालमा खोटाङ महासमाजले आयोजना गरेको गायन प्रतियोगिता प्रथम खोटाङ तारामा सहभागी तेजकुमारको प्रतिभा देखेर विद्यालयले निःशुल्क अध्ययन गर्ने अवसरको व्यवस्था मिलाइदिएको थियो। उसो त राईले अन्य विभिन्न गायन प्रतियोगितामा समेत आफूलाई अब्बल सावित गरिसकेका छन्।

परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले आयोजना गरेको गायन प्रतियोगिता खोटाङ आइडलमा जिल्लाभरका करिब ७ सय प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेका थिए। ५ महिनासम्म भएको विभिन्न स्थानका अडिसन तथा विभिन्न चरण र विधाका गीतबाट निर्णायकको निर्णय र स्रोता, दर्शकको भोटबाट उपाधिको छिनोफानो गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्