सांगीतिक शुभारम्भ सार्वजनिक



गायक तथा संगीतकार शशी घिमिरे र गीतकार लक्ष्मी अर्यालको पहिलो गीति अडियो एल्बम शुभारम्भको शनिबार कुमार बस्नेत, सूर्य थुलुङ, गीतकार डा. कृष्णहरि बराल, गायक संगीतकार नरहरि प्रेमी, सञ्चारकर्मी तथा अभिनेता भोलादीप तिमिल्सिनालगायतकाले संयुक्तरूपमा विमोचन गरे।

हिमालयन पिक्चर्सको आयोजनामा सम्पन्न कार्यक्रममा गायक शशीले लामो समयको अभ्यासपछि आफ्ना गीतलाई एल्बम आकारमा परिणत गर्न पाएकामा खुसी ब्यक्त गरे। त्यसै गरी, रचनाकार लक्ष्मीले आफूले बच्चैदेखि गीत रचना गर्ने गरे पनि एल्बमका रूपमा भने शुभारम्भबाट नै आरम्भ गरेको बताइन्। शुभारम्भका सबै गीत उत्तिकै सुमधुर रहेको गीतकार डा. बरालले बताए। उनले लक्ष्मीको रचना र शशीको गायनमा निकै तालमेल मिलेको समेत बताए।

कार्यक्रममा एल्बममा समावेश सपनीमा डुल्छ्यौ तिमी बोलको गीतको भिडियो प्रदर्शन गरिएको थियो। नारायण ओलीको संगीत रहेको गीतको भिडियोमा महावीर विश्वकर्मा, आस्मा घिमिरे र कृष्णराज तिमल्सिनाले अभिनय गरेका छन्। भोलादीप तिमिल्सिनाले निर्देशन गरेको भिडियो रोहितविक्रम कार्कीले खिचेका छन्। कार्यक्रममा गायक शशीले आफ्नो गायनयात्रा अब अनवरत अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्