गाम्चामा जेसम यात्रा



भक्तपुर, (नेस)। जेसम साहित्य यात्राको तेस्रो श्रृंखला शनिबार भक्तपुरको गाम्चामा कला सिर्जना र कविता वाचनका साथ सम्पन्न गरिएको छ। यात्रामा आधा दर्जनभन्दा बढी कलाकारले क्यानभासमा गाम्चा, यस आसपास र यहाँबाट देखिने प्राकृतिक छटाको चित्र उतारेका छन्। कलाकारहरू लालकाजी लामा, दीपेन्द्र बनेपाली, झलक केसी, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजापति, राजेन्द्र याकामी, सजनी नौबागेलगायतले क्यानभासमा चित्र बनाए।

कार्यक्रममा पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद महेश बस्नेतको कविता र अभिनय विशेष आकर्षक बनेको थियो। साहित्य यात्रालाई सम्बोधन गर्दै नेता महेश बस्नेतले समृद्ध नेपाल र सुखी नेपाली भन्ने सरकारको अभियानमा भक्तपुर तीव्ररूपमा नमुना बन्ने गरी लागेको जनाउँदै जेसमले यसमा थप टेवा पुर्याउने विश्वास ब्यक्त गरे।

जेसम यात्राका क्रममा भक्तपुरमा सिर्जना गरिएका कविताको वाचन र चित्रको प्रदर्शनी गर्न सुझाव दिँदै त्यसमा आफूले सहयोग गर्ने र त्यसमा लाग्न आयोजक र स्थानीय सरकारलाई बस्नेतले आग्रह गरे। उनले आफू पनि नाटक लेखन, अभिनय र कविता लेखनमा विगतमा सक्रिय रहेको स्मरण गरे। यात्रामा कवि फुलमान बल, सुरेश हँँचेकाली, अनन्त वाग्ले, पुष्करराज बुढाथोकी ‘साउँतेली’, रमेश कँडेल, अगिब बनेपाली, बालकृष्ण बस्नेत, सजनी नौवागेलगायतले गाम्चामै तत्काल कविता सिर्जना गरी वाचन गरे।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र सुनपा वडा नम्बर ४ का वडाध्यक्ष उत्तम थापाले जेसम साहित्य यात्राको सफलताको कामना गर्दै यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। कार्यक्रम संयोजक तथा कवयित्री अनिता लामाले जेसम साहित्य यात्रा सिर्जना, सौन्दर्य, सामथ्र्य, पहिचान र समृद्धिको एकमुष्ट यात्रा भएको जनाउँदै मौलिक कला, संस्कृति, साहित्य र सुन्दर स्थानलाई उर्वर बनाउन यो यात्रा थालिएको उल्लेख गरिन्। यात्राका अभियन्ता पत्रकार तथा कवि बालकृष्ण बस्नेतले यात्राका माध्यमबाट सर्जकका सिर्जनालाई एकै ठाउँमा प्रस्तुत गर्नु आफैमा सकारात्मक सन्देश भएको बताए।

प्रतिक्रिया दिनुहोस्