हीराको माया पूजामाथि पूजाको माया ‘जार’माथि



नेपाल समाचारपत्र
काठमाडौं
पूजा श्रेष्ठ र हीरा श्रेष्ठबीच ८ वर्षअघि प्रेमविवाह भयो। उनीहरूका ७ र ३ वर्षका दुई छोरी भए। यी दुई लालाबालाको लालनपालन र शिक्षादीक्षाका लागि कहिले गाउँमै डकर्मी त कहिले काठमाडौंमा ज्यामी गर्नु हीराको बाध्यता हो।

उनी सुनाउँछन्– ‘आफ्नै पेट र परिवार पाल्न परिश्रम नगरी सुखै छैन।’ यसरी नै चल्छ दोलखाको दूधपोखरी–९ मा उनको दिनचर्या। समस्या पनि यस्तै गरिब दुखियालाई आइलाग्छ। गएको असोज ८ गतेको कुरा हो। दशैंको रमाइलो आउने बेला हुँदै थियो। एक्कासी पूजा कान्छी छोरीसहित हराइन्। हीराको हीराजस्तै सङ्ग्लो मन, नकारात्मक केही सोचेनन्।

बरु थप चिन्तित भए श्रीमती र कान्छी छोरीको खोजीमा।

प्रहरीदेखि परिवार, आफन्त खटिँदासमेत पत्ता लागेन। काठमाडौंमा हुँदा आफू बसेको सातदोबाटो, बौद्ध, स्वयम्भुसम्म भौंतारिए। अहँ कतै भेटेनन्। दुई महिनासम्म यताउता दौडँदा उल्टै ५० हजार रुपियाँ ऋण लाग्यो।

अर्काे दिन अर्थात् मंसिर १९ गते दिउँसोतिरको कुरा हो। एक्कासी उनको मोबाइलमा ट्याइँ ट्याइँ ट्याइँ ट्याइँ घन्टी बज्यो। पूजाको फोन आयो कि भनेर बहुतै खुसी हुँदै फोन उठाए। अफसोच ⁄ त्यो फोन आधा खुसी आधा बेखुसी बोकेर आएको रहेछ। किनकि त्यो फोन एकातिर कान्छी छोरी भेट्टिएको र अर्काेतिर पूजा पोइल गएको खबर लिएर आएको थियो।

कति निर्दयी पूजा ⁄ कति साह्रो ढुंगाको मन ⁄ हीराले ८ वर्षसम्म पूजाकै पूजा गरेर बसे। पूजाले पनि प्रेमविवाहमा धोका दिइन्। अन्ततः निष्ठुरी पूजा कान्छी छोरी काठमाडौंको बौद्ध स्तुपमा बेवारिसे छोडेर भागेकी रहिछन्। महानगरीय प्रहरी वृत्त बौद्धले यही मंसिर १७ गते कान्छी छोरी सूर्यमायालाई भेट्टाएर बालबालिका खोजतलास समन्वय केन्द्रलाई जिम्मा लगाएको रहेछ।

‘वृत्तले हामीलाई बुझाएपछि तत्काल नानीको अभिभावक खोजेर बुझायौं।’ –उक्त केन्द्रका अधिकृत सन्तोष अधिकारीले बताउनुभयो।

त्यसो त हाम्रो समाजमा दिनदिनै यस्ता सामाजिक विकृतिहरू मौलाउन थालेका छन्। कहिले पुरुषले सौता ल्याएर बालबालिकाको बिचल्ली पारेको देखिन्छ भने कहिले आफैँले नौ महिना गर्भमा राखेर पाएको सन्तानलाई सडकमै मिल्काएर अर्कैसँग सल्कने पूजाजस्ता आमा पनि भेटिन्छन् यो धर्तीमा। यस्तो सामाजिक विकृतिका कारण बालबालिका अलपत्र हुने मात्र हैन जोखिममा पर्ने गरेका छन्।

ज्याला–मजदुरी गरेर सकेजति सुख दिँदा पनि छोडी जाने निष्ठुरीबारे केही भन्नुछैन हिरालाई। छोरी पाएपछि खुसी भएका उनी भन्छन्– ‘नानुहरूकै लालनपालन गर्छु, उचित शिक्षा दिन्छु।’

प्रतिक्रिया दिनुहोस्