घाना विश्वविद्यालय परिसरबाट महात्मा गान्धीको प्रतिमा हटाइयो



अक्रा (एजेन्सी)
अफ्रिकी मुलुक घानाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयले विद्यार्थीको विरोधपछि भारतका राष्ट्रपिता महात्मा गान्धीको प्रतिमा परिसरबाट हटाएको छ । गान्धीको एक कथित नस्लवादी टिप्पणीलाई लिएर लामो समयदेखि भइरहेको विरोधका कारण विश्वविद्यालय प्रशासन उनको प्रतिमा हटाउन बाध्य भएको हो ।

भारतका पुर्व राष्ट्रपति प्रणब मुखर्जीले दुबै देशको सम्बन्धको प्रतिकका रुपमा सन् २०१६ मा घाना युनिभर्सिटीमा शान्ति र अशिंसाका पुजारी महात्मा गान्धीको प्रतिमा अनावरण गरेका थिए ।

तर त्यसको केही महिनापछि नै विश्वविद्यालयका एक प्रोफेसले त्यसलाई हटाउन याचिका सुरु गरेका थिए । अश्वेत अफ्रिकीलाई लिएर महात्मा गान्धीको विचार अत्यन्त जातिवादी भएको गुणासो आइरहेको थियो । ती प्राध्यापकले गान्धीद्वारा लिखित एक लेख सामाग्रीमा अश्वेत अफ्रिकीको तुलनामा भारतिय धेरै राम्रो भएको उल्लेख गरेको पंक्तीलाई आधार बनाएका थिए ।

विरोधले कडा रुप लिएपछि विश्वविद्यालयको लिगन क्याम्पबाट गान्धीको प्रतिमा गत मंगलबार राती हटाइएको विद्यार्थीहरुले बताए । अफ्रिकन स्टडिज संस्थामा भाषा तथा साहित्य विभागका प्रमुख ओबदिल काम्बोनले प्रतिमा हटाइनु आत्म सम्मानको मुद्दा भएको बताए । तर विश्व विद्यालयले भने यस विषयमा कुनै टिप्पणी गर्न अस्विकार गरेको छ ।

यसबीच घानाको विदेश मन्त्रालयका एक अधिकारीले उक्त निर्णय विश्वविद्यालयद्वारा लिएको आन्तरिक मामिला भएको जनाएको छ । यसअघि घानाको पुर्व सरकारले विवाद टाल्नका लागि प्रतिमालाई अर्को स्थानमा स्थापित गर्ने जनाएको थियो ।

महात्मा गान्धी बेलायती शासन विरुद्ध उनको अहिंसक आन्दोलनका लागि चिनिन्छ । अफ्रिकामा पनि उनलाई ब्यापक सम्मानको दृष्टिले हेर्ने गरेको पाइन्छ । दक्षिण अफ्रिकामा उनी १८९३ देखि १९१५ सम्म बसेका थिए र एक वकिलका रुपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्