जेसम साहित्य यात्रा भक्तपुरमा



भक्तपुर,(नेस) । जेसम साहित्य यात्राको तेस्रो श्रृंखला शनिबार भक्तपुरको गाम्चामा कविता र कला सिर्जनाका साथ आयोजना गरिएको छ ।यात्रामा कबि फुलमान बल,सुरशे हाँचेकाली ,अनन्त वाग्ले,पुष्करराज बुढाथोकी ‘साउँतेली’ ,रमेश कँडेल, अगिब बनेपाली,बालकृष्ण बस्नेत ,सजनी नौवागे लगायतले गाम्चामै तत्काल कबिता सिर्जना गरी वाचन गर्नुभयो ।

सो क्रममा आधा दर्जन भन्दा बढी कलाकारले क्यानभासमा गाम्चा , यस आसपास र यहाँबाट देखिने प्राकृतिक छटाको चित्र उतारेका छन् । कलाकारहरु लालकाजी लामा, दिपेन्द्र वनेपाली, झलक केसी, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजापति, राजेन्द्र याकामी, सजनी नौबागे लगायतले क्यानभासमा चित्र बनाउनुभएको छ ।

सांसद बस्नेतको कविता र अभिनय बन्यो बिशेष आकर्षण

कार्यक्रममा पुर्व मन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद महेश बस्नेतको कविता र अभिनय बिशेष आकर्षक बनेको थियो ।साहित्य यात्रालाई सम्बोधन गर्दै नेता महेश बस्नेतले समृद्ध नेपाल र सुखी नेपाली भन्ने सरकारको अभियानमा भक्तपुर तीब्र रुपमा नमुना बन्ने गरी लागेको बताउँदै जेसमले यसमा थप टेवा पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।

जेसम यात्राका क्रममा भक्तपुरमा सिर्जना गरिएका कविताको वाचन र चित्रको प्रदर्शनी गर्न सुझाब दिंदै त्यसमा आफुले सहयोग गर्ने र त्यसमा लाग्न आयोजक र स्थानीय सरकारलाई बस्नेतले आग्रह गर्नुभयो ।उहाँले आफू पनि नाटक लेखन,अभिनय र कबिता लेखनमा बिगतमा सकृय रहेको स्मरण गर्नुभयो ।
सुर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र सुनपा वडा नम्बर ४ का वडाध्यक्ष उत्तम थापाले जेसम साहित्य यात्राको सफलताको कामना गर्दै यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक तथा कवयित्री अनिता लामाले जेसम साहित्य यात्रा सिर्जना,सौन्दर्य,सामथ्र्य,पहिचान र समृद्धिको एकमुष्ट यात्रा भएको बताउँदै मौलिक कला,संस्कृति,साहित्य र सुन्दर स्थानलाई उर्वर बनाउन यो यात्रा थालिएको उल्लेख गर्नुभयो । उहाँले धुलिखेलबाट सुरु भएको साहित्य यात्रा नगरकोट हुँदै गाम्चा आईपुगेको र आगामी दिनमा देशका बिभिन्न भागमा पुग्ने बताउँदै जेसममा सहभागी हुन स्रष्टा र शुभचिन्तकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष समेत रहेका स्रष्टा बुढाथोकीले साहित्य र पत्रकारिता दुबै समाजको ऐना भएको बताउँदै दुबैको उदेश्य समाज बिकास,सुधार र लोकको हित नै भएको बताउनुभयो ।

यात्राका अभियन्ता पत्रकार ,कवि बालकृष्ण बस्नेतले यात्राका माध्यमबाट सर्जकका सिर्जनाहरुलाई एकै ठाउँमा प्रस्तुत गर्नु आफैमा सकारात्मक सन्देश भएको बताउनुभयो । कार्यक्रमको व्यवस्थापन स्थानीय सहदेव न्यौपानेले गर्नुभएको थियो । उत्साही युवा कलाकार, पत्रकार, साहित्यकार एवं सर्जकहरुले ३ महिना अघि सिर्जनात्मक यात्राको स्वतस्र्फुत रुपमा ईच्छुक सहभागी सबै यसको सदस्य रहने गरी शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्