किन हुन्छ भयानक दुर्घटना ?



शुक्रबार साँझ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङडाँडामा बा ३ ख ३९१३ नम्बरको मिनीट्रक तादी खोलामा खस्दा २० जनाको ज्यान गएको अर्को अप्रिय खबर सुन्नुपरेको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । यस्तो अप्रिय खबरले यति बेला आमनेपालीलाई शोकमग्न बनाएको छ ।
यात्रुले खचाखच भरिएको मिनीट्रक सिम्टाङ डाँडाबाट ५ सय मिटर तल खस्दा दुर्घटनामा परेको बताइएको छ । तामाङ समुदायको काजकिरियामा आएका स्थानीय फर्किने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । यस दुर्घटनाले तीन वर्षअघिको अर्को दुर्घटनाको पुनःस्मरण गराएको छ ।

त्यस बेला नुवाकोट हुँदै रसुवाको चिलिमे जाने क्रममा ना ३ ख ५७०६ नम्बरको बस राम्चेस्थित ग्राङको सडकबाट २ सय मिटर तल खस्दा ३५ यात्रुको ज्यान गएको थियो । पटक–पटक यस्ता प्रकृतिका दुर्घटना हुँदै आए पनि सडक र गाडीको क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति हटेको छैन । शुक्रबार भएको दुर्घटनामा पनि मिनीट्रकमा ४५ जनाभन्दा बढी यात्रु बोक्नु गैरजिम्मेवारीको पराकाष्ठा मानिएको छ ।

जीर्ण सडकमा गाडी गुडाउनु आफैंमा खतरापूर्ण मानिन्छ । त्यसमाथि क्षमताभन्दा बढी यात्रु चढाउनुले यात्रुलाई मृत्युयात्रामा दौडाउनुसरह हुन्छ । अहिले यात्रुको चाप हुने चाडबाडको समय पनि होइन । खतरापूर्ण स्थानमा ओभरलोड हुने गरी गाडी कुदाउनु चालकको गम्भीर लापरबाही हो । मिनीट्रक ५ सय मिटर तल खसेका कारण पनि सो दुर्घटनामा बढी क्षति हुन पुग्यो ।

घटनाको प्रकृति हेर्दा गाडीभित्र रहेका यात्रु कमैमात्र बाँच्न सफल रहे । घटनास्थल सदरमुकामबाट चार घण्टा टाढा रहेकाले गम्भीर घाइते भएकालाई तत्काल उपचार गर्न सम्भव नहुँदा पनि थप मानवीय क्षति हुन पुग्यो । यति बेला नुवाकोटका दुप्चेश्वर क्षेत्रका सर्वसाधारण कहाली लाग्दो दुर्घटनापश्चात् गहिरो शोकमा डुबेका छन् । यस घटनाले विगतका दुर्घटनाहरुको समेत पुनःस्मरण गराएको छ ।

ठूलो मानवीय क्षति पुगेकाले सबैलाई यो घटनाले छोएको मात्र नभई त्रसितसमेत बनाएको छ । सामान ढुवानी गर्ने मिनीट्रकमा यात्रुहरु खचाखच भरेर यात्रा गराउँदा त्रासदीपूर्ण घटना हुन पुगेको छ । पछिल्लो समय विकासका नाममा पहाडका भीरभीरै गाडी पु¥याइएको छ । गाउँ–गाउँमा गाडी पुग्नु खुशीको कुरा भए पनि जोखिमपूर्ण सडकले निम्त्याउने दुर्दशाचाहिँ कल्पना गर्न सकिँदैन ।

नेपालमा जति पनि धेरै यात्रुको ज्यान जाने गरी दुर्घटना भएका छन्, ती पहाडका डाँडा र भीरपखेरामा गाडी खसेर नै भएका छन् । साँघुरो र जोखिमपूर्ण कच्ची सडकमा गाडी कुदाउँदा यस्तै प्रकृतिका दुःखद खबरहरु एकपछि अर्को गरी सञ्चारमाध्यममा आइरहेका हुन्छन् । भवितव्य र आकस्मिक दुर्घटनालाई कसैले रोकेर रोक्न सकिँदैन । तर, पूर्वसतर्कता अपनाउन सकिए यात्रुलाई अकाल मृत्यु हुनबाट जोगाउन सकिन्छ ।

दुर्गम क्षेत्रमा दुर्घटना हुँदा गम्भीर घाइते भएकाको समयमै उपचार हुन नसकेर मृत्यु भएका अनेकन दृष्टान्त छन् । हाम्रा सयौँ कच्ची सडक मृत्युमार्ग बनिरहेको सन्दर्भमा दुर्घटनालाई न्यूनीकरण गर्नेतर्फ सरोकारवाला निकाय जिम्मेवार बन्न सकिरहेका छैनन् । दुर्गम क्षेत्रमा ट्राफिक सचेतना र चालकलाई प्रशिक्षण अभाव देखिएको छ । कच्ची सडकमा सिकारु चालकले गाडी कुदाउने प्रवृत्ति पनि नियन्त्रण हुन सकिरहेको छैन ।

देशभर सडक खन्ने होड चले पनि जीर्ण सडकको स्तरोन्नति नगर्नु र गाडी मर्मत तथा चालकलाई जिम्मेवार बनाउनेतर्फ ध्यान नदिइनुजस्ता कारण पनि दुर्घटना बढिरहेका छन् । एउटा भयावह दुर्घटनाले शोकसँगै पाठ पनि सिकाएको हुन्छ । भविष्यमा दुर्घटना हुन नदिन सवारीसाधनले क्षमताअनुसार यात्रु बोक्ने र यात्रुले पनि सुरक्षित यात्रा गर्नेतर्फ ध्यान दिनु अत्यन्त जरुरी देखिएको छ ।
– राजीव गौतम, काठमाडौं ।

शिशु मृत्युदर अझै घटेन
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा प्रत्येक दुई घन्टामा तीन नवजात शिशुको मृत्यु हुन्छ । हरेक पाँच वर्षमा गरिने जनसंख्या सर्वेक्षणअनुसार २०११ मा नेपालमा ३३ प्रतिशत रहेको नवजात शिशु मृत्युदरलाई १६ प्रतिशतमा झार्ने लक्ष्य लिइएको भए पनि अहिले २३ मा मात्र झार्न सकिएको छ । यसको मतलब, नेपालमा प्रतिहजार जीवित जन्ममा २१ नवजात शिशुको मृत्यु हुने गरेको छ ।

विकासको प्रमुख सूचक मानिने मातृ तथा बालस्वास्थ्य अवस्थाको सुधारमा नेपालले उपलब्धि हासिल भने गरिरहेको छ । नेपाल सरकारलगायत विभिन्न संघसंस्थाले मातृ नवजात शिशुको जीवन रक्षाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकाले पनि नेपालमा मातृशिशु मृत्युदर घट्दै गएको छ, जुन नेपालका लागि सुखद खबर हो । त्यसैले सरकारलगायत सम्बन्धित निकायले लक्ष्यअनुसार मृत्युदर घटाउनका लागि अझै सचेतनामूलक एवं गर्भवती महिलाका लागि सेवा–सुविधाका कार्यक्रमहरु सञ्चालनमा ल्याउन जरुरी छ ।
– मनोज कार्की, भक्तपुर ।

 

प्रतिक्रिया दिनुहोस्