अश्लीलता पस्किने तीन लाख वेभसाइट बन्द



काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले पच्चीस लाख अश्लील वेभसाइट बन्द गरिएको र क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गरिने जानकारी दिए ।

इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको उल्लेख गर्दै उनले एक वर्षभित्र १५० गाउँपालिकामा पूर्ण रुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पु¥याइने जानकारी दिए । टेलिकम कुनाकन्दरामा बसेका नेपाली नागरिकसम्म पुग्ने र यो कार्य सरकारको दायित्वसमेत भएको उनको भनाई थियो ।

आउँदो वर्ष नेपाल टेलिकमको ‘चित्र’ भिन्न रुपमा प्रस्तुत हुने भएकाले टेलिकमको सेवा लिएर मनोरञ्जन लिन उनले आग्रह गरे । टेलिकमको महसुल सस्तो छ, सकारात्मक वेभसाइट खोल्नुस्, ज्ञानवर्द्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिनुस् भन्ने सुझाव उनले दिए ।

नेपाल टेलिकमलाई ‘आमा’को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले टेलिकमलाई एकछिन घुर्क्याए पनि त्यही चाहिने भइसकको दाबी गरे ।

तस्बिर रासस

नेपाल टेलिकमका महाप्रबन्धक सूर्यभक्त पोखरेलले टेलिकमले स्मार्ट स्कूल बनाउने योजना बनाइरहेको बताए । टेलिकमको बनेपा शाखाअन्तर्गत बेथानचोकमा विस्तार गरिएको टेलिफोन एक्सचेन्ज काभ्रेपलाञ्चोकको १७औँ हो ।

प्रतिक्रिया दिनुहोस्