विश्वमा दोस्रो आमविनाश निम्त्याउँदै पृथ्वीको बढ्दो तापक्रम



काठमाडौं । शृंखलाबद्ध रुपमा बढ्दो तापक्रमको अवस्थाले जलचर र स्थलचर जीवनका लागि खतरापूर्ण बन्दै गएको अध्ययनले देखाएको छ । पृथ्वीको बढ्दो तापक्रमले समुद्री जन्तुहरुले श्वास फेर्न नसक्ने तथा जमिनमा रहेका प्राणीहरु पनि विविधखाले विनाशको चपेटामा पर्न सक्ने देखिएको हो ।

आजभन्दा २ सय ५२ मिलियन अर्थात् झण्डै २५ करोड २० लाख वर्षअघि पर्मियन पेरियड (भौगोलिक समय) मा भएको महाविनाश दोहोरिने खतरा बढेको वैज्ञानिकहरुको निष्कर्ष छ । उक्त समयमा ९६ प्रतिशत सामुद्रिक जीवप्रजातिहरु र ७० प्रतिशत जमिनका मेरुदण्डयुक्त जीवहरुको अस्तित्व नामेट पारेको थियो । जसलाई वैज्ञानिकहरुले ग्रेट डाइङ अर्थात् आमविनाश मान्छन् । उनीहरुका अनुसार साइबेरियामा एकपछि अर्को गरी शृंखलाबद्ध रुपमा गएको ज्वालामुखीले वायुमण्डलमा ग्रीनहाउस ग्यास भरेको थियो ।

तर त्यसपछि कसरी समुद्र जीवमैत्री हुन सकेन भन्ने प्रश्नचाहिँ आजसम्म पनि खडा नै रहँदै आएको छ ।

जर्नल साइन्समा प्रकाशित उक्त नयाँ अध्ययनले जब पृथ्वीको तापक्रम बढ्दै जान्छ, समुद्रहरुको तापक्रम पनि बढ्दै जाने र त्यसले समुद्री जीवहरुलाई बाँच्नका लागि पर्याप्त अक्सिजन दिन नसक्ने देखाएको छ ।

सोही ग्रेट डाइङलाई पाठ सम्झिनुपर्ने अमेरिकी वैज्ञानिकहरुले बताएका छन् ।

ग्रिनहाउस ग्यास उत्सर्जनको अवस्थालाई मध्यनजर नगर्ने हो भने समुद्री तापक्रम पर्मियन पिरियडको अन्तिमतिरजस्तै सन् २१०० मा २० प्रतिशतसम्म पुग्नसक्ने खतरा अध्ययनमा औँल्याइएको छ । सोही क्रमले वृद्धि हुँदै जाँदा सन् २३०० तिर यो ३५ देखि ५० प्रतिशतसम्म पुग्नेछ, जसले आम विनाश निम्त्याउनेछ ।

युनिभर्सिटी अफ वासिङटनका पीएचडी गरिरहेका विद्यार्थी तथा अनुसन्धाता जस्टिन पेनका अनुसार मानवजनित (एन्थ्रोपोजेनिक) जलवायु परिवर्तनकै कारण आम विनाश हुनसक्ने कुरा नै उक्त अध्ययनले प्रमुख रुपले औँल्याएको छ ।

यस्तो थियो पहिलो आम विनाश !
दुई भौगोलिक युग (समय)लाई छुट्याउने सीमा नै पर्मियन मास एक्सटिन्क्सन अर्थात् द ग्रेट डाइङ (आमविनाश) हो । यस घटनाले पृथ्वीका सबैजसो जीवहरुको अस्तित्व लुटेको थियो । वैज्ञानिकहरु यो घटनामा ९५ प्रतिशत सामुद्री जीवन नामेट भएको मान्छन् । सो घटनामा पृथ्वीको सतहको एकतिहाइ जीवनमात्रै बाँच्नसकेको उनीहरुको बुझाइ छ । अर्थात् पृथ्वीको कुल जीवनमध्ये ९० प्रतिशत जीवन लोप भएको थियो । अहिले पृथ्वीमा रहेका जीव, वनस्पति र जीवाणुहरुको केवल १० प्रतिशतले मात्रै उक्त घटनामा बाँच्नसकेको मानिन्छ । यसअघि ठूलो विस्फोटनसँगै पृथ्वीलाई बाक्लो कुहिरोले ढाकेको र पृथ्वीको सतहमा सौर्यरश्मि पुग्न नपाएको विश्वास गरिन्थ्यो । तर नयाँ प्राप्त तथ्यांकले भने विशाल ज्वालामुखी विस्फोटनपछि १० लाख वर्षसम्म त्यसले पृथ्वीको भित्री भागबाट उत्सर्जन गरेको विषाक्त केमिकलहरु वायुमण्डलसम्म पुगेको र त्यसले ओजोन तहमा क्षति पुर्याएको विश्लेषण गरेको छ । त्यसपछि पृथ्वीको सतहमा सौर्य विकीरणको सीधा प्रवेशले पृथ्वीका जीव, वनस्पतिहरु नष्ट भएको देखाएको छ ।

साइबेरियन इरप्सन (विष्फोटन) अघि पृथ्वीका समुद्रहरुमा तापक्रम र अक्सिजनको अवस्था तुलनात्मकरुपले हिजोआजजस्तै थियो ।

पटक पटकको कम्प्युटर नमूनामा वैज्ञानिकहरुले ग्रिनहाउस ग्यासलाई ग्रेट डाइङको अवस्थासँग मिलान गर्दा समुद्री सतहको तापक्रम १० डिग्री सेल्सियस हाराहारीमा बढ्ने देखिएको हो । उक्त नमूनाअनुसार यस्तो नाटकीय परिवर्तनले समुद्रले ८० प्रतिशतको हाराहारीमो अक्सिजन गुमाउने देखिनपुगेको छ । जुन भनेको समुद्रको एकदमै गहिराइ जीवनापेक्षी ग्यासरहित क्षेत्र हो ।

अनुसन्धाताहरुले ६१ वटा आधुनिक समयका प्राणीहरुको प्रजातिको तथ्यांक विश्लेषण गरेका थिए । जसमा गंगटा, माछाहरु, शेलफिस, मुगा, शार्कहरु रहेका छन् । यी जीवहरुले त्यस्तो असामान्य अवस्थाको सामना कसरी गर्छन् भनेर उनीहरुले अध्ययन गरेका थिए तर उक्त अध्ययनले यी जीवहरु लोप हुने नमूना देखियो ।

केही केही मात्र सामुद्रिक जन्तुहरु रहने देखिएको सोही विश्वविद्यालयका सहलेखक कुर्टिस ड्युचले बताए ।

ग्रेट डाइङको समयमा पनि यस्तै खाले लोपको ढाँचा देखिएको प्राप्त जीवकंकालहरुबाट गरिएको तथ्यांकविश्लेषणले बताएको वैज्ञानिक स्वीकारोक्ति छ । कम अक्सिजनमा पनि रहन सक्ने जीवप्रजातिलाई केही नहुने भए पनि धेरैभन्दा धेरै अक्सिजन चाहिने प्रजाति भने यस्तो अवस्थामा आमविनाश हुनेछन् ।

यसअघि विज्ञहरु नै अक्सिजनको कमी, उच्च तापक्रम, उच्च एसिडिटी, विषाक्त केमिकलहरुकै कारण पर्मियन पिरियडमा सामुद्रिक जीवनजन्तुको अस्तित्व नामेट भएको भन्नेमा अनभिज्ञ रहेका थिए ।

तर शारीरिक प्रक्रियाहरुबारेको सुनिश्चित भविष्यवाणी गरिएको यो नै पहिलोपटक भएको पेनको भनाइ छ । उनका अनुसार पहिले पहिले पाइने जीवहरुको कंकालको प्रयोगशाला परीक्षणबाट कसरी त्यो जीवप्रजातिको अस्तित्व माटोमा मिलेको थियो भन्न सकिन्छ । यसले भविष्यमा पनि त्यस्तै खाले भइपरी आउने आमविनाशको भविष्यवाणी गर्न सकिने उनको निष्कर्ष छ ।

(डेली मेलमा प्रकाशित विज्ञान फिचरको नेपाली अनुवाद)

प्रतिक्रिया दिनुहोस्