चाउमिन खाएर मृत्यु भएका कञ्चनपुरका दुई बालकको शव अझै उठेन



मनोज भट्ट, महेन्द्रनगर ।
गत शुक्रबार चाउमिन खाएपछि बिरामी परि मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, देखतभूलीका दुई भाइको शव अझै उठ्न सकेको छैन । ती बालकहरुको नियोजित तरिकाले हत्या गरिएकोले दोषी उपर कारबाहीको माग गर्दै छिमेकी तथा आफन्तहरुले शव उठाउन दिएका छैनन । अहिले उनिहरुको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । तर उनीहरुको अझै पोस्टमार्टम भएको छैन ।

मृतक बालकका छिमेकी तथा आफन्तले दोषीमाथी कारबाहीको माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन् । शुक्रबार बेलौरी स्थित मामाघर बिहेमा गएका १२ वर्षीय धन बहादुर सुनार र ८ वर्षीय टेक बहादुरको चाउमिन खाएपछि बिरामी भएर मुत्यु भएको थियो ।

बालकका ठु्लोबुवा लछी सुनारले उनीहरुलाई चाउमिन पकाएर खान दिएको प्रहरीले जनाएको छ । स्थानीय गाउँलेको दवावपछि प्रहरीले मृतक बालकका ठुलबाबु लछी र ठुलीआमा सिता सुनारलाई शनिबार साँझ झलारी प्रहरीले नियन्त्रणमा लिइसकेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले घटनाको सुक्ष्म ढङगबाट अनुसन्धान भईरहेको बताए । बुवा नभएका ति दुई बालक ठुलोबुवाको घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्