टिजरमा बुलबुल



निर्माणाधिन फिल्म बुलबुलको टिजर युट्युवमार्फत संसारभर सार्वजनिक भएको छ। ४५ दिन अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ।

फिल्मको एक दृश्यजस्तो लाग्ने टिजरमा नायिका स्वस्तिमा खडकाको रूप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ। साथमा देखिएका नवनायक मुकुन भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ। टिजरमार्फत चरित्र चित्रण र फिल्मको स्वाद कस्तो छ भनेर छनक दिन खोजिएको देखिन्छ। छोटो दृश्यमै दुवै कलाकारले फरक फरक भाव र फरक रसमा सरल तर प्राकृतिक तवरले आफनो अभिनय कौशल देखाउन सफल भएका छन्। टिजर हेर्दा फिल्ममा केही न केही खँँदिलो र पृथक कुरा छ भन्ने अनुमान गर्न सकिन्छ। यस अघि हेर्दै आईएको अन्य फिल्मका टिजरमा जस्तो धेरै कुरा देखाउन खोज्ने भन्दा पनि एकै दृश्यबाट धेरै आयाम प्रस्तुत गर्न खोजिएको छ।
आगामी फागुन ३ गते भ्यालेन्टाइनको छेको पारेर रिलीजमा आउने फिल्मको खुद्राखाद्री मायाले बोलको गीत पनि यतिखेर लोकप्रिय हुँद ैगएको छ। फिल्मका निर्देशक विनोद पौडेलले पटकपटक बुलबुलमार्फत नयाँ स्वाद पाइने बताउँदै आएका छन्।

फिल्मका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरू क्रमश सार्वजनिक हुँदै जाने र फिल्ममा रहेको अर्को एक दमदार गीत पनि छिटै सार्वजनिक गरिने बताए। बुलबुलका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन्।

फिल्ममा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय रहेको छ। फिल्ममा संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ। निर्माण टोलीले अझैपनि बुलबुल शव्दको अर्थ कसरी लगाईएको छ भन्ने रहस्यमै राखेको छ।

प्रतिक्रिया दिनुहोस्