राजापाक्षेद्वारा प्रधानमन्त्री पदबाट राजिनामा, श्रीलंकाली राजनीति सहिदिशा तर्फ



कोलम्बो,(एजेन्सी)
श्रीलंका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाद्वारा विवादास्पद ढंगले प्रधानमन्त्रीमा नियुक्त भएका महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेका भिडियोहरू सार्वजनिक भएको विभिन्न अन्तर्रािष्ट्रय समाचार संस्थाहरूले सार्वजनिक गरेका छन् ।

राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिंघेले एक विज्ञप्ति मार्फत उाले राजीनामा दिएको पुष्टि गरेका छन् ।

राजापाक्षेले वक्तव्यमा आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन् । अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफुहरूको मुख्य मुद्दा हुने उनको भनाइ रहेको छ । शुक्रवार मात्र उनलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेको तथा संसद् विघटन गरेको विषयलाई सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उनले राजीनामा दिएका हुन् ।

सिरिसेनाले गत अक्टोबर २६ मा तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरेर पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । त्यसलाई अदालतले संविधानविपरीत भएको भन्दै अवैध भएको फैसला गरेको हो ।

अदालतले हटाइएका प्रधानमन्त्रीलाई काम गर्न र नवनियुक्त भनिएका प्रधानमन्त्रीलाई काम नगर्न निर्देशन दिएको थियोे । तैपनि अहिलेसम्म श्रीलंकामा विक्रमासिंघे र राजापाक्षे दुवैले आफूलाई आधिकारीक प्रधानमन्त्रीको रुपमा दाबी गर्दै आएका थिए । संसद्ले पनि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त राजापाक्षेलाई विश्वासको मत नरहेको घोषणा गरेको हो ।

कूल २ सय २५ सदस्यीय श्रीलंकाको संसदमा आफ्नो बहुमत कायमै रहेको विक्रमासिंघेको दाबी थियो । त्यो दावी असफल बनाउने उद्देश्यले सिरिसेनाले संसद भंग भएको घोषणा गरेका थिए । तर त्यसलाई पनि अदालतले गलत एवं अवैध साबित गरिदिएको हो ।

बर्खास्त गरिएका प्रधानमन्त्री विक्रमासिंघेले आफू प्रधानमन्त्री कायमै रहेको जिकिर गर्दै बहुमत प्रमाणित गर्न संसद बैठक बोलाउन सभामुखलाई आग्रह गरेपछि राष्ट्रपति सिरिसेनाले संसद भंग गरेका थिए ।

राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद् विघटनको घोषणासँगै निर्वाचनको मिति घोषणा गरेका थिए । उनले आगामी ५ जनवरीमा निर्वाचन गर्ने घोषणा गरेका थिए । त्यसका विरुद्धमा पनि अदालतमा मुद्दा परेको थियो ।
राष्ट्रपति सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा चीनले बाहेक विश्वका अन्य मुलुकहरुले कुनै प्रतिक्रिया व्यक्त नगर्नुबाट पनि सो कदमलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएको प्रमाणित हुन्छ ।

विवादास्पद तर लोकप्रिय नेता राजापाक्षे झण्डै तीन दशक लामो गृहयुद्ध को अन्त्यकोबेला सन् २००९ मा श्रीलंकाको राष्ट्रपति रहेका थिए । सरकारी सेनाले पृथबतावादी तमिलहरुको स्वाधिनताको लडाईलाई दमन गर्ने क्रममा उनी विरुद्ध गम्भीर मानव अधिकार उल्लंघन गरेको अभियोग लगाइएको थियो । तर उनले आफु विरुद्ध लगाइएका सम्पुर्ण आरोप अस्विकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्