काठमाण्डु किंग्स प्लेअफमा



काठमाडौं, (नेस)
काठमाण्डु किंग्स इलेभेनले जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

शनिबार त्रिवि मैदानमा भएको खेलमा काठमाण्डु किंग्सले गत संस्करणको उपविजेता भैरहवा ग्लाडीयटर्सलाई ७ विकेटले हराएको हो । यो तेस्रो जितसँगै काठमाण्डु किंग्स प्लेअफमा पुगेको हो । प्लेअफमा पुग्ने टोलीमा ललितपुर पेट्रियट्सपछि काठमाण्डु दोस्रो टोली बनेको छ ।

प्लेअफमा पुग्न बाँकी एक टोलीको टुंगो लाग्न बाँकी छ । ६ टोली सहभागिता ईपीएलमा २ टोली प्लेअफमा पुग्न संघर्ष गरिरहेका छन् । जसमा गत संस्करणको विजेता विराटनगर वारियर्स र चितवन टाइगर्स रहेका छन् । दुबै टोलीको ४÷४ अंक रहेको छ । भैरहवा ३ जितसँगै पहिल्यै प्लेअफमा पुगेकोले यो हारले टोलीलाई खासै फरक भएन ।

काठमाण्डु किंग्सले भैरहवा ग्लाडियटर्सले छाडेको १ सय ५० रनको लक्ष्य ५ बल बाँकी राखेर मात्र ३ विकेटको क्षेतिमा प्राप्त गरेको थियो । टोलीलाई जिताउन ओपनर अमित श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । रनआउट भएका उनले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए । उनी जारी ईपीएलमा ५० रन बनाउने पहिलो नेपाली खेलाडी हुन् । यस जारी प्रतियोगितामा विदेशी खेलाडीले मात्रै अर्धसतक बनाइरहेकोमा अमितले त्यो क्रम तोडेका छन् ।

अमित र कप्तान रोहन मुस्तफाले पहिलो विकेटका लागि ६८ रन जोडेका थिए । मुस्तफाले सरद भेषवाकरको बलमा बोल्ड हुन अगाडि ३६ रन बनाएका थिए । अमितले दोस्रो विकेटका लागि सागर पुन (१३ रन) सँग ४४ रनको साझेदारी गरे । केभिन ओ ब्रायनले विस्फोटक ब्याटिङ गरेपछि भैरहवाको झिनो जितको आसा पनि समाप्त भएको थियो । केभिनले १५ बलमा ५ चौका र १ छक्काको सहयोगमा नटआउट हुँदै ३३ रन जोडेका थिए ।

यसअघि भैरहवाले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ४९ रन जोडेको थियो । कप्तान सरदले ३१ बलमा ३ चौका र १ छक्कासहित ३९ रन जोडे भने रवि इन्दर सिंहले ८६ रनको सानदार इनिङ खेले । उनको सानदार प्रदर्शनमा ६ चौका र ४ छक्का सामेल थिए ।

चितवनको जित
चितवन टाइगर्सले आफनो अन्तिम खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै प्लेअफको आस जिवितै राख्यो । यो खेल हारेको भए विराटनगर प्लेअफमा सीधै पुग्ने थियो । तर चितवनका बलर र ब्याटसम्यानले सानदार प्रदर्शन गर्दै पोखराले तेर्साएको १ सय ३० रनको लक्ष्य सहजै प्राप्त गरेको थियो । टोलीको जितमा कप्तान दिपेन्द्र सिंह ऐरी र पउल स्टर्लिङले अर्धसतक प्रहार गरेका थिए । दिपेन्द्र ५४ रनमा नटआउट रहे । उनी जारी लिगमा अर्धसतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यस्तै स्टर्लिङले सर्वाधिक ५५ रन जोडे । दुबैले समान ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

शक्तिको घरेलु करियर समाप्त
शक्ति गौचनको यो लिग अन्तिम प्रतियोगिता हो । पोखरा राइनोजको नेतृत्व गरेका शक्तिले सो आफनो अन्तिम घरेलु खेलमा विकेट भने लिन सकेनन् । पोखराले पाँचै खेल हारेर उनको सुखद विदाइ नभए पनि शनिबार बाक्लो उपस्थित दर्शकले उनलाई धेरै सम्मान दिएका थिए । शक्तिलाई खेलाडीहरुले गार्ड अफ अनरको सम्मान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्