रहस्य नखुलेको पत्रकार हत्या



-विनोद नेपाल
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वलात्कारपछि हत्या भएको घटनाका दोषीहरु अझै पत्ता लाग्न सकेका छैनन् । यस घटनाले सरकार र सुरक्षा संयन्त्र खासगरी नेपाल प्रहरीमाथि विभिन्न किसिमका आशंका उत्पन्न गराइदिएको छ । अझ कहिले मानसिक रोगी र कहिले घटनाको समयमा अन्य कारणबाट हिरासतमा रहेको दाबी गरिएकाहरुमाथि आशंका गर्दै गरिएका अनुसन्धानले घटनालाई नियतवश घुमाइएको र यसमा आशंका गरिएझै कुनै पहुंचवालाकै संलग्नता त थिएन भन्ने कुरालाई बल पु¥याइरहेको छ । यसबीच मुलुकमा थुप्रै बलात्कार र केही हत्या पनि भईसकेका छन् जसले हाम्रो सभ्यता र सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएको छ ।

अन्तर्राष्ट्रिय जगतमा पनि एक पत्रकारको हत्याका दोषीहरु अझै सम्पर्कमा ल्याउन नसकिएको घटना चर्चामा छ । विगत दुई महिनाभन्दा अघिदेखि ‘जमाल खसोग्गी’ नामका एक पत्रकार चर्चामा छन् । अमेरिकाबाट प्रकाशित हुने ‘वासिङटन पोस्ट’का पत्रकार साउदी नागरिक खसोग्गी गत अक्टोबर २ का दिन दिउँसो करिब १ बजे टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको वाणिज्य दूतावासभित्र प्रवेश गरेका थिए । उनी त्यहाँ प्रवेश गरेको देखिएको तर त्यहाँबाट बाहिर निस्केकोचाहिँ कसैले नदेखेका कारण नेपालकी निर्मलाजस्तै उनको चर्चा चुलिएको छ ।

खसोग्गी अमेरिकामै बस्दै आएका थिए । उनका निकटस्थहरुका अनुसार उनी टर्कीमा बस्ने युवती ह्याटिस सेन्गिजसंग विवाह गर्न चाहन्थे र यसैको तयारीका क्रममा यसैसंग सम्बन्धित आवश्यक कागजात लिन इस्तानबुल स्थित साउदी वाणिज्य दूतावास गएका थिए । ह्याटिसका अनुसार जमालले यसका लागि पहिले नै निवेदन दिइसकेका थिए र त्यहांका एक अधिकारीले बोलाएका कारण उनी दूतावास गएका थिए । उनी त्यहां जांदा हुनेवाला पत्नी ह्याटिस पनि संगै थिइन् । उनका अनुसार उनले जमाल खसोग्गीलाई लामो समय दूतावास वाहिर प्रतीक्षा गरिरहिन् तर उनी बाहिर आएनन् । खसोग्गीका दुबै मोवाइल पनि ह्याटिसकै साथमा थियो यसकारण उनले खसोग्गीसंग सम्पर्क गर्न सकिरहेकी थिइनन् । लामो प्रतीक्षाले हैरान भएकी ह्याटिसले अन्ततः टर्कीको प्रहरीलाई फोन मार्फत सो सम्बन्धमा जानकारी गराइन् । प्रहरीले सांझ साढे पांच बजे दूतावास बाहिर लगाइएको क्यामराको फुटेज हे¥यो जसबाट स्पष्ट भयो कि खसोग्गी दूतावासबाट बाहिर निस्केनन् ।

अर्को दिन विहान साउदी अरब सरकारले जमाल खसोग्गी वेपत्ता भएको सूचना जारी ग¥यो । यस सूचनामा खसोग्गी कागजपत्र लिई साउदी दूतावासबाट बाहिर निस्केका तर त्यसपछि उनी वेपत्ता भएको उल्लेख थियो । साउदी अरब सरकारको यस सूचनालाई जमाल खसोग्गीकी हुने वाला भनिएकी पत्नी र टर्कीका राष्ट्रपति रजब तैयव एर्दोआनले खण्डन गरे । एर्दोआनका प्रवक्ताले त जमाल खसोग्गी अहिलेपनि साउदी दूतावास भित्रै रहेको बताएका थिए । आफूहरु दूतावासका अधिकारीहरुसंग कुराकानी गरिहको र यो विषय चांडै समाधान हुने पनि उनको भनाइ थियो ।

अक्टोबर ४ को दिन टर्की सरकारले राजधानी अंकारामा साउदी राजदूतलाई यस विषयमा जानकारी गराउन निर्देशन दियो । यसैदिन वासिङटन पोष्टका तर्फबाट जमाल खसोग्गी वेपत्ता भएकोमा चिन्ता व्यक्त गरियो । वासिङटन पोष्टको सम्पादकीय विभागका प्रमुखले एक विज्ञप्ती जारी गर्दै जमाल वेपत्ता भएपछि यस विषयमा अमेरिका, टर्की र साउदी अरब तीनै मुलुकका अधिकारीहरुसंग कुराकानी भएपनि आफ्ना पत्रकारको बारेमा केही जानकारी हुन नआएको बताए ।

अक्टोबर ५ का दिन यूरोप, अमेरिका र मध्यपूर्वका अखवारमा यो खवर प्रमुखतासाथ छापियो । यसबाट साउदी सरकार माथि ठूलो दबाब प¥यो र यसपछि उसले टर्कीका अधिकारीहरुलाई आफ्नो दुतावासमा खोजतलाश गर्न अनुमति दियो । साउदी राजकुमार बिन सलमानले एक अखवारलाई दिएको अन्तर्वार्तामा आफूहरुसंग लुकाउने कुनै कुरा नभएको भन्दै दूतावास आफ्नो सम्प्रभु क्षेत्र भएपनि टर्कीका अधिकारीहरुलाई त्यहां प्रवेश गर्न र खोजी गर्न अनुमति प्रदान गरिएको बताए ।

पत्रकार खसोग्गीको शव एसिडमा गलाई ढलमा बगाइएको अनुमान गरिएको छ । इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासको नालीबाट संकलन गरिएको नमुनामा एसिडको अंश भेटिएको थियो । त्यसैको आधारमा अनुसन्धानकर्ताले उनको शवलाई तरल बनाई नालीमा बगाएको अनुमान गरेका हुन् । उनको हत्या अझै रहस्यमय नै छ ।

अक्टोबर ६ का दिन टर्कीका प्रहरी अधिकारहरुले साउदी दुतावासमा खोजबीन गरे । यसपछि सोही सांझ प्रहरीले एक सनसनीपूर्ण सूचना जारी ग¥यो । जसमा आफ्ना प्रहरी अधिकारीहरुको प्रारम्भिक अनुसन्धानको आधारमा पत्रकार खसोग्गीको २ अक्टोबरका दिन नै साउदी दूतावास भित्र हत्या गरिएको जनाइयो । एक सरकारी अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आफूहरु खसोग्गीको हत्या पूर्वनियोजित भएकोमा पूर्ण विश्वस्त भएको पनि जानकारी गराए । उनले दूतावासमा हत्या गरेपछि जमालको शवलाई कतै लगि थन्क्याइएको हुनसक्ने बताएका थिए । तर साउदी अरेबियाले भने यसलाई ‘मनगढन्ते’ भनेको थियो ।

विभिन्न अडकल र अनुमान एवं आशंकाका बीच समय गुज्रिरहंदा अक्टोबर ३१ का दिन टर्कीका मुख्य अनुसन्धानकर्ताले पहिलोपटक जमाल खसोगगीको हत्याको विवरण सार्वजनिक गरे । उनका अनुसार पत्रकारले जब इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा पाइला राखे त्यतिखेरै उनको घांटी थिचेर हत्या गरियो र उनको लाशलाई टुक्राटुक्रा पारियो, जुन पूर्वनियोजित ढंगमा भएको थियो ।

नोभेम्बर १ का दिन साउदी राजकुमार मोहम्मद बिन सलमानले मारिएका पत्रकार जमाल खसोग्गीलाई एक खतरनाक इस्लामी बताए । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाई जारेड कुश्नेर र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई फोन गरी राजकुमारले यसो भनेका बताइन्छ । स्मरणीय छ, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको आलोचना गर्ने जमाल खसोग्गीलाई प्रायः धम्की आउने गर्थे । यी धम्कीका कारण अघिल्लो वर्ष उनले साउदी अरब छाडिदिएका थिए ।

पत्रकार जमाल खसोग्गीको हत्या भएकोमा कुनै विवाद छैन । त्यसमा साउदी संलग्नता पनि प्रष्टै छ । यसैबीच खसोग्गीको हत्या साउदी राजकुमार सलमानको निर्देशनमा भएको अमेरिकी अनुसन्धानकर्ताको ठहर छ । उनीहरुका अनुसार यस्तो कार्य राजकुमारको अनुमति र जानकारीबिना हुनै सक्दैन । एक अमेरिकी अधिकारीले आफ्नो परिचय नखोल्ने शर्तमा जनाएअनुसार अमेरिकी गुप्तचर संस्था सीआइए अहिलेसम्मको अनुसन्धान पश्चात यस निष्कर्षमा पुगेको हो । राजकुमारका भाइ खालिद बिन सलमानले जमाल खसोग्गीलाई फोन गरेर इस्तानबुलको वाणिज्य दूतावास गई कागजपत्र लिन सुझाएका र यो राजकुमार सलमानको निर्देशनमा भएको पनि अनुमान गरिएको छ । यद्यपी यसको आधिकारिक पुष्टी हुन बांकी नै छ । खालिदले ट्वीट मार्फत यस दाबीको खण्डन गरेका पनि छन् तर जसरी घटना घट्यो, घटनास्थलका वरपर जे जस्ता प्रमाणहरु फेला परे, ती सबैले साउदी दूतावास भित्रै खसोग्गीको हत्या भएको पुष्टी भइसकेको छ । यो दाबी सबैभन्दा पहिले टर्कीले गरेको थियो ।

खसोग्गीको मृत्युबाट पश्चिमी मुलुक तथा साउदी अरेबियाका बीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ । यस विषयमा प्रारम्भिक दिनमा चर्का कुरा गरेको अमेरिका पछिल्लो दिन उतिविधि चासो नराखेको महसुस गरिएको छ । घटनामा साउदी राजकुमारको संलग्नताको विषय उठेको र सिआइएकै अनुसन्धानमा समेत त्यसतर्फ संकेत गरिएको भएपनि राष्ट्रपति ट्रम्पले त्यसलाई खुलेर सार्वजनिक गरेका छैनन् । यसैले अन्य मुलुकको दबाबलाई साउदी अरेवियाले टेरेको छैन । यतिसम्म कि अनुसन्धानका लागि संलग्नताको अनुमान गरिएका केही व्यक्तिहरुलाई उपस्थित गराईदिन टर्कीले गरेको आग्रहको समेत साउदी अरेवियाले वेवास्ता गरेको छ ।

रहस्य त के छ भने, अहिलेसम्म खसोग्गीको शव फेला परेको छैन । छोराहरुले अन्तिम संस्कारका लागि शब उपलब्ध गराईदिन आग्रह गरेपनि पाउन सकेका छैनन् । पत्रकार खसोग्गीको शव एसिडमा गलाई ढलमा बगाइएको अनुमान गरिएको छ । इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासको नालीबाट संकलन गरिएको नमुनामा एसिडको अंश भेटिएको थियो । त्यसैको आधारमा अनुसन्धानकर्ताले उनको शवलाई तरल बनाई नालीमा बगाएको अनुमान गरेका हुन् । उनको हत्या अझै रहस्यमय नै छ ।

यसैबीच विश्व प्रतिष्ठित ‘टाईम’ पत्रिकाले सन २०१८ को ‘पर्सन अफ द इयर’का लागि चार पत्रकार र एक पत्रिकालाई छानेको छ । त्यसमध्ये एकमा यिनै खसोग्गीलाई राखेको छ । ‘टाईम’ पत्रिकाले यस वर्ष सत्यका लागि मूल्य चुकाउने चार पत्रकार र एक पत्रिकालाई यस सम्मानका लागि चयन गरिएको जनाएको हो । खसोग्गीका अतिरिक्त विगत ३३ वर्षदेखि युद्ध क्षेत्रमा काम गरेका कारण प्रख्यात फिलिपिनी पत्रकार मारिया रेसा तथा म्यान्मारको जेलमा बन्द रोयटरका दुई पत्रकार वा लोन र क्याव सोई उ को नाम पनि यसमा सामेल छ । यस अतिरिक्त मेरिल्याण्डको अनापोलिसबाट प्रकाशित हुने ‘क्यापिटल गजेट’ नामको पत्रिकालाई पनि यो सम्मानका लागि चयन गरिएको छ । यहांका पांच पत्रकारको गोली हानी हत्या गरिएको थियो । टाईम पत्रिकाले यी सबै सत्यताका लागि संघर्ष गर्ने सबैका लागि लड्ने प्रतिनिधि भएको भन्दै सम्मान गरेको हो । सन २०१८को १० डिसेम्बर सम्म विश्वमा ५२ पत्रकारको हत्या भएको तथ्यांक छ ।

खसोग्गीको हकमा ‘टाईम’ ले भनेको छ, ‘उनले आफ्नो देशको सरकारसंग असहमत हुने आंट गरे । उनले विश्वलाई सत्यताका पक्षमा बोल्दा साउदी अरेबियामा गरिने व्यवहार बारे पनि जानकारी गराएका थिए । यसैकारण उनको हत्या गरिएको हो ।’ भनिन्छ, खसोग्गीको हत्याका लागि साउदी अरेबियाले टर्कीमा आफ्नो १५ सदस्यीय टोली नै पठाएको थियो । तर नेपालको निर्मला हत्याकाण्डजस्तै यी पत्रकारको हत्यबारे वास्तविकता बाहिर आउन सकेको छैन । प्रतीक्षा गरौं, कुनै दिन दुवैको वास्तविकता बाहिर आउनेछ ।

प्रतिक्रिया दिनुहोस्