घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुँदा २० जनाको मृत्यु



नुवाकोट ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुदा २० जनाको मृत्यु भएको छ ।
१८ जनाको घटनास्थलमा, १ जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएकाहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सनाखत हुनेहरुमा ४८ बर्षिय केनाम तामाङ, ३५ बर्षका आइते तामाङ, २५ बर्षिय रिभन तामाङ, २३ बर्षिय मंगले तामाङ, ५५ बर्षिय सेनगोन तामाङ, ६२ बर्षिय खम्सुङ तामाङ, ५५ बर्षिय टोकले तामाङ, २७ बर्षिय बिडिमाया तामाङ रहेका छन् । यस्तै १४ वर्षकी सीता तामाङ, २१ वर्षका भिम तामाङ, ४३ वर्षका विरे तामाङ, ३३ वर्षका लक्ष्य तामाङ, ४४ वर्षका मिङमार तामाङ, ३३ वर्षका छोङसेनम तामाङ, ५० वर्षका मिनबहादुर तामाङ, १९ वर्षका कृष्णबहादुर तामाङ, ४० वर्षका सुवय तामाङ र ३६ वर्षकी सुनसरी तामाङ रहेका छन् ।

उपचारको लागि काठमाडौँ लैजाने क्रममा १८ बर्षिय रितेश पण्डितको रामतीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले बताउनुभएको छ ।

यस्तै २४ बर्षिय शुकराम तामाङको उपचारको क्रममा काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएर घाइते भएकाहरु १४ जनाको काठमाडौँको बि.पि. स्मृति प्रतिष्ठान र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

घाइते भएकाहरुमा छिरिङ तामाङ, रामबहादुर तामाङ, साइला तामाङ, बिरिमायाँ तामाङ, बिरिमायााकी ९ महिनाको छोरी, शिरमिन्दु तामाङ, शावित्रि तामाङ, मसिने तामाङ, मोजित तामाङ, बिरबहादुर तामाङ, लक्ष्मण तामाङ, चन्द्रबहादुर तामाङ, २६ वर्षका सुकुराम तामाङ रहेका छन् । सिम्टाङमा आफन्तको मृत्यु भए पश्चातको सस्कारमा सहभागी भएर गाउँ फर्कने क्रममा मिनिट्रक दुर्घटना भएको थियो । दुर्घटना ग्रस्त भएको मिनिट्रक सडकबाट ५ सय मिटर तल रहेको तादी खोलामा पुगेको छ ।

नेपाली सेनाको हेलिकप्टर अवतरण हुन नसकेपछि सांसद हितबादुर तामाङ डोरी मार्फत घटनास्थलमा आइपुग्नुभएको थियो ।
घ्याङफेदीमा भएको मिनिट्रक दुर्घटनाबाट मृत्यु हुनेहरुको पोष्टमार्टम घटना स्थलमा नै हुने भएको छ । जिल्ला अस्पताल त्रिशुली ल्याएर पोष्टमाटम गरी अन्तिम सस्कारको लागि गाउँ लैजादा स्थानीहरुलाई असहज हुने भए पछि पोष्टमार्टमको प्रवन्ध घटनास्थलमा नै मिलाइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभएको छ । पोष्टमार्टम गर्नको डा. उज्वल थोक्रा सहितको टोली घटनास्थल तर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्