परिवारबाट अपहेलित नेत्रकुमारी नागरिकता पाउँदा दंग



नेपाल समाचारपत्र, पर्वत ।
आफुँ मुख बोल्न सक्दिनन, श्रीमानको मृत्यु भैसकक्यो अनि जन्मदिएकी छोरीले पनि आमा हुन भनेर चिन्दिनन । ५६ बर्षको उमेर सम्म परिवारको माया, हक लाग्ने अंश त परै जावस नागरिकताको प्रमाणपत्र समेत पाउन नसकेकी अपांग नेत्रकुमारी कुवँर जिल्ला प्रशासन कार्यालयमा बिहीबार निक्कै दंग पर्दैर्थिन ।

आफुँले जन्मदिएकी छोरीले समेत चिन्दीनन भनेपछि नागरिकताबाट बञ्चित भएकी नेत्रकुमारीलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिकता दिलाएपछि उनी निक्कै दंग परेकी हुन । छोरी जन्मको २० दिनमै छोरी समेत खोसेर घरबाट लखेटिएकी नेत्र कुमारीका लागि नागरिकता पाउनु नै सबैभन्दा ठुलो उपलब्धी भएको आभास हुन्थ्यो ।

पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवाकी ५६ बर्षिया वाक अपांगता भएकी नेत्रकुमारीलाई परिवारका सदस्यहरुको सनाखत गराएर जिल्ला प्रशासन कार्यालयले नागरिकता दिलाएको छ । नागरिकता पाउँदा निक्कै खुसी भएकी नेत्रकुमारीले अस्पष्ट आवाज र हातको इशारामा सबैलाई धन्यबाद समेत दिइन ।

बिबाह भएको २९ बर्ष सम्म परिवारका सदस्यले नागरिकता र अंश समेत नदिएका कारण अपहेलना सहँदै आएकी अपांग नेत्रकुमारीको अवस्था थाहा पाएपछि प्रजिअ ढकालले जनप्रतिनिधी र परिवारका सदस्यलाई झिकाएरै नागरिकता दिलाएका छन । ‘एउटा बिद्यवा महिलाले अहिले सम्म परिवारको अपहेलनामा नागरिकता नपाएको देखेपछि परिवारका सदस्यलाई झिकाएरै नागरिकता दिएको हुँ’ प्रजिअ ढकालले भने ‘आफैले जन्मदिएकी छोरीले ‘चिन्दिन’ भन्ने अवस्था देखेपछि मैले नागरिकता दिलाउने अठोट लिएको हुँ’

२०१९ सालमा साविकको थापाठाना गाविस हाल पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा जन्मिएकी नेत्रकुमारी कुँवर २०४६ सालमा फलेवास नगरपालिकाका कै साविकको मुडिकुवा गाविस हाल फलेवास ४ का छविलाल कुँवर सँग दोश्रो श्रीमतीको रुपमा विवाह गरेकी थिइन् । उनका श्रीमान् छविलाल कुँवरले जेठी श्रीमती चन्द्रकली कुँवरबाट जायजन्म नभएपछि नेत्रकुमारीलाई दोश्रो श्रीमतीको रुपमा विवाह गरेका थिए । विवाह पछि २०५३ सालमा उनकै कोखबाट सुस्मितालाई जन्म दिएकी थिएन ।

उनका घर परिवारले सुस्मिताको जन्म भएपछि २० दिन नपुग्दै कुटपिट र गाली गलौज गरेर घर निकाला गरेका थिए । घर निकाला गरेपछि उनी माइतीघरमा बस्दै आएको र जन्म दिएकी छोरीलाई लिन जाँदा घरपरिवारले समेत बच्चालाई लुकाएका थिए । जन्मेपछि आमालाई चिन्नै नपाएकी सुस्मिताले नागरिकता दिलाउने क्रममा चिन्दिन भनेकी थिइन।

छविलालकी जेठी श्रीमतीले नै सुस्मिताको पालन पोषण गर्दै आएकी सुस्मिता र नेत्रकुमारीकी सौताले नै बिहीबार सनाखत गरिदिएका छन । फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले समेत नागरिकता दिनका लागि सनाखत दिएपछि २९ बर्षपछि नेत्रकुमारीले अधिकार पाएकी छन । प्रजिअ ढकालकै उपस्थितिमा नेत्रकुमारीलाई अंश दिने, उनका श्रीमान छबिलालका मृत्युका क्रममा भएको खर्च बेर्होने लगायतका कुरामा समेत परिवारका सदस्यका बिचमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्