डोटीका सयौँ गैरसरकारी संस्थाको दर्ता खारेज



विमल बिष्ट, डोटी ।
जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा दर्ता भएका सयौ गैरसरकारी संस्थाको दर्ता खारेजी गरेको छ । लगातार तिन वर्ष देखि नविकरण नभएका ३ सय ६३ गैरसरकारी संस्थाहरुलाई संस्था दर्ता ऐन २०३४ अन्तर्गत संस्था दर्ता खारेजी गरेको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनु भयो ।

‘संस्था दर्ता ऐन अन्र्तगत २०४४ साल देखी दर्ता भई २०७२ साल अर्थात बिगत ३ वर्ष देखी यता नविकरण नगरेका संस्थाहरुलाई हामीले ३५ दिने सुचना प्रकासन गर्दापनि नविकरण गर्न नआएकाले हामीले दर्ता खारेज गरेका हौं,उहाँले भन्नु भयो ‘नविकरण नगर्ने संस्थालाई किन राख्ने भनेर दर्ता नै खारेज गरेका हौ ।’

जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार डोटीमा २०४४ साल यता देखी ६ सय १० वटा संघ संस्था दर्ता भएका छन् । ३ सय ६३ सस्थाको दर्ता खारेजी भएपछि अहिले जिल्लामा १ सय ८७ मात्र गैरसरकारी संस्था बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सुबेदीले जानकारी दिनु भयो ।

जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार दर्ता खारेज हुने संस्थाहरुमा साबिकको जिल्ला विकास समिति अन्र्तगत सञ्चालीत उपभोक्ता समिति, मठ मन्दिर निमार्ण समिति, जल उपभोक्ता समिति रहेका छन् ।

नियमीत रुपमा संस्थाले परिपालन गर्नुपर्ने नियमहरु पालना गर्न नसक्दा संस्थाहरु दर्ता खारेमा परेको जिल्ला प्रशासन कार्यालय डोटीको दाबी छ । डोटी जिल्लामा संस्था नविकरण नगर्ने गैरसरकारी संस्थाहरुको पटक, पटक गरी ४ सय २३ संस्थाको दर्ता खारेजी भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्