बैंकमा लाइन बस्दै गर्दा जन्माइएका ‘खजान्जी’ पारिवारिक विवादमा



नयाँदिल्ली, (एजेन्सी)
उनको जन्म तहल्का मच्चाउँदै भएको थियो। उनलाई उनकी आमाले बैंकको लाइनमा उभिने क्रममै जन्म दिँदा सो घटना विश्वकै समाचार बनेको थियो। तर अहिले आएर दुई वर्षीय खजान्ची नाथ उनको व्यक्तित्व र लोकप्रियताका कारण उनकै दुई परिवार र दुईवटा गाउँबीचको भिडन्त र तनावको प्रमुख विषय बनेका छन्।

बीबीसीका पत्रकार गीता पाण्डेले उत्तरी भारतको कानपुरको ग्रामीण क्षेत्रमा गएर यस बालकको बारे समाचार संकलन गरेकी छिन्। भारत सरकारले रातारात १ हजार र ५ सयका नोटमाथि प्रतिबन्ध लगाएको केही समयपछि सन् २०१६ को २ डिसेम्बरमा उत्तर प्रदेश राज्यमा खजान्चीको जन्म भएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रत्यासित रूपमा गरेको त्यो निर्णयपछि हप्तौंसम्म कराडौं भारतीय नागरिक आफ्ना १ हजार र ५ सयका नोट साट्नका लागि बैंकहरूमा लाइनमा उभिएका थिए। त्यतिबेला गर्भवती सर्वेसा देवी पनि सरदारपुर गाउँको आफ्नो घरदेखि हिंडेरै झिन्झाक शहरको बैंकमा लाइन बस्न पुगेकी थिइन्। उनको साथमा सासू शशीदेवी र उनकी दस वर्षीया छोरी प्रीति थिए।

अचानक लाइनमा उभिँदाउभिँदै प्रशव वेदना शुरू भएपछि सयौं मानिसको माझ उनले खजान्चीलाई जन्म दिएकी थिइन्। एकाएक चर्चाको शिखरमा पुगेका खजान्चीको तस्वीर भारतको सत्तारुढ भारतीय जनता पार्टी विरुद्धको विधानसभा चुनावको चुनावी प्रचारप्रसार अभियानमा पोस्टरमा छापिएको थियो। उनी जन्मेको चार महिनापछि उनका पिताको क्षयरोगका कारण मृत्यु भएको थियो। अहिले सासू ससुराहरूसंगको विवादका कारण सर्वेसा देवी आफ्नो माइती गाउँ अनन्तपुर धौकालमा गएर बसेकी छिन्। बैंकमा लाइनमा उभिँदै गर्दा बच्चा जन्माउनुपरेकाले क्षतिपुर्तिस्वरूप सर्वेसा देवीलाई सरकारले २ लाख भारु प्रदान गरेको थियो। तर त्यो घटनापछि पहिला आफूलाई निकै माया गर्ने सासू शशीदेवीले सो रकमको आधा हिस्सा माग्दै दिनहँु उनलाई धम्काउने र कुटपिट गर्न थालेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्