बंगलादेश राजनिति, हसिना सरकारलाई पाकिस्तानको चुनावमा हस्तक्षेप गरेको आरोप



ढाका (एजेन्सी)
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारले ढाका स्थित पाकिस्तानी उच्चआयोगमाथि ३० डिसेम्बरमा हुन गइरहेको चुनाव प्रक्रिया र देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ।

ढाका स्थित उच्च आयोगका प्रमुख शाह फैसल काकड र त्यसको रक्षा सलाहकार विग्रेडियर कामरान नजिर मलिकले विगतका केही हप्ता देखिनै विपक्षी दल बीएनपीका ३ नेतासँग भेटेपछि उक्त हस्तक्षेपका बारेमा थाहा पाएको एक सरकारी सुत्रले जनाएको छ।

यसबीच बीएनपीका वरिष्ठ नेता अब्दुल अवल मिन्टुले ती भेटघात पार्टीको अनुमति नलिइकन भएको बताए। उक्त राजनितिक भेटघात गर्ने नेताहरूमा बीएनपीका स्थायी समितिका सदस्य मिर्जा अब्बास, खान्डकर मुसर्रफ हुसैन र पुर्व मन्त्री बेरिस्टर अमिनुल हक भएको बताइएको छ। हसिना सरकारले उक्त आरोपका कारण यसै बर्ष पाकिस्तानका नयाँ उच्च आयुक्तको पद सम्हाल्न रोक लगाएको थियो। पाकिस्तानको उक्त कुटनितिक नियोगको प्रयोग बंगलादेश र भारतमा आईएसआईको गतिविधि बढाउनमा गरिरहेको हसिना सरकारले आरोप लगाएको थियो।

पाकिस्तान सरकारले ढाकामा नयाँ उच्चायुक्तका लागि सबलैन सइदाको नाम पेश गरेको थियो, तर त्यसलाई हसिना सरकारले अस्विकार गरेको थियो।

पाकिस्तानले बंगलादेश नेसनल पार्टी (बीएनपी) र उसको कट्टरपनथी सहयोगी जमात–ए–इस्लामीलाई १९७०को दशक देखि नै सहयोग गर्दै आइरहेको छ। बंगलादेशी पुर्व प्रधानमन्त्री बीएनपी नेता खालिदा जियामाथि चुनावका लागि आईएसआईबाट पैसा लिएको आरोप लागिसकेको छ। बीएनपी सधैँ भारत विरोधी र आफनो स्थापनाको समय देखि नै अवामी लिगको कट्टर आलोचक रहेको एक विज्ञले बताए।

बीएनपीले चुनावका लागि कमाल हुसैनको ओइक्या फ्रन्टसँग गठबन्धन गरेको छ। खालिदाको अनुपस्थितिले चुनावमा पार्टीको सम्भावनामाथि गहिरो असर पर्ने र सरकारलाई दबाव दिन आन्दोलन गर्न कठिन हुने उनीहरूले अनुमान गरेका छन्। भ्रष्टाचारको आरोपमा जेल सजायँ काटिरहेकी खालिदा जियाको अनुपस्थितिमा बीएनपी एकजुट देखिएपनि आन्तरिक कलहका कारण सांगठनिक शक्ति कमजोर रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्