फालिएको शिशु चिकित्सक बन्यो




पतञ्जलि–१२ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

प्राचीन समयमा मगधको राजधानी राजगृह÷राजगिरि थियो । त्यहाँका राजा थिए, बिम्बिसार । उनको दरबारमा जनपद कल्याणी कुमारी शालवती नाउँ भएकी नत्र्तकी थिइन् । यिनलाई राजाले दरबारको प्रधान गणिका बनाएका थिए। शालवती हेर्दा अत्यन्तै राम्री जीउडाल मिलेकी नृत्याङ्गना थिइन् । नृत्यका सँगसँगै वाद्यवादनमा पनि यिनी साह्रै निपुण थिइन् । जनपदकल्याणी शालवती भनेपछि राजा रजौटा र सामन्तहरू उनको हावभाव कटाक्षपूर्ण नृत्य तथा सुरिलो स्वरका साथ प्रस्तुत हुने वाद्यवादनको आनन्द प्राप्त गर्न हुरुक्कै हुने गर्दथे ।

समय बित्दै थियो । एकपल्ट शालवती अकस्मात् गर्भवती भइन् । जीउ गह्रुङ्गिदै गयो । उनी अब दरबारमा नाच्ने, गाउने र आफूभन्दा हुरुक्कै हुने दर्शकहरूलाई मनोरञ्जन दिने स्थितिमा रहिनन् । पछि–पछि त उनलाई आफ्ना परिचित ग्राहकहरूका सामु बाहिर मुख देखाउन पनि शंकोच हुन थाल्यो ।

अब शालवती आफूलाई सन्चो नभएको निहुँ पारेर घरमै बस्न थालिन् । बाहिरिया र दरबारियाहरूसँग उनको भेटघाट बन्द भयो । हलुङ्गिने समय भएपछि उनलाई एउटा छोरा जन्म्यो । नवजात शिशुको जति माया लागे पनि लोकलाज र समाजको भयले गर्दा उसलाई आफूसँग राख्न सक्दैनथिन् । ‘यो बच्चालाई आजै राति तीन प्रहर बितेपछि कसैले थाहा नपाउने गरी अलि परै राजदरबारको चौबाटोमा लगेर मिल्काएर आउनू’ भनेर उनले सुत्केरी गराउने दासीलाई अराइन् । दासीले पनि उनको आज्ञाअनुसार नवजात शिशुलाई राजदरबारको मुख्य चौबाटोमा लगेर एउटा कुनामा राखेर आई ।

अर्को दिन उज्यालो भयो । दरबारबाट राजकुमार बिहानीपखको भ्रमणमा त्यसै बाटो निस्केका थिए । उनले घुम्दै जाँदा बाटोमा मिल्केको त्यही शिशुलाई देखे । उनमा दया जाग्यो त्यस भ्रूणप्रति । अनुचरलाई भनेर त्यसलाई उठाउन लगाए । दरबारमा लगे । त्यो शिशु त्यहीँ पालित पोषित भयो । युवराज कुमारद्वारा पालित तथा आश्रित हुनाले त्यसको नाउँ कुमारभृत्य भयो । गणिकापुत्र कुमारभृत्य दरबारी संस्कारमा हुर्के बढेर जान्ने भएपछि अध्ययनार्थ तक्षशिला पुगे । तिनताक तक्षशिला विश्वविद्यालयमा पुनर्वसु आत्रेयले आयुर्वेदको अध्यापन गर्दथे ।

पुनर्वसु आत्रेयका शिष्यहरूमा राजगृहका यी गणिकापुत्र अत्यन्त प्रखर बुद्धिका थिए । यिनले चिकित्सा गर्दा असाध्य ठानिएका रोगी पनि केही दिनमै स्वास्थ्यलाभ गर्दथे । रोगले ग्रस्त भएर बाँच्ने आशा मारिसकेकालाई पनि जीवन दिन सक्ने हुनाले सबैले यिनलाई जीवक भन्न थाले । जीवक बौद्धधर्मका अनुयायी थिए । यिनले पनि तक्षशिला विश्वविद्यालयमा सात वर्षसम्म आयुर्वेदको प्राध्यापन गरे।
क्रमशः

प्रतिक्रिया दिनुहोस्