संघर्षले खारिँदै सुरेश



रश्मी थापा
टेलिभिजन गायन रियालिटी शो नेपाली तारा सिजन ३ का सेकेन्ड रनर्सअप सुरेश लामा अहिले नेपाली फिल्मको पाश्र्व गायन तथा अन्य विधाका गीत गायनमा आशालाग्दो प्रतिभाका रूपमा अगाडि बढिरहेका छन्। नेपाली ताराअघि चितवनको स्थानीय टेलिभिजनले आयोजना गरेको चितवन आइडलमा दोस्रो स्थान हासिल गरेका उनले फिल्म जोनी जेन्टल म्यानमा समावेश जब जब तिम्रो साथ बोलको गीत गाएपछि पछाडि फर्केर हेर्नुपरेको छैन। हाल उनी स्टेज तथा विभिन्न गीत संगीतका कार्यक्रममा व्यस्त हुने गरेका छन्। कामको हिसाबले उनको हात खाली छैन तर यस सफलताको पछाडि उनको संघर्षको लामो कहानी लुकेको छ।

सानैदेखि संगीतमा रुचि भएका सुरश संगीतको औपचारिक ज्ञानबिना नै राम्रो गीत गाउनेमा चिनिन्थे। गाउँमा हुने जात्रा मेलाहरूमा गीत गाएर हिँड्ने भएकाले उनलाई गाउँमा जात्रे गायक पनि भनिन्थ्यो रे। ‘त्यतिबेला सीडीमा विभिन्न गीतका ट्रयाक पाइन्थ्यो। सीडी पसलमा गएर ट्रयाक लिएर गीत गाइन्थ्यो। मलाई गीत गाउन असाध्यै मनपर्ने र गीत संगीतमा विशेष लगाव भएकाले स्कुलमा हुने हरेक गायन प्रतियोगितामा पहिलो हुन्थें’, सुरेश सुनाउँदै थिए– ‘सानैदेखि जे गर्दा पनि गीत मात्र गाइरहने बानी थियो। जतिबेला पनि गीत गाइरहने भएकाले एकपटक मानिसले मलाई मेन्टल प्रब्लम नै हो कि क्या हो? जतिबेला पनि गीत गाइरहन त नपर्ने समेत भने।’

उनी पूर्वस्मृतिमा थिए ‘गाउँको एकजना दाइले गीतार बजाउनुहुन्थ्यो। उहाँले बजाएको सुन्नेबित्तिकै उहाँको नजिक गएर हेरिरहन्थें र उहाँ खाना खान जानेबेलामा मलाई गीतार दिएर जानुहुन्थ्यो। म उहाँले जस्तै गरी बजाउन कोसिस गर्थें तर म जान्ने हुन्छु भनेर त्यो दाइले कहिल्यै मलाई सिकाउनुभएन। गाउँको मन्दिरमा गाँजा खाने अलि ठूलो दाइहरू आउनुहुन्थ्यो। म पनि उहाँहरूको छेउमा गएर बस्थें। म गाँजा त खान्नथें, तर गीतार सिकाइदिन्छन् भनेर पछि लागिरहन्थें। तीनैमध्येका दाइले मलाई राम्रोसँग गीतार सिकाइदिनुभयो। त्योबेला गीतार बजाउनु नै ठूलो कुरा थियो।’

११ कक्षामा पढ्दा चितवन आइडल नामक रियालिटी शोमा भाग लिन पुगेका सुरेश प्रतियोगितामा दोस्रो भएपछि फाट्टफुट्ट मानिसहरूले चिन्न थाले। ‘घरको आर्थिक अवस्था निकै कमजोर थियो त्यसैले म बिहान कलेज जान्थें र दिउँसो घरहरूमा रंग लाउने काम गर्थें। यसका साथै गीत संगीतमा साधना पनि गररिहन्थें। त्यही क्रममा नेपाली तारा सिजन ३ मा भाग लिन पुगें। चितवनमा अडिसन भयो।

दरबारमार्गको रेस्टुरेन्टमा गीत गाएर काठमाडौंमा खान, बस्न र घरभाडा तिर्नसम्म सक्ने भएँ। तर त्यो ठाउँमा राम्रा मान्छे नआउने र लाउड साउण्डमा ४÷५ घण्टासम्म गाइरहनुपर्ने भएकाले रेस्टुरेन्टमा गाउन सोचेजस्तो सजिलो थिएन। पैसाकै पछाडि दौडँदा स्वरमा खराबी आइसकेको थियो। स्वर बचाउन रेस्टुरेन्टमा गाउन छोडेपछि अब के गर्ने होला भनेर भांैतारिएर हिँडिरहेको थिएँ।

रामकृष्ण ढकाल दाइ जज हुनुहुन्थ्यो। पहिला चितवन आइडलको फाइनलमा रामकृष्ण दाइ र अर्जनु पोखरेल दाइ आउनुभएको थियो। उहाँहरूले मेरो गीत सुनेर तारिफ गर्नुभएको थियो’, सुरेशले अगाडि सुनाए– ‘त्यही कारण रामकृष्ण दाइले मलाई नेपाली ताराको अडिसनमा चिनिहाल्नुभयो र राम्रो गाउँछ भनेर सेलेक्ट गर्नुभयो। चितवन अँइडलकै बेला संगीतकार अर्जुन पोखरेल दाइले भाइ तिमीलाई म फिल्मको गीत गाउन दिन्छु भन्नुभएको थियो।’

२०५२ सालमा चितवनको खैरेनी नगरपालिकामा जन्मेका सुरेश जब नेपाली ताराको अडिसनमा छानिएर काठमाडांै आए त्यहींबाट उनको नयाँ चरणको संगीतिक संघर्ष शुरू भयो। नेपाली तारामा सेकेन्ड रनर्सअप भए पनि उनको समस्या भने ज्युँका त्यँु थियो। ‘नेपाली तारा सकिएपछि काठमाडौंमा बसेर आफ्नो गायन यात्रालाई अघि बढाउने निणर्य गरें। म १८ वर्षको केटा, त्यसमाथि नेपाली तारामा थर्ड भएको, त्यति स्कोप पनि थिएन। मान्छेले अलि अलि मात्र चिन्थे। काठमाडौंमा बसेर संगीतलाई अघि बढाउने निर्णय त गरें, तर यो मेरा लागि निकै कठिन थियो।

परिवारको अवस्था पनि कमजोर थियो। त्यसैले मनले दिने धनले नसक्ने स्थिति थियो मेरो परिवारको। त्यस कारण सबै आफैंले गर्नपथ्र्यो’, सुरेशले फेरि सुनाए– ‘म दरबारमार्गको ४÷५ वटा गजल रेस्टुरेन्टमा गीत गाउन थालें। त्यसबाट काठमाडौंमा खान, बस्न र घरभाडा तिर्नसम्म सक्ने भएँ। घरमा पनि पैसा पठाउने गर्थें। राति ७ बजेदेखि ११÷१२ बजेसम्म गाउनुपर्ने, त्यो ठाउँमा राम्रा मान्छे पनि नआउने र लाउड साउण्डमा ४÷५ घण्टासम्म गाइरहनुपर्ने भएकाले रेस्टुरेन्टमा गीत गाउन सोचेजस्तो सजिलो थिएन। रेस्टुरेन्टमा गाउँदा मेरो भ्वाइस एकदमै बिग्रेको थियो।

पैसाकै पछाडि दौडँदा स्वरमा खराबी आइसकेको थियो। स्वर बचाउनका लागि मैले रेस्टुरेन्टमा गाउन छोडें।’ उनको संघर्षको कथा लामै थियो– ‘रेस्टुरेन्टको काम छोडेपछि म काठमाडौंमा अब के गर्ने होला भनेर भौतारिएर हिँडिरहेको थिए। एक दिन पुतलीसडकमा हिँडिरहेको बेला गायक तथा संगीतकार अर्जुन पोखरेल दाइले देख्नुभयो। त्यसपछिका दिनहरूमा मलाई उहाँले धेरै हेल्प गर्नुभयो। म गीत गाउन पाइन्छ कि भनेर स्टुडियोहरू धाउथें र संगीतकारहरू भेट्थें। धेरैले मलाई कोरस गाउनका लागि भए पनि बोलाउनुहुन्थ्यो। मैले धेरै गीतमा कोरस गाए भने डमी गीतहरू पनि गाएँ। त्यसबाट केही कमाइ हुन्थ्यो। डमी गाउँदा गाउँदा शम्भुजित बास्कोटा सरले गीतै गाउन लगाउनुभयो। उहाँले पनि मलाई निकै सपोर्ट गर्नुभएको छ।’

संगीतकार अर्जुन पोखरेलबाट पहिलोपटक फिल्मका लागि गाउने अवसर पाएका सुरेशले आफू नयाँ भएकै कारण अगाडि आइसकेको कामबाट समेत वञ्चित हुनुपर्यो। ‘प्रेम गीतका लागि गीत गाउने पक्का भएको थियो। गाइयो पनि तर अरूले खोसिदियो। अर्जनु दाइले मलाई गाउन दिनुभएको थियो तर मिक्सिङ भएको थिएन। फिल्मका प्रोड्युसरले नयाँ गायकको गीत राख्न मानेनन् र अर्को गायकलाई गाउन दिइयो। मानिसहरू बलेको आगो मात्र ताप्छन् भन्ने भनाइ मैले त्यहाँबाट आफ्नो जीवनमा महसुस गरें तर हार खाएको थिईन’ –सुरेशले सुनाए।

यहीबीच एउटा एल्बमका लागि सुरेशले संगीतकार अर्जुन पोखरेलको संगीतमा जब जब तिम्रो साथ बोलको गीत रेकर्ड गराएर भिडियो पनि बनाए। तर उनलाई त्यो भिडियो चित्त बुझेन। ‘त्यो गीत नायक पल शाह दाइलाई मन परेछ। उहाँमार्फत फिल्म जोनी जेन्टलम्यानमा राखियो। पहिले सोलोसँग थियो। पछि अञ्जु पन्त र मेरो भोकलमा रेकर्ड गरेर फिल्ममा राखेपछि यो गीत हिट भयो। त्यसपछि सुरेश लामा अलि धेरै मानिसबीच उदायो। अर्जुन पोखरेल पनि आफ्नो कम्पोजिसनले राम्रँे स्थान पाएकामा खुसी हुनुभयो। यो गीतबाट मैले प्लेब्याक सिंगरका लागि राप्ती अवार्ड पनि पाएँ’ –सुरेशले दंग पर्दै भने। लभ यु सो मच, तिम्लाई जति माया, यो मायामा, कस्तो भाग्य, म हारेको दिन, जुनी जुनीलगायत ६० को हाराहारीमा गीत गाएका सुरेशले संगीतकारहरू अर्जुन पोखरेल, दीपक शर्मा, शंकर थापा, दीपक सिलवालको संगीतमा स्वर भरेका छन्। उनले फिल्म जोनी जेन्टल म्यानको जब जब तिम्रो साथ, लम्फुको सँगै जिउने सँगै मर्ने, ड्रिम गर्लको तिम्रो मायामा हराउने, बाँध मायालेको आउने जाने बोलका गीत गाएका छन्।

संगीतकारहरू चण्डिप्रसाद काफ्ले, मनोजराज सिवाकोटी तथा मनमोहन थपलियालगायतबाट संगीतको ज्ञान हासिल गरेका सुरेश म हासेको हुन्छु बोलको गीतबाट इमेज अवार्डमा नवप्रतिभा अवार्ड पाउन सफल भएका छन्।

रेडियो नेपालबाट भ्वाइस टेस्टमा काठमाडौंबाट पहिलो र देशभरबाट दोस्रो भएका सुरेश हाल स्टेज कार्यक्रममै व्यस्त छन्। ‘गीत गाउनकै लागि हङकङ २ चोटि गएँ, अब मलेसिया र युकेमा जाने तयारी गर्दै छु। सबैभन्दा ठू्लो कुरा सन्तुष्टि पाएको छु। उद्देश्यको ढोका खुलेको महसुस गरेको छु र संगीतको नयाँ जेनरेसनमा च्यालेन्ज ल्याउँछु जस्तो लाग्छ। सोचाइ ठूलो नै छ। यसका लागि त्यहीअनुसारको मेहनत पनि गरिरहेको छु। मेरो संगीतमा बिताएको ४, ५ वर्ष निकै संघर्षमय रयो तर अहिले आफ्नो संघर्षले पाउँदै गरेको सफलतादेखि खुसी छुु’, सुरेश भन्छन्– ‘अहिले मेरो आमाबुबालाई गायकको आमाबुबा भनेर गाउँमा सम्मान गर्छन्। छोराले राम्रो काम गर्यो भनेर उहाँहरू पनि खुसी हुनुहुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्