टिभीको भरमा बालसुधार गृह !



हेटौंडा,(नेस) ।
बालसुधार गृह व्यबस्थित हुनका लागि पूर्वाधारदेखि आवश्यक कर्मचारी चाहिन्छन् । तर, हेटौंडामा भने गृह व्यबस्थित नहुँदा बालकहरु भाग्ने गरेका छन् ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत् हेटौंडा–११ मा सञ्चालन भइरहेको बालसुधार गृह मकवानपुरबाट राति झ्यालका रड बङ्ग्याएर भागेका दुई बालकमध्ये एक जना भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

चोरी मुद्धामा बालसुधार गृह हेटौंडामा रहेको अबस्थामा फरार भएका काठमाडौं कीर्तिपुर बस्ने सर्लाही लालबन्दीका १६ वर्षीय बिनोद मगरलाई कीर्तिपुर नगरपालिका–९, नस्गाउँबाट महानगरीय प्रहरी बृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

कार्तिक २५ गते राति तीन बालक बालसुधार केन्द्रबाट भागेका थिए । प्रहरीका अनुसार दुई बालक चोरी काण्डमा परी काठमाडौं जिल्ला प्रहरीले पठाएको थियो भने अर्का बालक बलात्कार मुद्धाबाट ताप्लेजुङ जिल्ला प्रहरीले पठाएको थियो ।

तीसमध्ये काठमाडौंबाट आएका बालक फरार छन् । यस घटनाले दुई प्रहरी कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बुद्धि गुरुङले बताउनुभयो । बालसुधार गृह व्यबस्थित नभएकै कारण यस्ता घटना घटेको हुनसक्ने प्रउ गुरुङले बताउनुभयो ।

भदौबाट गृह सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिम्मा लिएको छ । बालसुधार गृहमा शिक्षक, मानोपरामर्श शिक्षक, सामाजिक परिचालक, गेम लिडरलगायत व्यबस्था गर्नुपर्ने हुन्छ । तर, मकवानपुरमा भने टिभीमात्रको भरमा बालकहरुलाई राख्ने गरेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुधारगृह व्यबस्थापन अध्यक्ष छन् । प्रजिअ अस्मान तामाङका अनुसार दरबन्दीअनुसार कर्मचारी नहँुदा समस्या भएको छ । हाल दुई जना कर्मचारीले गृह सञ्चालन गरिरहेको तामाङले बताउनुभयो ।

हाल उक्त गृहमा कम्पाउण्ड निर्माणाधीन छ । गृहमा पूर्वाधारदेखि कर्मचारी व्यबस्थापन हुने गरी छिटै तयार हुने तामाङले दाबी गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रउ गुरुङका अनुसार हाल उक्त गृहमा २९ जना बालक छन् । जसमा मकवानपुरका एक जनामात्र रहेको उहाँले बताउनुभयो । ६ सुरक्षाकर्मी उनीहरुलाई सुरक्षामा खटिएका छन् ।

चितवनको भरतपुरमा प्रदेश–३ को बालसुधार तथा पुनस्र्थापना गृह बन्ने भएको छ । चितवनको भरतपुरस्थित सिंचाईं कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गामा बालसुधार गृह निर्माणका प्रक्रिया शुरु भएको हो । गृह मन्त्रालयको निर्देशनअनुसार उक्त स्थान तय गरी जिल्लाबाट निर्णय गरेर केन्द्रमा पठाइसकिएको छ ।

कुनै पनि अपराधमा संलग्न भएर दोषी ठहर भएका १६ देखि १८ वर्षका बालबालिकालाई कारागारमा नराखी उक्त सुधारगृहमा राखिने छ । नेपालमा ३ सय भन्दा बढी बालबालिका अपराधमा संलग्न रहेकोमा प्रदेश–३ मा १ सय जति बालबालिका रहेको अनुमान छ । हरेक प्रदेशमा एउटा सुधारगृह बनाउने योजना सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्