मह सञ्चार र शिवम्बीच फेरि सहकार्य



निर्माणाधीन फिल्म दाल भात तरकारीको निर्माण संस्था मह सञ्चार र सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडबीच फिल्मको आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धताका साथ सम्झौता भएको छ।

हस्ताक्षर कार्यक्रममा मह सञ्चारका तर्फबाट मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, सूदन केसी, मोहितवंश आचार्य तथा शिवम् सिमेन्टका तर्फबाट सेल्स एन्ड मार्केटिङका उपाध्यक्ष सजन देवकोटाका साथमा फिल्मका कलाकारहरू सहभागी थिए। शत्रु गतेको सफलतापछि मह सञ्चारले निर्माण गरिरहेको दाल भात तरकारी आगामी नयाँ वर्षको वैशाखमा रिलिज हुनेछ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियंका कार्की, आँचल शर्मा, वर्षा राउत, वसुन्धरा भुसाल, विल्सनविक्रिम राई, रविन तामाङ, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म सूदन केसीको डेब्यु निर्देशनमा बनिरहेको छ।

पछिल्लो समयमा नेपाली फिल्म क्षेत्रलाई आर्थिकरूपमा सबल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्रान्डसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ। सोही क्रमको निरन्तरता स्वरूप मोनोरञ्जनको मामलामा नो कम्प्रोमाइज भन्दै शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो फिल्म शत्रु गतेमा सहकार्य गरेको थियो भने दाल भात तरकारीमा यसलाई निरन्तरता दिएको जनाएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा मह सञ्चारका तर्फबाट किरण केसीले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्रान्डको सहकार्यले चलचित्र निर्माण एवं प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राडलाई समेत सहकार्य गर्न हौसला मिल्ने चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्