मे विरुद्धका अविश्वासको प्रस्ताव असफल



लन्डन (एजेन्सी)
बेलायतकी प्रधानमन्त्री टेरिजा मेले कन्जर्भेटिव पार्टीका नेताका रुपमा विश्वासको मत हासिल गर्न सफल भएकी छिन् ।

बुधबार भएको मतदानमा टेरिजा मेको पक्षमा २ सय मत र विपक्षमा १ सय १७ मत परे । यसको अर्थ पार्टी भित्र आगामी एक बर्षसम्मका लागि टेरिजा मेको नेतृत्वलाई चुनौती दिन सक्दैन ।

यदी सांसदहरुले नेतृत्व परिवर्तनको फैसला लिएको भए मे पद छोड्न बाध्य हुनु पथ्र्यो । मेको बेग्जिट नीतिलाई लिएर असन्तुष्ट उनका पार्टी कै ४८ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए । ती सांसदहरुले सन् २०१६ मा भएको जनमत संग्रहको पक्षमा मतदान गर्ने नागरिकहरुको अपेक्षामा टेरिजा मे खरो उत्रन नसकेको आरोप लगाएका थिए ।

विगत केही समयदेखि ब्रेक्जिट योजनामा उनकै पार्टी भित्र नै उनको आलोचना भइरहको छ । बेलायतमा ब्रक्जिट मुद्दामा सन् २०१६ जुन २३ मा जनमत संग्रह भएको थियो ।

सन् २०१७ मार्च २९ मा प्रधानमन्त्री बनेपछि टेरिजा मेले ब्रेक्जिटको प्रक्रिया सुरु गरेकी थिइन् । युरोपेली संघको कानुन अनुसार बेलायतले ठीक दुई बर्षपछि सन् २०१९ मार्च २९ मा युरोपेली संघबाट अगल भइसक्नु पर्नेछ ।
यदि युरोपेली संघको सबै २८ सदस्य सहमत हुन्छ भने यो तिथि पछाडी सार्न सकिनेछ । तर अहिलेसम्म सबै पक्षले सन् २०१९ लाई नै बेलायत युरोपेली संघबाट अलग हुनु पर्नेमा जोड दिइरहेका छन् ।

सम्भवत अब मेले युरोपेली संसदबाट अनुमोदन गरिसकेको ब्रक्जिट सहमतिको मस्यौदालाई बेलायती संसदमा पारीत गराउन प्रस्तुत गर्नेछिन् । उक्त सम्झौता मस्यौदा ल्याउने तयारी भइरहेकै बेला त्यसप्रति असहमत रहेका सांसदहरुले उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् । उक्त मस्यौदालाई संसदले स्विकृति दिएपछि मात्रै युरोपेली संघबाट बेलायत अलग्गिने प्रक्रियाको पुर्ण कार्यान्वयनका लागि युरोपेली संघसँगको लामो छलफल अगाडी बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्