ध्यानमग्न भिक्षु चितुवा आक्रमणमा मारिए



नयाँदिल्ली,(एजेन्सी)
भारतको महाराष्ट्र राज्यको एउटा जंगलमा ध्यान गरिरहेका एकजना भिक्षु चितुवाको आक्रमणमा मारिएको सरकारी अधिकारीहरुले विहिवार बताएका छन् । राहुल वाके नामक ति भिक्षु बाघका लागि आरक्षित टाडोवा जंगलको एउटा रुखको मुनि बसेर ध्यान गर्दै गर्दा आक्रमणमा परेको अधिकारीहरुले प्रेस ट्रस्ट अफ इन्डिया समाचार निकायलाई जानकारी गराएका छन् ।

वाके सोही जंगल भित्र रहेको एउटा गुम्वामा बस्ने गर्दथे तर ध्यान गर्न उनी गुम्वा भन्दा धेरै टाढा पुगेका थिए । बन अधिकारीहरुले आफुहरुले उनलाई भिक्षुहरुलाई जंगलको धेरै भित्री भागमा प्रवेश नगर्न चेतावनी दिँदै आएको बुझिएको छ ।

बन अधिकारी जिपि नारावानेले विविसि मराठीलाई भनेका छन् , ‘ जंगलको भित्री भागमा नजान म सबैलाई अनुरोध गर्न चाहन्छुँ । अहिले चितुवा समात्नका लागि हामीले दुईवटा खोर र एउटा क्यामरा पासो तयार पारिसकेका छौं । हामी चितुवालाई लठ्याउन प्रयास गर्नेछौं ।

राज्य सरकारका अधिकारीहरुले क्षतिपुर्ति स्वरुप वाकेको परिवारलाई १२ लाख भारतिय रुपिया दिने निर्णय गरेका छन् । बुधवार बिहान ध्यानमा बसेका वाकेलाई खान दिन पुगेका अर्काे भिक्षुले उनीमाथि चितुवाले आक्रमण गरिरहेको देखेका थिए ।

उनले सहयोगका लागि अन्य मानिसहरु लिएर आउँदा सम्म वाकेको मृत्यु भइसकेको थियो । अन्य थुप्रै लोपोन्मुख पशुपन्छ पनि रहेको टाडोवा आरक्षणमा करिव ८८ वटा बाघ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्