एनआरटीको दुर्भाग्य अझै सकिएन



फिरोज राजोपाध्याय, काठमाडौं
नेपालको पुरानो ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) को जारी सहिद स्मारक ए डिभिजन लिगमा दुर्भाग्य अझै सकिएको छैन । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी सरस्वती युथ क्लबसँग १–० गोलअन्तरले हारेको हो । यो टोलीको जारी लिगमा लगातार सातौं हार थियो । सरस्वतीका भिक्टोर एमोबीले ७५औं मिनेटमा गरेको गोल निर्णायक सावित भएपछि एनआरटीले हार स्विकार गर्नुप¥यो । योसँगै सरस्वतीको ८ खेलमा ९ अंक भएको छ भने एनआरटी १ अंकमै अड्किरहेको छ ।

एनआरटीले जारी लिगमा त्रिभुवन आर्मीसँग २–२ बराबरी खेल्दै सानदार शुरुवात गरेको थियो । तर त्यसपछि लगातार हार बेहोर्दै जारी लिगमा सबैभन्दा कमजोर टोली सावित भइरहेको छ । टोलीले विपक्षीलाई ४ गोल प्रहार गर्दा आफनो पक्षमा १७ गोल आत्मसात गरको छ । अझै टोलीले ५ खेल खेल्न बाँकी नै छ ।

एनआरटी करिब ६ वर्षपछि ए डिभिजन लिग खेलिरहेको छ । २०७० को ए डिभिजन लिगमा एनआरटीले आर्थिक पक्ष सबल नभएको भन्दै खेलेको थिएन । यसपछि बी डिभिजन मा घटुवा भएको टोली २०७३ मा पुन ए डिभिजनमा उक्लियो । जारी लिग रेलिगेशन नहुने भएको हुँदा एनआरटीको टोलीलाई राहत मिलेको छ । अन्यथा हालको नतिजाले एनआरटीलाई बी डिभिजनमा पु¥याउन पक्कै थियो ।

एनआरटीले ए डिभिजनको इतिहासमा यसरी खराब प्रदर्शन गरेको यो पहिलो पटक हो । क्लबका अध्यक्ष दीपक हर्ष वज्राचार्यले टोलीको खराब प्रदर्शनले चिन्ता बढेको प्रतिक्रिया दिएका छन् । वज्राचार्यले नेपाल समाचारपत्रलाई बताउनुभयो—हो यो ज्यादै खराब प्रदर्शन भएको छ । हाम्रो खेलाडीको प्रदर्शन पनि त्यति राम्रो भएन ।

रेलिगेसन नहुने लिग भएपनि पुछारमा नरहने वज्राचार्यको भनाइ रहेको छ । उनले बताए—रेलिगेसन नहुने भएकोले हामीलाई राहत दिएको छ । तर हाम्रो अबको लक्ष्ष्य भनेको १२औं स्थानमा रहने । यसले हामीले अंक र रकम गुमाउने संभावनाबाट बच्न सकि न्छ । हामीले अबको ५ खेलमध्ये ३ खेल त जित्नैपर्छ ।

एनआरटीले आगामी नवौ चरणको खेलमा हिमालयन शेर्पासँग खेल्नेछ । बाँकी ४ खेलमा जावलाखेल, फ्रेन्डस्, मच्छिन्द्र र ब्रिगेड ब्वाइजविरुद्ध टोलीले खेल्नेछ । वज्राचार्यले यो प्रदर्शनले ठूलै पाठ सिकाएको पनि बताउनुभयो —यो ठूलो पाठ सिकाएको छ । आगामी वर्ष तयारीका साथ आउनेछौ । हुन त खेलाडीहरुले राम्रो खेलेको पनि हो । आजकै खेलको कुरा गरौ हामी ५०÷५० खेलमा हा¥यौ ।

एनआरटीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानले पनि धोका दिएको बताए । उनले भने—यो मैदान फास्ट छ । यहाँ धेरै फास्ट खेल्नु परेकोले खेलाडीहरु घाइते भएका छन् । हामीसँग २७ खेलाडी छन् । तर वैकल्पिक खेलाडीको कमी भएको छ । त्यस्तै विदेशी खेलाडीले पनि त्यति राम्रो खेल्न सकेनन् । अर्को टुँडिखेलमा पनि अभ्यास गर्न पाइरहेको छैन । अन्य स्थानमा खोजीमा लागेका छौ । बल्ल लेबोरेटरी स्कुलमा अभ्यास गर्न पाएको छ ।

एनआरटीको नतिजा
आर्मीविरुद्ध २–२
मनाङविरुद्ध ०–२
च्यासलविरुद्ध १–५
थ्रीस्टारविरुद्ध ०–१
पुलिसविरुद्ध ०–३
एपीएफविरुद्ध १–२
संकटाविरुद्ध ०–१
सरस्वतीविरुद्ध ०–१

संकटाको जित
जारी ए डिभिजन लिगमा संकटा क्लबको जित निरन्तर भइरहेको छ । हिजो भएको खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई २–० ले हरायो । सेडरिक अबाले मिडफिल्डबाट एक्लै बल गुडाएर दर्शनीय गोल गर्दै संकटालाई ११औं मिनेटमै अग्रता दिलाए । त्यसको तीन मिनेटमा अमित तामाङको क्रसमा दिपेश आलेमगरले क्लोज रेन्जमा गोल गरे । योसँगै संकटाको ८ खेलबाट एक खेल कम खेलेको मनाङ मस्र्याङदी सरह २१ अंक भएको छ । पराजित हिमालयनको ११ अंक रहेको छ ।

यस्तै जावलाखेल युथ क्लबले जारी लिगमा दोस्रो जित हात पारेको छ । टोलीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोलअन्तरले हराएको थियो । एपीएफलाई उसैको हल्चोकस्थित मैदानमा हराउन जावलाखेलका लावलले निर्णायक गोल गरेका थिए । उनले ४९औं मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्