साना दलहरुमा एकताको खाँचो



दिन–प्रतिदिन सरकारको आलोचना बढिरहेको छ । मुलुकमा उदाहरणीय कार्य सरकारले गर्न सकिरहेको छैन । भ्रष्टाचार, महँगी र दण्डहीनताले प्रश्रय पाएको छ । व्यापार घाटा बढेको बढ्यै छ । गाउँ रित्तो पारेर युवावर्ग विदेशिइरहेको छ । उनीहरुले पठाएको रेमिट्यान्सको भरमा देश चलेको छ ।

नेता धनी र जनता गरिब हुँदै गएको आभास भएको छ । यावत् कुराले नागरिकहरुमा निराशा छाएको छ । हुन त हामी सधैँ हिँडिरहेको एउटा बाटो छोडेर यतिखेर अर्को नयाँ बाटोमा हिँडिरहेका छौं । नयाँ बाटोका अवरोधहरु पन्साउँदै हिँड्नु कठिन नै हुन्छ ।

तर पनि गणतन्त्ररुपी यो नयाँ बाटोमा हिँड्ने अगुवा अर्थात् नेतृत्वकर्ताहरुको अकर्मण्यताका कारण नागरिकमा असहजता महसुस भएको छ । त्यसैले नेतृत्वकर्ताहरुले आफ्नो स्वार्थ त्यागेर जनताको चाहना पूरा गर्नेतर्फ अग्रसर हुनै पर्छ । साथै सरकारबाहिर रहेका दलहरुले पनि एक भएर सरकारलाई सही दिशामा हिँडाउनै पर्छ । दुई तिहाइको दम्भ मत्थर पार्न पनि सरकारबाहिर रहेका साना–ठूला सबै दलहरुको एकता अपरिहार्य भएको छ ।

यतिखेर नागरिकका कुरा सुनुवाइ भएको देखिँदैन । ‘काग कराउँदै छ, पिना सुक्दै छ’ भनेजस्तै भइरहेको अवस्था छ । जनताका कुरा सुनेर मुलुकलाई सही मार्गमा डो¥याउन सरकारमा दबाब दिनका लागि पनि सरकारबाहिर रहेका दलहरुमा राजनीतिक एकता हुनु जरुरी छ । प्रमुख प्रतिपक्षीमा रहेको नेपाली कांग्रेस खारिएको पुरानै पार्टी हो । त्यस्तै प्रजातन्त्र पार्टीलगायत पछिल्ला समयमा गठित अन्य साना–ठूला पार्टीहरुसमेत अब एकजुट हुनुपर्ने बेला आएको छ ।

सरकारमा नरहेका पार्टीहरुमा पनि देशभक्त एवम् प्रभावशाली नेताहरुको कमी छैन । त्यसैले छरपस्ट भएका यी सबै शक्ति एकढिक्का हुनु जरुरी छ । यसरी सरकारमा सामेल हुन नसकेका र छरपस्ट भएका पार्टीहरु एक भएर जनमुखी कार्यक्रमका साथ जनताको माझमा प्रस्तुत हुन सके भने उनीहरुलाई जनताले पूर्णरुपमा साथ दिनेछन् । यो आजको आवश्यकता पनि हो ।

महिनौं–वर्षौं न्यायको भिख माग्दा पनि न्याय पाउन नसक्नु लज्जाको विषय बनेको छ । त्यस्तै महँगी, भ्रष्टाचार, बलात्कार र दण्डहीनताले जनता मर्माहत भएका छन् । आफूले पठाएका कतिपय जनप्रतिनिधिहरुको विलासी जीवन देख्दा र आफ्नो निरीहताको तुलना गर्दा जनता खिन्न भएका छन् । त्यसैले समयमै सरकारबाहिर रहेका दलहरु एक भएर बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्नै पर्छ । मुलुकमा सुशासनको अनुभूति गराएर जनताको भत्केको मन टाल्नै पर्छ । नत्र यिनै असन्तुष्टिहरू कुनै बेला सम्भावित राजनीतिक क्रान्तिका बीज बन्न नसक्लान् भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्