संस्कार र संस्कृति कि अतिचार र विकृति ?



इन्द्रकुमार श्रेष्ठ
मानिस सामाजिक प्राणी भएकाले उसका हरेक क्रियाकलापहरू उसको फरक इच्छा र व्यक्तिगत स्वतन्त्रतामा निर्भर हुँदैनन् । राम्रो–नराम्रो, चित्त बुझ्दो–चित्त नबुझ्दो, विश्वास–अन्धविश्वास जे–जस्तो भए पनि संस्कृतिरूपी आचारसंहितालाई उसले पालना गर्नै पर्छ । त्यसो त संस्कृति नै मानिसको पहिचान पनि हो । तर यसो भन्दैमा संस्कृति अपरिवर्तनशीलचाहिँ हुँदैन । कुनै बेला कसैको व्यक्तिगत सोचाइ तथा लहडका आधारमा, जातिगत÷वंशगत फाइदाका दृष्टिकोणले र तात्कालिक आवश्यकतालाई परिपूर्ति गरेर काम चलाउनका लागि बनाइएको नियम नै कालान्तरमा संस्कृति बन्न पुगेको हुँदा, हाम्रा संस्कृतिअन्तर्गतका सबै क्रियाकलापहरू चित्त बुझ्दा र वैज्ञानिक छैनन् ।

 

तीमध्ये कति त अति नै घृणित, लाज मर्दा र मानव जातिकै कलङ्कजस्ता पनि छन् । त्यसैले ती सबैलाई आँखा चिम्लेर पालना गर्नुको कुनै अर्थ छैन र हुँदैन पनि । र, पनि संस्कृति र संस्कारका नाममा यस्ता कुराहरू युगौंयुगसम्म चलिरहँदा रहेछन् । भन्नलाई संस्कार, संस्कृति र आफ्नो इच्छा भने पनि क्रियाकलापहरू भने कुसंस्कार, विकृति र कसैको अदृश्य दबाब तथा करकापमा परेर सञ्चालित भइरहेका हुन्छन् । सामाजिक कानुनका रूपमा जरो गाडेर रहेका सामाजिक संस्कारहरूलाई, समाजका केही व्यक्तिहरूले चाहँदैमा थाहा पाउने गरी परिवर्तन गर्न गराउन सम्भव पनि हुँदैन ।

अन्य धर्म र संस्कारमा जस्तै हाम्रो हिन्दू धर्म र संस्कारमा पनि जन्म, न्वारान, पास्नी, बिहे, मृत्युजस्ता संस्कारलाई सामाजिक मान प्रतिष्ठासँग गाँसी तिनलाई अनिवार्य आवश्यकता मानिएको र तिनलाई पालना गर्नु परम कर्तव्य ठानिएको छ । सभ्य, सम्पन्न र शिक्षित हुँदै गएको यो जमानामा पनि यी (कु) संस्कारहरूप्रति जनमानस चुम्बकिएका छन् र ती झन्–झन् प्रतिस्पर्धात्मक तथा खर्चिलोरूपमा पालना गर्न÷सम्पन्न गर्न थालिएका छन् ।

 

त्यस्ता संस्कारहरू गाउँमा भन्दा शहरमा अझ बढी भड्किला र बोझिला बन्दै गएका छन् । सम्झी ल्याउँदा र हेरी ल्याउँदा हाम्रा यस्ता संस्कारहरू देखावटी, भड्किला र फजुल खर्चले भरिएका हुन्छन् । यिनले व्यक्तिगतरूपमा कसैलाई फाइदा दिने भए पनि कसैको बौद्धिक उन्नति गर्ने र सामाजिकरूपमा बहुसङ्ख्यकको हित गर्ने देखिँदैन । बरु यस्ता संस्कारहरूको शुरुआत नै खास वर्गको हितका लागि चलाइएजस्ता लाग्दछन् । त्यसका निर्देशक र हर्ताकर्ताहरू धर्म र पापको बखान गर्दै अरूका लागि उडुस, उपियाँ र जुम्राजस्ता बन्दै छन् । हाम्रा संस्कारहरू आफ्नो खुशी र हैसियतअनुसार पालना गरिने नभई बलवान् समाजको आदेश, करकाप र ‘धार्मिक ठेकेदारहरू’ को मोलमोलाइका आधारमा चलिरहेका छन् ।

 

नेपालमा मात्र होइन, हिन्दूहरूको वर्चश्व र हिन्दू तीर्थहरू प्रशस्त भएको भारतमा धेरै नेपाली भक्तजनहरू त्यहाँका गुरु, स्वामी, पुरोहित, पण्डाहरूबाट ठगिएका र लुटिएका अनुभवहरू प्रशस्त छन् । कथित स्वामी र गुरुका चर्तिकलाहरूले पनि बेलाबखत तहल्का मच्चाएकै छन् । हजारौं वर्षअघिका त्रिकालदर्शी ऋषिमुनिहरूले बनाएको, वेदमा लेखिएको फराकिलो गतिलो संस्कार भन्दै, त्यो जमानामा कुनै प्रतिभाशाली कविले कल्पना गरेको र आफ्नै जात वर्गविशेषको स्वार्थ र फाइदाका लागि बनाएको कथेको रचनालाई यो युगमा पनि आँखा चिम्लेर स्वीकार्नु वास्तवमा बुझ पचाउनुसिवाय केही पनि होइन
हिन्दू धर्ममा देवताहरू नै असङ्ख्य छन् । प्रत्येक देवी देउता एक से एक शक्तिशाली मानिएका छन् ।

प्रत्येकको महिमा अलग–अलग छ । एउटा न एउटा देउतासँग गाँसिएका हाम्रा धार्मिक कार्यहरू एक से एक फलदायी र पुण्यदायी भनेर व्याख्या गरिएका छन् । धर्मका नाममा बलिप्रथा पनि गाँसिएकै छ । दान दिनै पर्ने अनेकौं धार्मिक दिन, तिथि र पर्वहरू छन् । जति पाप गरे पनि धर्ममा नाममा पुराणादि लगाएर ब्राह्मणहरूलाई टन्न दानदक्षिणा गर्न सके, भोजभतेर लाउन सके, पापबाट उतिखेरै मुक्त भइने रे ! गरिब तथा दीन–दुःखीहरूलाई दया गर्नु निश्चय नै मानवीय धर्म हो । सक्ने, हुने र भ्याउनेले प्रत्येक दिन व्रत बसेर पूजाआजा गरी कथित गुरु पण्डितलाई दानदक्षिणा दिँदा समयको नाश र अज्ञानताजन्य आत्मसन्तुुष्टिबाहेक के प्राप्ति होला र ! सम्झिल्याउँदा, अपवादबाहेक प्रायः धन र फुर्सद भएकाहरूले मात्र त्यस्ता दैनिक तीर्थव्रतका नियमहरू स्वार्थवश, रोजी–छाडी वा छानी–छानी पालना गर्ने गरेका देखिन्छन् । नत्र काम गरेर खानुपर्ने आजको व्यस्त समयमा यो सम्भव नै छैन ।

शास्त्रमा नै ब्राह्मणको मुख्य काम पढ्ने÷पढाउने, यज्ञ गर्ने÷गराउने, दान दिने÷दान लिने उल्लेख गरिए पनि, परिवर्तित सन्दर्भमा गुरु पुरोहितहरूले पालना गर्नुपर्ने आचारसंहिता भने पूरै लचिलो (माछामासु,, जाँडरक्सी, लसुनप्याज खाँदा पनि हुने÷कसैको मृत्यु संस्कारमा ओगटिएर जुठो बोकिरहेका बेला कसैको बिहे प¥यो वा कसैकहाँ रुद्रीपूजा गर्नका लागि बोलावट भइदियो भने त्यता पनि गइदिएर ‘सम्पन्न’ गरिदिने इत्यादि) देखिन्छ भने जजमानले दिनुपर्ने÷पालना गर्नुपर्ने नियममा भने कुुनै छुट नभई शास्त्रमा लेखिएबमोजिमभन्दा पनि झनै नयाँ–नयाँ वस्तु दिनुपर्ने भन्दै ‘आधुनिक परम्परा’ चलाइएको छ । यज्ञ, सप्ताहमा धनीमानीहरूले सकेसम्म दान गर्नुमा आफ्नो इज्जत बढेको ठानिरहेका हुन्छन् भने अरूहरूले पनि यस्ता कुराहरूलाई सकी–नसकी, मन लागी–नलागी भए पनि पालना गर्नै पर्ने हुन्छ । त्यसबारे कसैले प्रश्न उठाए पनि समाधान हुने ठाउँ नरहेपछि, जसले जे ग¥यो त्यही ठीक वा कुरो र कुलो जता लायो त्यतै लाग्छ भन्ने सम्झेर चित्त नबुझाई धरै छैन ।

समाज लोकाचारमा रमाउन मन पराउँछ भने त्यसो हुन दिनुहुँदैन । लोकाचारभित्र रहेको अतिचार, अनाचार र व्यभिचारलाई बिस्तारै हटाउँदै लगियो भने मात्र सुहाउँदो, मौलिक संस्कृति, आचार र संस्कार बाँकी रहन्छ ।

संस्कार भन्ने कुरा अकाट्य नभई समयसापेक्ष पनि हुनुपर्छ । हजारौं वर्षअघि कुनै लेखक–कविले लेखेर निश्चित वर्गको हितका लागि स्वार्थवश बनाइएको नियम, हजारौं वर्षपछि पनि उसरी नै पालना गरिरहनुको कुनै औचित्य छैन । पूरै हटाउने कुरा नगरी, त्यसलाई सुधार गर्नका लागि बेलाबखत समाजबाटै असल व्यक्तिहरू पनि उठेका छन् । तर तिनीहरूको विचारलाई भने कदर गर्न सकिएको छैन । हाम्रै देशको सन्दर्भमा कुरा गर्दा, वि.सं. १९९७ अघि नै सहीद शुक्रराज शास्त्रीको अगुवाइमा गठित ‘आर्य समाज’को मलामी गुठीले मृत्यु संस्कारलाई लिएर तीन दिनमा शुद्ध हुने नियम चलाएको कुरा इतिहासमा पढ्न पाइन्छ ।

प्रख्यात पण्डित वासुदेव भट्टराईले पाँच दशकअघि नै गरुड पुराणलाई वाहियात ठह¥याएर सबैले यसको बहिष्कार गर्नुपर्ने विचार राखेका थिए । मृत्यु संस्कारलाई थोरै दिनमा सीमित गर्नुपर्ने सम्बन्धमा केही प्रकाशनहरूले पुस्तक पनि निकालेका छन् । यसै सन्दर्भमा, विवेक सिर्जनशील प्रकाशनले २०७१ सालमा प्रकाशन गरेको पुस्तक ‘संस्कार’ (अहिले यसको दोस्रो संस्करण पनि प्रकाशित भैसकेको छ) मा संस्कारका नाममा व्याप्त विकृति–विसंगतिलाई सुधार गर्नुपर्ने कुरामा जोड दिइएको छ । ‘संस्कार सुधार समाज नेपाल’ ले २०७३ सालमा ‘पाँचदिने अन्त्यपद्धति’ प्रकाशनमा ल्याएको हो र त्यस पुस्तकमा व्यक्त विचारलाई नेपालका थुप्रै गण्यमान्य व्यक्तिहरूले समेत स्वीकारेका पनि हुन् । तर संस्कार सुधार र परिवर्तनका सम्बन्धमा भए÷गरिएका यी गतिविधिहरू नै पनि अपर्याप्त हुन् । यिनैको पनि पालना हुन नसकेर दयनीय अवस्था सिर्जना भइरहेकोे अवस्थामा, उता संस्कार, कर्मकाण्ड पालना गर्ने÷गराउने सम्बन्धमा भने अनेक थरीका ठूला–साना थुप्रै पुस्तकहरू धमाधम निस्किरहेका छन् ।

हुन त संस्कृति र संस्कार समाज र राष्ट्रको पहिचान हो तर कुनै पनि संस्कारलाई लोकाचार पनि भनिन्छ र ‘लोकाचार’ शब्दको अर्थ ‘आडम्बरले भरिएको कामकुरो’ वा ‘देखौवा ढाँचा’ पनि हो । समाज लोकाचारमा रमाउन मन पराउँछ भने त्यसो हुन दिनुहुँदैन । लोकाचारभित्र रहेको अतिचार, अनाचार र व्यभिचारलाई बिस्तारै हटाउँदै लगियो भने मात्र सुहाउँदो, मौलिक संस्कृति, आचार र संस्कार बाँकी रहन्छ । त्यसैले यस्ता कामको अगुवाइ समाजकै शिक्षक, बुद्धिजीवी, सामाजिक अगुवा र चेतनशील वर्गले नगरी, ‘जनभावनालाई कुठाराघात गर्नुहुँदैन’ भन्दै जस्ताको तस्तै रहन दिने हो भने सामाजिक विकास, न्याय, वर्गीय उत्थान तथा सामाजिक क्रान्ति भएको मान्न सकिँदैन ।

 

प्रतिक्रिया दिनुहोस्