काठमाडौं महानगरको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा सुरु



नेपाल समाचारपत्र, काठमाडौं ।
विद्यमान सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौं महानगरले हिजो बुधबारबाट‘स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८ र स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५‘ कार्यक्रम शुरु गरेको छ । समुदाय तथा वातावरण, सहरी पूर्वाधार बिकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन ४ क्षेत्र प्रतिस्पर्धाका मुख्य विषय हुन् । “हाम्रो काठमाडौं, हामी बनाउँछौं” नारा दिइएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” को शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौं च्यालेन्ज डट ओआरजि‘ वेभपेज सार्वजनिक गर्नुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख शाक्यले भन्नुभयो– हामीले अधिकांश समय स्मार्ट शव्दको प्रयोग गरिरहेका हुन्छौं । यो शब्द सहर बनाउने कुरामा मात्र होइन, व्यक्ति–व्यक्तिमा पनि स्मार्टनेसको कुरा आउँछ । धेरै समयको तयारी पछि सहरी समस्याको समाधान खोज्न सहरी योजना आयोगमार्फत नयाँ सोचको खुल्ला छलफल गर्ने थलो बनाएका छौं । यसले विकासमा सहभागिता, साझेदारिता बढाउँछ र प्राप्त उपलब्धीमा दायित्व बोध गराउँछ । सो कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले महानगरको कार्यक्रमले युवाहरुलाई देशमै केही हुन थाल्यो भन्ने सन्देश सञ्चार हुने विश्वाश व्यक्त गर्नुभयो । हामी जिम्मेबार भएर काम गर्न खोजिरहेका छौं, उपप्रमुख श्रेष्ठ खड्गीले भन्नुभयो– हाम्रो काममा सहभागी हुन चाहने सबैलाई खुल्ला आमन्त्रण गर्दछौं ।

प्रतिस्पर्धामा सहभागी हुन नेपाली नागरिक हुनुपर्छ, ऊ स्वदेश वा विदेश जहाँबाट भए पनि भाग लिन सक्छ । सहभागिताका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले सरकारी तहबाट यो पहिलो प्रयास भएको उल्लेख गर्नुभयो । संघ सरकारले पनि यसप्रकारका कामका लागि रकम छुट््याएको छ । त्यसको कार्यान्वयनका लागि पनि महानगरको प्रयास सिकाइ बन्न सक्छ, यहाँको भनाइ थियो ।

यस प्रकारका प्रतिस्पर्धाहरु निजी क्षेत्रबाट अभ्यास भएका छन् । बिदेशमा पनि यस्ता कार्यक्रम आयोजना हुन्छन् । तर हामी बिदेशी ढाँचाको होइन नेपाली समाज, यहाँको भूगोल र आवश्यकता अनुसारका सोच चाहन्छौं, कार्यक्रममा महानगरको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतको भनाइ थियो । प्रतिस्पर्धाबाट साधारण तर नौला र केही जटिल तर सम्भब हुने गरी दुई किसिमका प्रविधिहरुको अपेक्षा गरिएको छ, सदस्य सचिव बस्नेतको भनाइ थियो । प्रतिस्पर्धाको शुरुवात्मा एउटै समूहले धेरै सोच दर्ता गर्न सक्छन् । पछि एउट समूहको दुई वा त्योभन्दा धेरै सोच छनौटमा परे भने उनीहरुले अन्त्यमा एउटा मात्र सोच रोज्नुपर्छ । यङ् इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत विभुषण बिष्टले जानकारी दिनुभयो । यस प्रतिस्पर्धामा इनोभेसन्ससँगै नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, दायित्व, अन्तर प्रेरणा, ग्लोवल इन्टरप्रेनरसिप नेटवर्क, कारखाना र किन्स कलेज नोलेज पार्टनरका रुपमा सहभागी छन् ।

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ । त्यस्तै महानगरपालिकाले प्रदान गर्ने सेवामा चुस्तता एवं पारदर्शिता कायम हुने र सामाजिक न्यायमा आधारित सुविधा वितरणमा सहयोग पुग्ने आशा गरिएको छ । प्रतिस्पर्धाका मूख्य ४ विषय र त्यसभित्र पर्ने २८ क्षेत्रमा प्रतिस्पर्धीले नविन सोच प्रस्तुत गर्नेछन् । ६ चरणमा सम्पन्न हुने प्रतिस्पर्धामा सोच छनौट गर्दा बिषयको महत्व, उत्पादन क्षमता, ब्यवसायिक नमूना, बिस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानिएको छ । तोकिएको मापदण्ड अनुसार मुल्यांकन गरी कुल अंकमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने समूह बिजेता बन्नेछ ।

पहिलो चरणमा कम्तीमा सय नविन सोच भएका युवाहरुको समूहहरुलाई छनौट गरि बिज्ञ समूहबाट करिब ३ महिना नियमित तालिम दिइनेछ । तीमध्ये ४ विषयका २४ समूह प्रतिस्पर्धी अन्तिम चरणमा पुग्नेछन् । उनीहरुलाई प्रदान गरिने विशिष्ट प्रकारको तालिमबाट सोचमा निखार ल्याइनेछ । सोच आउँदो पुष ३० गतेभित्र वेभपेजमार्फत दर्ता भइसक्नुपर्नेछ । यो प्रतिस्पर्धा ६ महिना लामो हुनेछ ।

कामपाले उत्कृष्ट सोचलाई अर्थात् च्यालेन्जको विजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका ४ वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैयाँ र उपबिजेतालाई जनही १ लाख रुपिया प्रदान गरिनेछ ।

काठमाडौंं । काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले महाराजगञ्जस्थित राष्ट्रपति निवास आसपास क्षेत्रमा सञ्चालित मासु पसलको अनगुमन भएको छ । बुधबार बिहान महानगरकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा श्रेष्ठ खड्गी, वडा ३ का अध्यक्ष दीपक केसी, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारी, उपभोक्तासहितको टोलीले मासु पसलको अनुगमन गरेको हो । अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा महानगरकी उपप्रमुख श्रेष्ठ खड्गीले तथ्य थाहा पाउन पहिले अवस्था अवलोकन गरिएको बताउनुभयो । हेर्नु पर्ने धेरै चीज छन् । पहिले हामी आवश्यकता र अवस्था कस्तो छ, पत्तला लगाउँछौं । त्यसपछि मात्र वास्तविक अनुगमन हुन्छ, उपप्रमुखको भनाइ थियो ।

थानीय मासु बजारको अवस्थामा जानकारी गराउँदै वडाध्यक्ष केसीले वडा ३ क्षेत्रमा भएका मासु पसलहरुको अवस्था कमजोर छैन तर सुधार गर्नु पर्ने अवस्थामा छन् । अनुगमनको क्रममा पशुसेवा विभागका प्रमुख भण्डारीले महानगरले मासुको स्वच्छताका लागि गरेको यो नै पहिलो अनुगमन होइन, यस अघि भएका प्रयासलाई संस्थागत गर्ने जानकारी गराउनुभयो ।

अनुगमनमा क्रममा पानीपोखरीबाट अघिल्लो घुम्तीबाट वडा कार्यालय मुल सडक दायाँबायाँका पसलका व्यापारीलाई भेटेर कुरा गरिएको थियो भने सञ्चालित पसलको अवस्था हेरिएको थियो । वडामा दर्ता भए नभएको, पशु पंक्षी बध गर्ने तरिका र स्थान, त्यस क्रममा निस्किएको फोोर व्यवस्थापन, मासु प्रशोधनको तरिका, भण्डारण क्षमता र तरिका पसल अनुगमनमा क्रममा हेरिएका थिए । त्इस्तै त्यस क्षेत्रमा पर्ने फलफुल तरकारी, किराना पसलबाट विक्री हुने सामान, तिनको गुणस्तरीयताका विषयमा व्यापारीसँग सोधपुछ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्