सुस्त श्रवण विद्यार्थीमाझ गुरुङ सुन्दरी



लमजुङ, (नेस)। लमजुङ निवासी मिस गुरुङ इन्टरनेसनल २०१८ को विजेता बबिता गुरुङले आफ्नो जन्मदिन सुस्त श्रवण विद्यार्थीहरूसँग मनाएकी छिन्। उनले लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारस्थित भक्ति नमुना माध्यमिक विद्यालयको विशेष कक्षामा अध्ययनरत सुस्त श्रवण विद्यार्थीहरूसँग जन्मदिन मनाएकी हुन्।

बबिताले फजुल खर्च गरेर, क्लब होटल, रेस्टुरेन्टमा जन्मदिन मनाउनुभन्दा दीन–दुःखी, असाहय, गरिब तथा अपांगता भएका बालबालिकासँग बसेर एक दिन भए पनि खुसी साट्न पाउँदा खुसी लागेको बताइन्। उनले जन्मदिनको अवसरमा बहिरा विद्यार्थीलाई दिवा भोजन गराइन्।

मिस गुरुङ इन्टरनेसनलको विजेता भएपछि बबिताले आफँ पढेको विद्यालयमा अध्यनरत विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेकी थिइन्। कार्यक्रममा उनले आफ्ना अनुभवहरू पनि विद्यार्थीलाई सुनाएर समाजसेवाका क्षेत्रमा लाग्दा हुने खुसीलाई पैसासँग साट्न नसकिने बताइन्।

प्रतिक्रिया दिनुहोस्