हिउँदे अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्न सांसदहरुको माग



बुटवल ।
प्रदेश ५ को प्रदेश सभाको हिउँदे अधिवेशनलाई कानून निर्माणमा केन्द्रित गर्न प्रदेश सांसदहरुले माग गरेका छन् ।
अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने चारवटा विधेयक प्रदेश सभामा दर्ता गरेको छ ।
दोश्रो अधिवेशन सकिएको करिब चार महीना पछि हिउँदे अधिवेशन बुधवारवाट सुरु भएको हो ।

बैठकमा बोल्दै नेकपा संसदीय दलका नेता भूमिश्वर ढकालले तेस्रो अधिवेशनमा सत्ता पक्ष र प्रतिपक्ष नभई विषयमा केन्द्रित छलफल र त्यसको निष्कर्ष निकाल्नु पर्ने बताउनुभयो । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले कर्मचारी प्रशासन र प्रहरी प्रशासन केन्द्रले संचालन गर्ने र विकासका काम स्थानीय तहले संचालन गरे पछि प्रदेशसभाको औचित्यमा प्रश्न उठेको बताउनुभयो ।

प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले बजेट विनियोजन हुने र प्रक्रियामा गएर टुंगिने गरेको भन्दै बजेटलाई परिणाम मुखी बनाउनु पर्ने बताउनुभयो ।

नेकपाका प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्काले केन्द्र सरकारले मैलिक हक सम्वन्धमा कानुन वानाउने क्रममा प्रदेश संग समन्वय गर्नु पर्नेमा जोड दिनुभयो ।

सांसद गिता थापाले प्रदेश सभाले महिला मैत्री कानून निमार्ण गरी महिला हिंसा न्यूनीकरणका लागि ठोस कदम चाल्नु पर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले प्रदेशको राजधानी तथा नामाकरणका लागि विज्ञहरुको टोली गठन गरी समयमा नै टुगांउनुपर्ने बताउनु भयो ।

बैठकमा संघीय समाजवादी फोरमका सन्तोष कुमार पान्डे नेकपाका सांसद इन्द्र प्रसाद खरेल, रामजी घिमिरे,सरस्वती गौतम, कुल प्रसाद पोख्रेल, विष्णु प्रसाद पन्थी, राष्ट्रिय जनता पार्टि नेपालका सांसद कल्पना पान्डे, भूवनेश्वर चौधरी ,भगवति देवी भन्डारी, हरिप्रसाद रिजाल, तुल्सी चौधरी लगाएतले बोल्नुभएको थियो ।

बैठकमा प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र र दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरु सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाउनुभयो ।
प्रदेश नम्वर पाचका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेश ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तब्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश गर्नुभयो । अर्को बैठक आउदो पुस ८ गने दिनको एक बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्