भारतमा विधान सभा निर्वाचनः पाँचवटै राज्यमा भाजपाको बिजोग, कांग्रेस अगाडी



एजेन्सी,
भारतका पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी हारको संघारमा रहेको छ । आगामी लोकसभा निर्वाचनको प्राराम्भिक नतिजाका रुपमा हेरिएको निर्वाचनमा भारतीय जनता पार्टीले मध्यप्रदेशमा मात्रै झिनो अग्रता बनाएको छ भने अन्य चार प्रदेशमा भने नराम्रो झड्का लागेको छ ।
मिजरोममा कांग्रेस पत्तासाफ

अहिलेसम्मको नतिजामा मिजरोम नेशनल फ्रन्टले १८ सिट जितेको छ भने सात सिटमा अग्रता बनाएको छ ।

मिजरोमको सत्तारुढ दल कांग्रेस भने करिब पत्तासाफ भएको छ । यहाँ कांग्रेसले १ सिटमा अग्रता बनाएको छ भने ४ सिटमा जित निकालेको छ । सन् २०१३ को निर्वाचनमा ३४ सिट जितेर सत्ता चलाएको कांग्रेसलाई यहाँ स्थानीय दलले बढारेको हो ।

यहाँ भाजपाले एक सिटमा अग्रता बनाएको छ । उसले अहिलेसम्म एक सिट पनि नजितेकाले उसको अवस्था यहाँ अत्यन्त नाजुक देखिएको छ ।

मध्यप्रदेशमा कांग्रेस अगाडि

मतगणनाको सुरुवाती नतिजा अनुसार मध्यप्रदेशको कुल २३० सिटमध्ये कांग्रेसले ११९ सिटमा अग्रता बनाइरहेको छ । यहाँ भाजपाले ९२ सिटसहित कांग्रेसलाई पछ्याइरहेको छ भने अन्य दल ११ सिटसहित अघि बढिरहेका छन् ।

मध्येप्रदेशको सुरुवाती मतपरिणाम अनुसार भाजपाले यहाँ ६६ सिट गुमाउने देखिएको छ । तर यसअघि निक्कै कमजोर रहेको कांग्रेसले ६२ सिट बढाएर भाजपको सत्तामा हत्याउने तर्फ अग्रसर भएको छ ।

छत्तीसगढमा भाजपाको बिजोग

माओवादी प्रभावित राज्य छत्तीसगढबाट आएको सुरुवाती नतिजामा कांग्रेसले बहुमत भन्दा धेरै सिट ल्याउने देखिएको छ । यहाँ बहुमतका लागि ४६ सिट चाहिने अवस्थामा कांग्रेसले सुरुवातबाटै ६७ सिटमा अग्रता बनाइरहेको छ ।

कांग्रेसलाई पछ्याइरहेको भाजपाले यहाँ १७ सिटमा सुरुवाती अग्रता बनाएको छ । यस राज्यमा भाजपाले ३२ सिट गुमाउने सुरुवाती आँकडा आउँदा कांग्रेसले २८ सिट थप्ने देखिएको छ । यहाँ अन्य दलले ६ सिटमा अग्रता बनाइरहेका छन् ।

राजस्थानमा कांग्रेस अगाडी

सन् २०१३ को निर्वाचनमा १६३ सिटसहित प्रचण्ड बहुमत पाएको भाजपालाई विपक्षी दल कांग्रेसले नराम्ररी पछार्ने देखिएको छ । कुल २०० सिट रहेको यहाँ बहुमतका लागि १०१ सिटको आवश्यकता छ । सुरुवाती अवस्थामा यहाँ कांग्रेसले १०० सिटमा अग्रता बनाएको छ । अर्थात् उसले अब एक सिटमा अग्रता बनाउँदै जितेको अवस्थामा बहुमत पक्का गर्नेछ ।

यहाँ सत्तारुढ दल भाजपाले ७० सिटमा अग्रता बनाउँदै २ सिटमा जित निकालेको छ । यहाँ अन्य साना दलले २६ सिटमा अग्रता बनाइरहेका छन् ।

तेलङ्गनामा भाजपाको झिनो अंक

भारतको दक्षिणी राज्य तेलङ्गनामा भाजपालाई प्रधानमन्त्री मोदीको जादुको उल्टो असर देखिएको छ । यहाँ तेलङ्गना राष्ट्र समिति ९टीआरएस० पार्टीले ७३ प्रतिशत सिट जित्ने सुरुवाती आँकडा देखिएको छ । बहुमतका लागि ६० सिट चाहिने यहाँ टीआरएसले ८४ सिटमा अग्रता बनाइरहेको छ भने २ मा जित निकालिसकेको छ ।

टिआरएसलाई पछ्याइरहेको कांग्रेसले २० सिटमा अग्रता बनाएको छ । टीआरएस प्रचण्ड बहुमततर्फ अग्रसर भइरहेका बेला यो पटक कांग्रेसले यहाँ १७ सिट गुमाउने देखिएको छ ।

कांग्रेस दोस्रो स्थानमा अघि बढिरहेको अवस्थामा मोदीको दल भाजपाको भने यहाँ कन्तबिजोग भएको छ । अर्थात् मोदीको स्टारडमले यहाँका मतदातालाई छुँदै नछोएको कुरा प्रारम्भिक नतिजाले देखाएको छ । तेलङ्गनामा भाजपाले अहिलेसम्म केबल २ सिटमा मात्रै अग्रता बनाउन सकेको छ ।

प्रतिक्रिया दिनुहोस्