कमेडीमा सुश्री सम्पत्ति



यो शुक्रबार रिलिज हुने फिल्म सुश्री सम्पत्ति हुकुम बक्सियोस् गीत र ट्रेलरका कारण चर्चामा छ। गीतलाई युट्युबमा झन्डै ४५ लाखले हेरिसकेका छन् भने यसको ट्रेलरमा बोलिएको संवादलाई पनि दर्शकले रुचाएका छन्।

पत्रकार सुव्रत आचार्यले निर्देशन गरेको फिल्ममा दुई बेरोजगार युवाले आफ्नो सपना परिपूर्ति गर्न अपनाउने गलत बाटो र त्यसमा आइपर्ने कठिनाइलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।
फिल्ममा सलोन बस्नेत, विनोद न्यौपाने, सारा सिरपाइली, राजाराम पौडेल, प्रमोद अग्रहरी, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने प्रियंका कार्की विशेष भूमिकामा छिन्। रमेश त्वयना प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्देशक आचार्य आफैले लेखेका हुन्। विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारद्वारा निर्मित फिल्ममा अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद र भरत रेग्मीको सम्पादन रहेको छ। ‘फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ।

फिल्म हेरिरहँदा दर्शकको समय र पैसाको सदुपयोग नै हुन्छ, भरपुर मनोरञ्जन पाउनुहुन्छ। फिल्ममा हामीले सरल कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेका छौं। फिल्मको कथा अनुसार यसका मुख्क कलाकार फिट छन्’, निर्देशक आचार्य भन्छन्– ‘मैले पहिलो फिल्म अधकट्टीमा गरेको कमजोरीलाई यसमा सुधार्ने मौका पाएको छु। यसमा हामीले सम्पत्ति कमाउन चाहने दुई युवाको कथालाई पेस गरेका छौं, जो कठिन परिस्थितिमा हुन्छन्।’ फिल्मका प्रस्तुतकर्ता रमेश त्वयनाले फिल्म कमेडीमा भए पनि मन छुने बताए।

‘हामी तीन भाइमार्फत निर्माताका रूपमा भित्रिएपछि मैले फिल्म निर्माण गर्दै आएको छु। हाँसी देऊ एक फेर, आधी बाटो हँुदै सुश्री सम्पत्तिसम्म आइपुगेको छु। हामीले जुन प्लानिङ गरेर फिल्म निर्माण गरेका थियौं, त्योअनुसार नै फिल्म तयार भएको छ। कमेडी फिल्म भए तापनि मन छुन्छ। फिल्मले दर्शकलाई निराश बनाउँदैन’, प्रस्तुतकर्ता त्वयना भन्छन्– ‘फिल्म युरोपसँगै जापान र दक्षिण कोरियामा पनि छिट्टै रिलिज हुनेछ।’ फिल्मको सार्वजनिक गीत संगीत र ट्रेलरले पाइरहेको हाइटकै कारण फिल्म जापान, दक्षिण कोरिया र युरोपमा प्रदर्शन अधिकारी बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्