महिनावारी पाप होइन प्राकृतिक चक्र हो



भगवती तिमल्सिना, काठमाडौ ।
‘मेन्स्ट्रुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका वेला अघि बढ्न सकून् भनेर सुनिश्चित गरौँ’ विषयमा महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्यशाला गोष्ठी काठमाडौमा मंगलबार सम्पन्न भयो ।

छोरी मान्छे १० बर्ष देखि १६ बर्षको हुदा पहिलोपटक महिनावारी महिनावारी चक्र शुरु हुन्छ । यो प्रत्येक महिनामा हुने प्राकृतिक चक्र हो । यो हर्मोनको प्रभावका कारण डिम्बासयबाट डिम्ब निस्कासन भएपछि विस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर रगत बग्छ । यो नै महिनावारी चक्र हो । प्रत्येक महिना २१ देखि २८ दिन सम्ममा महिनावारी हुन्छ ।

महिनावारी हुनु कुनै पाप नभएर महिलाको पाठेघर परिपक्व हुँदै गएको र आमा बन्नका लागि सक्षम छिन भन्ने संकेत भएको विज्ञानले प्रमाणीत गरिसकेको छ । यसलाई अछुतो या छुन नहुने भन्ने प्रचलन गलत हो यसलाई सही ढंगले बुझने र बुझाउने गर्नु आम मानवको दायीत्व भएको कोलम्बिया युनिभर्सिटीकी डा.मेरनी शोभरले बताउनुभयो ।

उहाँले नेपालमा भौगोलिक, सामाजिक, आर्थिक तथा विभिन्न जात जातिको फरक फरक धर्म संकृतिका आधारमा महिनावारीलाई परिभाषित गरिएको र विशेष गरि पहिलोपटक महिनावारी हुँदा छात्राहरुलाई परामर्शको अभावले विद्यालय छोड्ने, पिडा, हिनताबोध गर्ने पाइयो । यसलाई कमी ल्याउन पहिलो आमा, परिवार, समाज र दोस्रो विद्यालयमा शिक्षक शिक्षीकाले राम्रोसँग सहजीकरण गरि छात्राहरुलाई महिनावारी सामान्य चक्र हो र महिनावारीका बखत लुकेर हैन खुलेर हिड्ने, गुप्तअंगको अरुबेलामा भन्दा बढी नै सरसफाई गर्ने र पोषिलो खानेकुरा खाने शिक्षा दिनुपर्छ भन्नुभयो ।

आयोजक संस्था जिआइजेडका स्वास्थ्य कार्यक्रम संयोजक भ्यालेरी ब्रोच अलभ्रेञ्जाले भन्नुभयो– महिनावारी व्यवस्थापनका लागि नेपाल सरकारलाई सहयोग गर्न सम्मेलन सहयोगी हुने बताउनुभयो । उहाँले ‘पहिलो पटक हुने महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाइमा दिगोपनामा विद्यमान ज्ञान तथा जनचेतना अभियानलाई ध्यानमा राखी महिनावारी स्वास्थ्य र विकासमा जोड दिँदै सम्मेलन आयोजन गरिएको हो ।’

त्यसैगरी महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीका संयोजक गुणराज श्रेष्ठले महिनावारी व्यवस्थापन कार्यक्रमलाई विद्यालयका पाठ्यक्रममा समावेश गराई जनचेतनामा जगाउनु आजको आवश्यकता भएको कुरा औल्याउनुभयो ।

सम्मेलनमा शिक्षा, जनचेतन तथा सिकाइ, नीति तथा पैरवी, दिगोपन, अनुसन्धान तथा विश्लेषण, पानी, सरसफाइ तथा महिनावारी स्वास्थ्य व्यवस्थापनका क्षेत्रमा सहभागीका बीचमा बृहत छलफल तथा अन्र्तक्रिया भएको थियो ।

महिनावारी के हो र स्वास्थ्यमा कसरी ध्यान दिने भन्ने बिषयमा काठमाडौ विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.आभा श्रेष्ठ यसो भन्नुहुन्छ– पाठेघरको मुख खुल्ला हुन्छ । त्यतिबेला सफा राखेन भने किटाणुहरु भित्र प्रवेश गरि संक्रमण हुन सक्छ । पहिला पहिला सुतिको कपडा राख्ने गर्थे राख्नु नराम्रो होइन । धोएको सफा छ छैन हेरेर मात्र पुन प्रयोग गर्नुपर्छ ।

महिनावारीलाई नेपाली समाजमा निकै गलत रुपमा प्रस्तुत गर्ने भएकै कारण कसैले नदेख्ने अध्यारो ठाउँमा लुकाएर सुकाउने र पुनः प्रयोग गर्ने गरिन्छ । यसो गर्दा कपडामा ढुसी पर्ने भएकाले सक्रमण हुने सम्भावना बढी नै हुन्छ । स्यानोटरी प्याड राम्रो कुरा हो तर महगो छ त्यसैले निथ्रुक नभिजे सम्म लाउने गर्छन् यसो गर्नु नराम्रो हो । भिजेको जस्तो अनुभव भएपछि या ४ देखि ६ घण्टा भित्र फेर्नै पर्छ । महिनावारी हुँदा महिलाहरु स्वास्थ्यका दृष्टिकोणले सजग हुनै पर्छ ।

पेन्टीहरु हरेक दिन फेर्नुपर्छ । अरुबेलामा भन्दा महिनावारीका बेलामा भित्री अंगलाई बढी सफा राख्नुपर्छ । कपडा प्रयोग गरेको छ भने राम्रोसँग धोएर घाममा सुकाएर मात्र पुनः प्रयोग गर्ने । महिनावारी हुँदा केही छुनुहुन्न भन्ने सोच परिवर्तन गर्नुपर्छ । महिनावारी भनेको हरेक महिलामा हुनैपर्ने शारिरीक प्रकृया हो, महिनावारी नभएमा मात्र डराउनुपर्छ ।

महिनावारी भएको बेला कतिपय ठाउँमा घरदेखि टाढा राख्ने गरिन्छ, यसो गर्नाले महिलाहरु असुरक्षित हुने, जंगली जनावरले आक्रमण गर्ने, सर्पले डस्ने, बलत्कार, हत्या जस्ता घटना बेलाबेलामा सार्वजनिक हुने गरेकाछन् । महिनावारी हुँदा अछुतो हुँदैन हुनुपर्ने बेलामा भएन भने मात्र डराउनुपर्छ । यस्तो बेलामा पोसीलो खानपानमा ध्यान दिनुपर्छ । पहिलो पटक महिनावारी भएका बच्चामा डर हुन्छ, शरिरमा परिवर्तन भएको कुरा आमा दिदी, गुरुआमासँग सोध्नुपर्छ र गुरुआमा, आमा, दिदी, भाउजु, हजुरआमाले ढाडस दिदै सामान्य हो भन्नुपर्छ डा.श्रेष्ठ भन्नुहुन्छ ।

हाम्रो नेपाली समाजमा महिनावारी भएकी महिलालाई घर बाहिर राख्ने प्रचलन छ यो गलत प्रकृया हो । महिनावारी हुँदा आमा अर्थात आफुभन्दा ठूलासँग सल्लाह लिनुपर्छ । घाममा जानै नहुने, केटा मान्छेलाई हेर्नै नहुने चलन हटानुपर्छ । बिद्यालय शिक्षामा महिनावारीका बारेमा उल्लेख गर्नुपर्छ ।

परिवारले पनि महिनावारी हुने वित्तिकै अब छोरी ठूली भै महिनावारी भएपछि विद्यालय पठाउनुहुन्न अब घरको कामकाज सिकाएर विवाह गरिदिनुपर्छ भन्ने पुरानो सोचलाई हटाएर उच्च शिक्षा दिनुपर्छ । विद्यालयमा पनि आवश्यकता अनुसार सरसफाई, शौचालय, स्यानोटरी प्याड र व्यवस्थापनका लागि ध्यान दिनुपर्छ । यसका लागि घरमा आमा, दिदी, भाउजु, हजुरआमा, काकीले सहयोगीको भूमिका खेल्नुपर्छ । विद्यालयमा गुरुआमाले छात्राहरुको महिनावारी हुँदा आवश्यक पर्ने सुरक्षाका लागि आफ्नै छोरी सम्झेर व्यवस्थापनमा ध्यान दिनुपर्छ डा.श्रेष्ठ भन्नुहुन्छ ।

महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारी (एमएचएमपी अलायन्स) र जर्मन संघीय आर्थिक तथा विकास मन्त्रालय (बिएमजेड)का तर्फबाट जिआइजेडको सहयोगमा भएको यो गोष्ठी दोस्रो हो । दुई बर्ष अघि पनि यसरी नै अन्र्तकृयात्मक गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न संघसंस्था तथा दातृनिकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यशालामा नेतृत्वदायी विज्ञहरू, नीति–निर्माता, अभ्यासकर्ता, अनुसन्धानकर्ता, किशोर तथा युवा र सञ्चार प्रतिनिधिबीच महिनावारी स्वास्थ्य व्यवस्थापन कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्नेबारे छलफल भएको थियो । नेपाल र विश्वभर महिला र किशोरीले महिनावारीका क्रममा थुपै्र समस्या भोग्दै आएका बिषयलाई अघि सारिएको उक्त कार्यक्रममा सन् २०१७ मा स्थापित ५० भन्दा बढी संस्थाको राष्ट्रिय सञ्जालका रूपमा रहेको महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारी (एमएचएमपी अलायन्स) अहिलेसम्मका उपलब्धिको मूल्यांकन गर्नेछ भने नेपाल मात्र नभई क्षेत्रीय र विश्वव्यापी रूपमा विभिन्न संस्थाले कसरी सँगसँगै काम गर्न सक्छन् भन्नेबारे पनि छलफल भएको छ ।

परामर्श कार्यशालाको अन्तिम लक्ष्य सन् २०१९÷२०२० मा यस क्षेत्रमा अवलम्बन गरिने प्रमुख पक्षहरू, निश्चित गतिविधि, सुझाब र पाँच प्राविधिक समूह र प्रमुख मन्त्रालयहरू (खानेपानी, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)समेतका प्रतिज्ञा समेटिएको ‘काठमाडौं कार्ययोजना’ तय गरेकोछ ।

कार्यक्रममा पूर्वनेपाल सुन्दरी माल्भिका सुब्बा, सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणा,डा.जेनी हेम्टन,रुवी राउत, यूएन ओमेन सामा थापा लगायतका व्यक्तिहरुले आ आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्