कसको मर्यादाक्रम कस्तो ? श्रीमान् र श्रीमतीलाई समान सम्मान



गंगा बराल, काठमाडौँ ।
सरकारले झण्डै एक वर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टीहरू आइरहेका छन् । यसरी असन्तुष्टी जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन । यसमा पुनरवलोकन हुनुपर्ने उहाँको माग छ । उहाँ भन्नुहुन्छ–‘हामीले त्यतिबेला नै मर्यादाक्रम मिलेन भनेका हौं, पुनरावलोकन हुनैपर्छ ।‘

संघीय र प्रदेश सरकारमा कार्यरत कर्मचारीबीच बिभेद हुँदा अवहेलना भएको अध्यक्ष ढकालको निष्कर्ष छ । ८६ हजार कर्मचारीको नेतृत्व गरेको आधिकारिक ट्रेड यूनियनको अध्यक्षको मर्यादाक्रम सरकारको सचिवसरह हुनुपर्ने उहाँको दावी छ ।

गृह मन्त्रालयमा शाखा अधिकृतका रुपमा कार्यरत अध्यक्ष ढकाल कार्यबिधि बनाएर श्रम बिभागमा पठाइसक्दासम्म जवाफ नआएकोमा चिन्तित हुनुहुन्छ ।
नुवाकोटको शिवपुरी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केसीको यस्तै गुनासो छ । उहाँलाई पनि आफ्नो मर्यादाक्रमप्रति चित्त बुझेको छैन । जिम्मेवारीमात्र बढी भएको र मर्यादामा बेबास्ता गरिएको बताउने उपाध्यक्ष केसी आफ्नो मर्यादाक्रम गाउँपालिकाका अध्यक्षसरह हुनुपर्ने जीकिर गर्नुहुन्छ ।

स्मरणीय छ, गाउँपालिकाका अध्यक्षको मर्यादाक्रम २१ र उपाध्यक्षको २२ छ । ‘अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले सम्पूर्ण जिम्मेवारी लिने भन्ने स्पष्ट व्यवस्था भएपछि त्यही हैसियतमा राखिनुपर्दथ्यो’ उपाध्यक्ष केसीको तर्क छ ‘उपाध्यक्ष र उपप्रमुख महिलामात्र हुन्छन् भनेर हेपेको होला ।’
यसैबीच उक्त मर्यादाक्रममा पदाधिकारीका पति वा पत्नीलाई आमन्त्रण गरिएको औपचारिक समारोहमा भने दुवैको मर्यादाक्रम पदाधिकारीसरह नै हुने उल्लेख छ ।

२०७४ माघ २६ गते सार्वजनिक गरिएको उक्त मर्यादाक्रमको सङ्ख्या २७ रहेको छ । यसअनुसार राष्ट्रपतिको मर्यादाक्रम एक नम्बरमा हुन्छ भने २७ औँ नम्बरमा सहायक सेनानी पर्दछन् ।
मर्यादाक्रमकमा उल्लेख नभएकालाई कुनै सरकारी समारोहमा सम्मिलित गराउनुपरेमा वा मर्यादाक्रमका विषयमा कुनै द्धिविधा भएमा सम्बन्धित निकायले नेपालीको हकमा गृह मन्त्रालय र बिदेशीको हकमा परराष्ट्र मन्त्रालयसँग सम्पर्क राखी मर्यादाक्रम तोकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी दिनुपर्नेछ ।

कसको नम्बर कति ?
१. राष्ट्रपति
२.उपराष्ट्रपति
३.प्रधानमन्त्री
४.प्रधानन्यायाधीश
५. प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष
६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री

‘महिला भनेर हेपेको होला’

७.
प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलको नेता, राष्ट्रिय सभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेश सरकारका मुख्यमन्त्री, व्यवस्थापिका–संसद्का पूर्वसभामुख, संविधानसभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष, पूर्व उपप्रधानमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री

८ राज्यमन्त्री र सहायकमन्त्री, पूर्वमन्त्री पनि यही सूचीमा रहेका छन् । १० औं नम्बरमा प्रदेशसभाका सभामुख र प्रदेशकै मन्त्रीको समान हैसियत छ । नेपाल सरकारको अधिकृत प्रदेश सरकार र स्थानीय तहमा खटिएको अवस्थामा निजको मर्यादाक्रम पनि नेपाल सरकारको अधिकृत सरह नै रहने छ ।
गृह मन्त्रालयले २०७४ को माघ २६ गते राष्ट्रिय जीबनका विभिन्न क्षेत्रमा रहेका १३७ पदको मर्यादाक्रम राजपत्रमा प्रकाशित गरेको छ । जसअनुसार ८. राज्यमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका विभिन्न समितिका सभापति तथा अध्यक्ष, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, सहायकमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्य, पूर्वमन्त्री

९. संवैधानिक निकायका सदस्य तथा आयुक्त, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, उच्च अदालतका मुख्य न्यायाधीश, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति
१०. प्रदेशसभाका सभामुख, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य

११. नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत

१२. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक

१३. प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति, उच्च अदालतका न्यायाधीश, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, मुख्य न्यायाधिवक्ता

१४. प्रदेश सरकारका सहायकमन्त्री, प्रदेश सभा सदस्य

१५. जिल्ला समन्वय समितिका प्रमुख, महानगरपालिकाका प्रमुख, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, संविधानसभा–व्यवस्थापिका संसद् प्रतिनिधिसभा–राष्ट्रिय सभाका पूर्वसदस्य

१६. उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक

१७. प्रदेश लोकसेवा आयोगका सदस्य, प्रदेश न्यायसेवा आयोगका सदस्य

१८. उपमहानगरपालिकाका प्रमुख, महानगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, राजपत्रांकित प्रथम श्रेणीका अधिकृत, प्रदेश सरकारका सचिव, जिल्ला न्यायाधीश, विश्वविद्यालयका सहप्राध्यापक

१९. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, प्रदेश सरकारका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत, स्थानीय तहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत

२०.नगरपालिकाका प्रमुख, उपमहानगरपालिकाका उपप्रमुख, नेपालस्थित विदेशी कन्सुलर जनरल, नेपालस्थित अन्य अन्तरसरकारी संस्थाका प्रमुख

२१. गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक

२२. नेपाल सरकारका उपसचिव, निर्देशक, नेपाल सरकारका राजपत्रांकित द्वितीय क्षेणीका अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, गाउँपालिकाका उपाध्यक्ष

२३. सेनानी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकारका उपसचिव, स्थानीय तहका उपसचिव, प्रदेश सरकार तथा स्थानीय तहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत

२४.सहसेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणीका अधिकृत, विश्वविद्यालयका सहायक प्राध्यापक

२५. उपसेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत

२६. प्रदेश सरकारका शाखा अधिकृत, स्थानीय तहका शाखा अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणीका अधिकृत

२७. सहायक सेनानी

प्रतिक्रिया दिनुहोस्