भाजपालाई झट्काः पाँचवटै राज्यकाे अवस्था नाजुक



नेपाल समाचारपत्र, भारत ।

भारतका पाँच राज्यमा जारी मतगणनामा सबैमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ ।

भारतका मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगना र मिजोरममा मतगणना भइरहँदा ५ राज्यमध्ये भाजपाले एउटा राज्यमा पनि अग्रता लिन सकिरहेको छैन ।

मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा कांग्रेस धेरै अगाडि रहेकाे छ । मिजोरममा क्षेत्रीय पार्टी मिजोरम नेशनल फ्रन्ट र तेलंगनामा क्षेत्रीय पार्टी तेलंगना राष्ट्र समिति अगाडि छ । तेलंगना राष्ट्र समितिसमेत कांग्रेससँग गठबन्धनमै चुनाव लडिरहेको छ ।

पछिल्लो नतिजाअनुसार मध्यप्रदेशमा भाजपा १०४ सिटमा अगाडि हुँदा कांग्रेस ११५ सिटमा अगाडि छ । राजस्थानमा भाजपाले ७५ सिटमा अग्रता लिँदा कांग्रेसले ९९ सिटमा अग्रता लिइरहेको छ । छत्तीसगढमा भाजपा १७ सिटमा अगाडि हुँदा कांग्रेसले ६७ सिटमा अग्रता लिइरहेको छ ।

तेलंगनामा तेलंगना राष्ट्र समितिले ८९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेसले २२ सिटमा अग्रता लिँदा भाजपाले मात्रै २ सिटमा अग्रता लिइरहेको छ । यो राज्यमा तेलंगना राष्ट्र समिति र कांग्रेसले गठबन्धन गरेका छन् । मिजोरममा अहिलेसम्म कांग्रेस र मिजोरम नेशनल फ्रन्टले मात्र सरकार बनाएका छन् ।

यहाँ अहिलेसम्म एमएनएफले २५ सिटमा अग्रता लिइरहेको छ । कांग्रेसले ६ सिटमा र भाजपाले १ सिटमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्