संवैधानिक परिषदको बैठक पुस ५ सम्मलाई स्थगित



काठमाडौं ।
संवैधानिक परिषदको बैठक पुनः स्थगित भएको छ ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साँझ ५ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थित भएको हो ।

आगामी बैठक पुस ५ गतेका लागि बोलाइएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । बैठकले प्रधानन्यायधीशका लागि न्यायपरिषद्ले पठाएको नाममा थप छलफल गरेर नियुक्ति सिफारिस गर्नेछ ।

संवैधानिक परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनु पर्नेछ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय मागेपछि गत १७ गतेको बैठक विषय प्रवेश नगरि सकिएको थियो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्