सडक निर्माणको गति तीव्र बनाउन प्रतिनिधिसभा सदस्यको निर्देशन



किरन धामी, दार्चुला ।
दार्चुला तिंकर सडकको निर्माण कार्यलाई तिब्र गतिमा अगाडी बढाउन प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले दार्चुला तिंकर सडक योजना दार्चुला र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । सोमबार गृह जिल्ला दार्चुला आई पुगेका सदस्य बडूले दार्चुला तिंकर सडक खण्ड अन्तर्गत पर्ने दुुहुँ गाउँपालिका वडा नम्बर १ विजयपुर भिरमा अनुगमन गरेका छन् ।

सडकको अनुगमन पछि सदस्य बडू संगै अनुगमनमा पुग्नु भएका योजनाका ईन्जिनियर दिनेश रैखोला र निर्माण व्यवसायी बाल मुकुन्द नेपाललाई सडक निर्माणको कार्यलाई तिब्र गति दिन निर्देशन गर्नु भएको नेपाल प्रेस युनियन दार्चुलाका अध्यक्ष मनोज बडूले जानकारी दिए । सडक निर्माणको कार्यलाई तिब्रता दिई तत्काल ब्याँस गाउँपालिकाको सुन्सेरा सम्म गाडी गुड्न बनाउन निर्देशन गर्नु भएको उनले जानकारी दिए ।

निर्माण व्यवसायी तथा योजनाले सडक निर्माणको कार्यलाई तिब्रता दिई दुई महिना भित्र सुन्सेरा सम्म ट्याक खोल्ने प्रतिबद्धता जनाएको अध्यक्ष बडूले जानकारी दिए । प्रतिनिधिसभा सदस्य बडूले सडक निर्माणमा भैइरहेको ढिलासुस्तीलाई गति दिन अनुगमन निरिक्षण गरेका हुन् ।

महाकाली करिडोर अन्तरगतको दार्चुला तिंकर सडकको विजयपुर भिरमा हाल सम्ममा १ सय ६५ किलोग्राम विस्पोटक पदार्थ खर्च भएको छ । भदौ ३ गते देखी विस्पोटक पदार्थ प्रयोग भएको उक्त भिरमा ८ पटक गरी सो परिमाणमा विस्पोटक पदार्थ प्रयोग भएको नेपाली सेनाको दुर्गादल गुल्मले जनाएको छ । दार्चुला–तिंकर सडकको १ सय ३० किलोमिटर निर्माण सुरु भएको एक दशक पुग्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्