प्रदेश १ मा धानको उत्पादन १२ प्रतिशतले वृद्धि



विराटनगर ।
प्रदेश नम्बर १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६ सय ३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गत वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो । यस वर्ष रोपाइँ ९६ दशमलव ३२ प्रतिशत खेतमा भएको कार्यालयले जनाएको छ । ३ लाख २३ हजार १ सय ८८ हेक्टर जग्गामा धान लगाइएको र उत्पादकत्व ३ दशमलव ८४ मेट्रिक टन प्रतिहेक्टर रहेकोे निर्देशनालयको भनाइ छ ।

गत वर्ष तीन लाख २२ हजार १ सय ८३ हेक्टर जग्गामा धान लगाइएको थियो । गत वर्ष धान उत्पादन ११ लाख ८ हजार ६ सय ६ मेट्रिक टन हुँदा उत्पादकत्व ३ दशमलव ४४ मेट्रिक टन प्रतिहेक्टर रहेको निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डाँगीले बताए । अनुकूल मौसम, बीउको सहजता, रासायनिक मलको आपूर्ति व्यवस्था राम्रो र कृषि प्राविधिकको निरन्तर सल्लाह र सुझावका कारण धान उत्पादन बढेको डाँगीले बताए ।

प्रदेश नं १ मा धान लगाउने क्षेत्रफल तीन लाख ३५ हजार ५ सय २९ हेक्टर भए पनि अन्य बालीले ठाउँ ओगट्न थालेपछि धान खेतीको क्षेत्रफल घटेको हो । उच्च पहाड (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ९८ दशमलव ७० प्रतिशत, मध्य पहाड (इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुर) मा ९० दशमलव १८ प्रतिशत र तराई (झापा, मोरङ र सुनसरी) मा ९८ दशमलव ३२ प्रतिशत धान रोपाइँ भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ताप्लेजुङमा ८ हजार ५ सय ६२ हेक्टर, सङ्खुवासभामा १३ हजार ७ सय १२ हेक्टर, सोलुखुम्बुमा १ हजार ५ सय २५ हेक्टर, पाँचथरमा ८ हजार ८ सय ३४ हेक्टर र इलाममा १३ हजार ३ सय ३३ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।

त्यस्तै, भोजपुरमा १५ हजार ३ सय ७८ हेक्टर, तेह्रथुममा ८ हजार २ सय ४१ हेक्टर, धनकुटामा ७ हजार ७ सय ११ हेक्टर, उदयपुरमा १२ हजार ७ सय ११ हेक्टरमा धानखेती लगाइएको थियो । कार्यालयका अनुसार ओखलढुङ्गामा ३ हजार ५ सय २२ हेक्टर, खोटाङमा १२ हजार २ सय ५३ हेक्टर, झापामा ८७ हजार ६२ हेक्टर, मोरङमा ७६ हजार ४ सय ४० हेक्टर र सुनसरीमा ५३ हजार ९ सय हेक्टर जग्गामा यस वर्ष धान लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्