कामपाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने



काठमा । काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्याण्डफिल साइड निर्माण नगर्ने भएको छ ।

दीर्घकालीन ल्याण्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो । कामपाका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार दीर्घकालीन फोहर व्यवस्थापनको लागि काम अघि बढिसकेकाले थप खर्च गरेर अल्पकालीन फोहर व्यवस्थापन केन्द्रको आवश्यकता नभएको हो ।

यही मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरिसकेको छ ।

अहिले यसअघि १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटस्थित सिसडोलमा नै फोहरको व्यवस्थापन गरिने श्रेष्ठले जानकारी दिए । सिसडोलदेखि बञ्चरेडाँडासम्म जानको लागि बाटो निर्माण गर्ने काम भइरहेको र आगामी दुई महिनाभित्र काम सकी फोहर व्यवस्थापन स्थल निर्माणको काम शुरु हुने हुँदा निर्माणको काममा ढिला हुँदैन श्रेष्ठले बताए ।

हाल काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निष्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले हाल फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बञ्चरेडाँडा केन्द्र सरकारले छिटोभन्दा छिटो निर्माणको काम शुरु गर्नुपर्ने बताउँछन् ।
बञ्चरेडाँडामा निर्माण गरिने सेनेटरी ल्याण्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने ज्ञवालीको भनाइ छ ।

आजैबाट बञ्चरेडाँडालाई दीर्घकालीनरुपमा फोहर राख्ने स्थान बनाउन काम शुरु गर्ने हो भने पनि तत्कालको लागि व्यवस्थापन गर्ने स्थान आवश्यक रहेको ज्ञवालीले बताए । सिसडोलमा करीब ४०–५० मिटरमाथिसम्म फोहरमा निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावना रहेकाले अब त्यहाँ फोहर बिसर्जन गर्न समस्या हुने ज्ञवालीले बताए ।

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ ।

गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयवासीको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन ।

दीर्घकालीन केन्द्र सरकारले निर्माण गरे पनि अल्पकालीन फोहर व्यवस्थापनको लागि भने कामपाले पहल गर्न आवश्यक रहेको छ ।
विगत पाँच वर्ष अघिदेखि नै बर्खाको समयमा फोहर धेरै जम्मा हुने हँुदा सिसडोलमा फोहर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ ।

केन्द्र सरकारले निर्माण गर्ने दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माणको काम शुरु नगर्ने हो भने काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनमा समस्या आउँछ ।

प्रतिक्रिया दिनुहोस्