हजम भएन कि ?



आयल निगमले इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेपछि इन्धन ट्यांकरवालालाई निकै खटपटी भएको छ । त्यहि भएर उनीहरु पटक–पटक हड्ताल र आन्दोलनमा उत्रिन्छन् । आन्दोलन गर्नुपर्ने माग चाहिँ उहि हो,–‘मह काट्नेले हात चाट्न पाउनुपर्छ ।’ अर्थात् साथीहरुले इन्धन मात्रै बोकेर भएन रे यसो हल्का खेलो पनि गर्न पाउनु प¥यो रे ।

सोझै भन्नुपर्दा तेल चोर्न पाउनुपर्ने उनीहरुको तर्क छ । यहि आसयका साथ २÷३ दिन अघि उनीहरु दिनभर हड्तालमा उत्रिए । कुरो ट्यांकरवालाको मात्रै होइन, शेयर बजारवालाहरु त्यहि लाइनमा छन् । आइतवारदेखि शेयर खेलाडीहरु नेप्से कार्यालय अघि अनसनमा उत्रिएका छन् । सरकार गम्भिर नभएपछि खस्किएको सेयर कारोबार अनसन बसेरै सुधार्ने रे ।

धरहराले बुझ्न नसक्या कुरो, ऊ बेला सेयरबजार शुरु गर्दा सरकार जमानी बसेर गाठवालाले लगानी ग¥या हुन् र ? सेयर भनेको जुवाखेल सरह हो भन्ने प्रष्ट बुझेकाहरु आँखा चिम्लिएर लगानी गर्न तम्सिने अनि अहिले चाहिँ अनसनमा उत्रिएको देख्दा अलि हजम भएन कि ? अनसनबाटै धेरै कुराको कायापलट हुन्छ भने आम नेपाली मुलुकको समृद्धिका लागि एकै साथ अनसन बसे भइगो ।

प्रतिक्रिया दिनुहोस्