सरकारी निकायबीच समन्वय नहुँदा निर्माण व्यवसायी मारमा: महासंघ



काठमाडौं, (नेस)
संघ, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसायी मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघले विभिन्न तहका सरकारबीच समन्वय नहुँदा संघीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको र त्यसको ठँलो मार निर्माण व्यवसायीलाई परेको बताएको छ ।

पछिल्लो समय भुक्तानीको समयमा संघीय सरकारले प्रदेश तथा प्रदेश सरकारले संघीय सरकारलाई देखाउँदा ठँलो अलमलको अवस्था सिर्जना भएको महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै अन्योलकाबीच परियोजनाहरुको निर्माणमा ढिलाई हुँदा दोषीको भागीदार भने निर्माण व्यवसायीलाई मात्र बनाइने गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ । हाल आएर निर्माण व्यवसायीले जारी गरेको बैंक ग्यारेन्टीसमेत केन्द्र वा प्रदेश कुन सरकारको नाममा हुने भन्ने द्विविधा उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केन्द्रीयस्तरका परियोजना निर्माणका लागि हाल प्रदेश सरकार सबल नभएको अवस्थामा समस्या समाधानका लागि परियोजनाहरु सम्पन्न नहुन्जेल र भुक्तानी नभएसम्म सम्झौता भएको निकाय केन्द्रीय सरकारबाट नै व्यवस्थापनका लागि महासंघले माग गरेको छ ।

देशभर १५ हजारभन्दा बढी सदस्य रहेको महासंघ निर्माण व्यवसायीको मात्र नभई तमाम विकास निर्माण कार्यको जिम्मा लिएका, लिने व्यवसायीको समेत छाता संगठन हो भन्दै विज्ञप्तिमा पुँजीगत खर्चको राष्ट्रको बजेटको ६५ प्रतिशत खर्च गर्ने यस क्षेत्रलाई व्यवस्थितनबनाइदा सम्म यो क्षेत्रको विकास सम्भव नभएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्